अपाङ्गता भएका बालबालिकाका लागि घरमै शिक्षा, बिर्तामोड नगरपालिकाको नवीनतम प्रयास

पूर्वखबर अनलाइन
बिर्तामोड, झापा | २०८२ असार १९

बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका बालबालिकाको शिक्षा अधिकार सुनिश्चित गर्न घरमा आधारित शिक्षा कार्यक्रम सुरु गरेको छ। अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत बैशाख १२ गतेदेखि सुरु गरिएको उक्त कार्यक्रमले १६ जना बालबालिकालाई शिक्षक राखेर उनीहरूको घरमै पठनपाठनको व्यवस्था गरेको छ।

उक्त कार्यक्रम बिर्तामोड नगरपालिका, करुणा फाउण्डेसन नेपाल, र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको लागत साझेदारीमा सञ्चालित भएको हो। यस कार्यक्रमले समावेशी शिक्षामा महत्त्वपूर्ण टेवा पुर्‍याउँदै शिक्षा पहुँचबाट बाहिर रहेका बालबालिकालाई घरमै आधारभूत शिक्षा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

घरमै पुगेर जनप्रतिनिधिको अनुगमन

हालसालै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, महिला विकास अधिकृत पुष्पा कार्की, समाजसेवी युगकुमारी भट्टराई, कञ्चन बाँस्कोटा, तथा करुणा फाउण्डेसनकी प्रतिनिधि अनुष्का केसीले कार्यक्रम अन्तर्गत रहेका ४ जना बालबालिकाको घरमै पुगेर अनुगमन गरेका थिए।

तीमध्ये तीन जना बहुअपाङ्गता भएका बालबालिका विद्यालय जान असमर्थ देखिएका छन्। उनीहरूमध्ये अधिकांशले रातो अपाङ्गता परिचय पत्र (बहुअपाङ्गता सूचक) लिएका छन्। विद्यालयमा समायोजन गर्न कठिन भएकाले उनीहरूका लागि घरमा आधारित शिक्षा प्रभावकारी विकल्प बनेको छ।

सीप विकासमा जोड

बालबालिकालाई हाल क, ख, ABCD, नाम लेख्ने अभ्यास, चित्रमा रङ भर्ने, र लेखन सामग्री प्रयोग गर्ने आधारभूत सीपहरू सिकाइँदैछ। उनीहरूलाई आवश्यक पर्ने किताब, कलर, लेखन सामग्री, नोटबुक, पेनसिल आदि पूर्णरूपमा निःशुल्क प्रदान गरिएको छ।

सबैका लागि शिक्षा, बराबरीको सुनिश्चितता

नगर उपप्रमुख संग्रौलाले शिक्षा सबै नागरिकको मौलिक अधिकार भएकाले अपाङ्गता भएका बालबालिकालाई पनि समुचित अवसर दिनु राज्य र समाजको उत्तरदायित्व भएको बताउनुभयो। उहाँले भने,
“शिक्षा सबैका लागि बराबरी हुनुपर्छ भन्ने मान्यताका साथ यो कार्यक्रम सुरु गरिएको हो। सामाजिक समावेशिता र समान अवसर सुनिश्चित गर्न यो कार्यक्रम प्रभावकारी साबित हुनेछ भन्ने हाम्रो विश्वास छ।”

समावेशी अभ्यासको अनुकरणीय नमूना

बिर्तामोड नगरपालिकाको यो प्रयासले अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रणालीमा समेट्ने मार्ग खोलिदिएको छ। घरमै शिक्षक पुग्ने यो अभ्यासले भविष्यमा अन्य स्थानीय तहहरूलाई पनि प्रेरित गर्ने सम्भावना देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array