राजकुमार ओली बिर्तामोड १८ साउन पूर्व खबर

झापाको भद्रपुर–८ मा रहेको मेची बहुमुखी क्याम्पसको खेलमैदानमा निर्माणाधीन क्रिकेट रङ्गशालाको अवलोकन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारबाट आवश्यक सहयोग हुने स्पष्ट पार्नुभएको छ।

प्रदेशमै सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उद्देश्यसहित सुरु गरिएको यो परियोजनाको प्रारम्भिक चरणको काम सम्पन्न भइसकेको छ। करिब ६० लाख रुपैयाँको लागतमा भद्रपुर नगरपालिका, प्रदेश सरकार र स्थानीय समाजसेवीको संयुक्त पहलमा निर्माणको थालनी गरिएको हो।

मुख्यमन्त्री कार्कीले अवलोकनका क्रममा मैदानको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “राम्रो डिपिआर तयार भएपछि प्रदेश सरकारले खेल पूर्वाधार निर्माणमा थप लगानी गर्न सक्छ। खेल विकास प्रदेश सरकारको प्राथमिकतामै छ।”

रङ्गशालालाई करिब ८ हजार दर्शक क्षमताको बनाउने लक्ष्य राखिएको छ। अवलोकन कार्यक्रममा भद्रपुर–८ का वडाध्यक्ष मनोज सुब्बा, क्लब अध्यक्ष आदित्य पराजुली लगायतको उपस्थिति थियो।

नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका पूर्वअध्यक्ष टिका ढकालले यस्तो पूर्वाधारले झापालाई खेल पर्यटनको केन्द्र बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो। “खेल र व्यापारको सहकार्यले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्छ,” उहाँले भन्नुभयो।

भद्रपुर गोल्डकप आयोजनाका अध्यक्ष दिपेश ढकालले भद्रपुरलाई ‘खेलको गन्तव्य’ बनाउने अभियानमा यो मैदानले निर्णायक भूमिका खेल्ने उल्लेख गर्नुभयो। “स्थानीय क्लबहरूको सक्रियता र सरकारी साझेदारीका कारण यो सपना साकार हुन थालेको छ,” ढकालले भने।

त्यस्तै, युवा खेल उद्यमी मनोज सुब्बाले खेल क्षेत्रमा लगानी बढाउन व्यवसायीहरूलाई आग्रह गर्दै भन्नुभयो, “खेलसँग सम्बन्धित पूर्वाधार निर्माणमा लगानी गर्नु भनेको भविष्यका युवामा लगानी गर्नु हो।”

रङ्गशालाको आगामी चरणमा सिटिङ प्यारापिट, पिच, ड्रेनेज, ड्रेसिङ रुम र डिजिटल स्कोर बोर्ड निर्माणको योजना रहेको क्लबले जनाएको छ।

यस रङ्गशालाबाट झापा मात्र होइन, कोशी प्रदेशको क्रिकेट विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *