बिर्तामोड, २० असार: (रासस)
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत झापाका तीन नगरपालिकामा आज अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
राष्ट्रिय योजना आयोग, कोशी प्रदेशका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीको नेतृत्वमा झापाको मेचीनगर, अर्जुनधारा र कन्काई नगरपालिकामा कार्यक्रम सम्पन्न गरिएको हो । कोशी प्रदेश योजना आयोगले दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम अगाडि बढाएको हो ।
प्रदेश योजना आयोगका विज्ञ भरत शर्माका अनुसार आयोगले नगरपालिका स्तरीय विषयगत टिमहरूको सहभागितामा छलफल तथा सहजीकरण कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा युरोपियन युनियनको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत लागत साझेदारीमा मुलुकका सबै पालिकामा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
कोशी प्रदेशमा प्रदेश योजना आयोगका उपाध्यक्ष संयोजक रहने गरी कार्यक्रम अघि बढाइएको हो । हाल सञ्चालन भइरहेको तेस्रो चरणको आयोजना अन्तर्गत कार्यक्रम कार्यान्वयन भैरहेको उपाध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
अनुगमन कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिकामा बिहान, अर्जुनधारा नगरपालिकामा मध्यान्ह र कन्काई नगरपालिकामा अपराह्न ३ बजे छलफल तथा कार्यक्रम आयोजना गरिएको आयोगले जनाएको छ ।
मेचीनगरमा सम्पन्न कार्यक्रममा नगर प्रमुख गोपाल कुमार बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्त प्रकाश ओस्ती, महिला तथा बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल,स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै अर्जुनधारा नगरपालिकामा भएको कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख पुष्पा पौडेल, कृषि विकास शाखा प्रमुख इन्जिनियर एन्जिला बिडारी, स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत, र पशुपन्छी विकास शाखा प्रमुख पदम राई लगायत का कर्मचारीहरू ले आफ्नो पालिकाको बारेमा जानकारी गराएका थिए। कन्काई नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्र कुमार पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद न्यौपाने, शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, कृषि शाखा प्रमुख समिता सोती, स्वास्थ्य शाखा प्रमुख केशव रिजालल गायतले आफ्ना पालिकाको पोषणसम्बन्धी अवस्थाबारे जानकारी गराएका थिए ।
विज्ञ शर्माका अनुसार झापा जिल्लाका विभिन्न स्थानीय तहहरूमा पोषणसम्बन्धी चुनौती कायमै रहेको छ । मातृशिशु स्वास्थ्य, पोषिलो खाना, सरसफाइ तथा सचेतना अभिवृद्धि जस्ता विषयलाई एकै साथ सम्बोधन गर्ने उद्देश्यले बहुक्षेत्रीय पोषण कार्यक्रम कार्यान्वयन भइरहेको हो ।