मूल्य स्थिरता र तथ्याङ्क संकलनमा निजी क्षेत्रको भूमिका आवश्यक : राज्यलक्ष्मी शाक्य

 

राजकुमार ओली,कीर्तिपुर, असार २१ । पूर्व खबर

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागको आयोजनामा कीर्तिपुर बजार केन्द्र लक्षित मूल्य प्रदायक स्रोत पसल तथा सम्बन्धित संघसंस्थासँगको अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कीर्तिपुर नगरपालिका–१० स्थित बर्खाहिति, केएनएस किचन ब्याङ्क्वेटमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर उद्योग वाणिज्य सङ्घकी अध्यक्ष राज्यलक्ष्मी शाक्यले मुल्य स्थिरता, बजार अनुशासन तथा तथ्याङ्क संकलनको विश्वसनीयता कायम गर्न निजी क्षेत्र, व्यापारी तथा सेवा प्रदायकहरूको भूमिका अपरिहार्य रहेको धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “बजारमा मूल्यसम्बन्धी सूचनाको पारदर्शिता र नियमित अद्यावधिकताले उपभोक्तालाई राहत दिन्छ भने नीति निर्माणकर्तालाई यथार्थतामा आधारित निर्णय लिन सहज हुन्छ। यसमा निजी क्षेत्रको सहभागिता र राष्ट्र बैंकसँगको सहकार्य महत्वपूर्ण छ।”

कार्यक्रममा नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका निर्देशक माधव दंगालको अध्यक्षता रहेको थियो। उहाँले मूल्य संकलन र मूल्य सूचकाङ्कको निर्माण राष्ट्र बैंकको दीर्घकालीन नीति निर्माण प्रक्रियाको एक आधार स्तम्भ भएको उल्लेख गर्दै स्रोत पसलहरूको नियमित सहकार्यले यसको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विभागकी सहायक निर्देशक स्वेता तिमिल्सिनाले ‘मूल्य संकलन प्रक्रिया, स्रोत पसलहरूको छनोट, मूल्य सूचकाङ्कको निर्माण प्रणाली र यसको आर्थिक निर्णयमा पर्ने प्रभाव’ सम्बन्धी प्राविधिक प्रस्तुति गर्नुभयो।

उक्त अन्तरक्रिया कार्यक्रममा कीर्तिपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रुकेश महर्जन, कार्यसमिति सदस्यहरू, स्थानीय उद्योगी, व्यवसायी, व्यापारी, वित्तीय सेवा प्रदायक, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कीर्तिपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूले बजारमा प्रायः मूल्यका आधारमा भ्रम फैलिने अवस्था रहेको भन्दै राष्ट्र बैंकले सञ्चालन गर्ने मूल्य तथ्याङ्क कार्यक्रमप्रति सकारात्मक सहयोगको प्रतिबद्धता जनाएका थिए।

नेपाल राष्ट्र बैंकले मूल्य सूचकाङ्कको विश्वसनीयता र समयानुकूलता सुनिश्चित गर्न स्थानीय तह र निजी क्षेत्रसँग सहकार्यमा यस्ता अन्तरक्रिया कार्यक्रम गर्दै आएको जनाएको छ। बैंकले स्रोत पसलहरूको भूमिकालाई थप स्पष्ट पार्दै तिनीहरूलाई आवश्यक तालिम तथा मार्गदर्शन प्रदान गर्ने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array