विराटनगर, असार ३१ पूर्वखबर
प्रेस चौतारी मोरङले यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार सुदिप कोइरालालाई प्रदान गर्ने भएको छ ।

विराटनगरमा सम्पन्न प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिको बैठकले पत्रकार कोइरालालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको चौतारी मोरङका अध्यक्ष चीना थापाले जानकारी दिनुभयो

पुरस्कार छनोटका लागि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज सुमन सुस्केराको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको हो ।

पत्रकार सुदिप कोइराला हाल कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक हुनुहुन्छ । उहाँ प्रेस चौतारी मोरङका निवर्तमान अध्यक्ष र हाल नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समिति अन्तर्गत कोषाध्यक्षको जिम्मेवारीमा रहनुभएको छ । पत्रकारितामा डेढ दशकभन्दा बढीको अनुभव संगालेका कोइराला समाजमा सकारात्मक रूपान्तरणका लागि निरन्तर क्रियाशील रहँदै आउनुभएको छ ।

सामाजिक सेवा र युवा सक्रियतामा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएका कोइरालाले समुदायमा सञ्चारको पहुँच पुर्‍याउने, विपन्न वर्गको आवाज बुलन्द बनाउने र जनपक्षीय पत्रकारितालाई अगाडि बढाउने कार्यमा विशेष योगदान पुर्‍याउँदै आउनुभएको छ ।

पुरस्कारको रुपमा उहाँलाई सम्मानपत्र सहित नगद राशिको पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कार साउन दोस्रो हप्तामा एक विशेष समारोहका बीच वितरण गरिने चौतारी मोरङले जनाएको छ ।

२०७६ सालमा दिवंगत पत्रकार जनार्दन मैनालीको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारबाट यस अघि पत्रकारहरू दीपेन न्यौपाने, महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, बन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई, विक्रम लुइँटेल, धर्मराज ढकाल, भूपेन्द्र तिम्सिना, गणेश लम्साल, रामचन्द्र अधिकारी, इन्दिरा भट्टराई, कमल पौडेल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी र बाबुराम भण्डारी सम्मानित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *