राजकुमार ओली: बिर्तामोड, भदौ १९(पूर्व खबर)

– नेपाली संगीत र चलचित्र क्षेत्रलाई एकसाथ समेट्दै झापाको बिर्तामोडबाट निर्माण गरिएको प्रेम र रोमान्समा आधारित म्युजिक भिडियो ‘४० को म २० की ऊ’ आज शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।

गिरी ग्राण्ड फिल्म्सको ब्यानरमा निर्माण गरिएको म्युजिक भिडियो निर्माता युवराज गिरीले निर्देशनमा ल्याएका हुन् ।

चलचित्र ‘वानर सेना’ का निर्माता समेत रहेका गिरीले झापाको बिर्तामोडलाई सिर्जनात्मक केन्द्र बनाउँदै आफ्नै युट्युब च्यानल ‘गिरी ग्राण्ड फिल्म्स’ मार्फत म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी गरेको हो।

नेपाली गीत–संगीत तथा दृश्य–श्रव्य सामग्रीलाई क्षेत्रीय तहबाट राष्ट्रियस्तरमा पुर्‍याउने अभियानस्वरूप तयार पारिएको यस म्युजिक भिडियोले पछिल्लो समय चलचित्र उद्योगमा बढ्दो डिजिटल माध्यमको प्रयोगलाई समेत सशक्त ढङ्गले प्रस्तुत गर्ने विश्वास लिइएको छ ।

म्युजिक भिडियोमा नेपालका ख्यातिप्राप्त कलाकार दीपाश्री निरौला, युवराज गिरी, पवन गिरी, रचना न्यौपाने लगायतको अभिनय रहेको छ । सशक्त अभिनय, संवाद र नृत्य समेटिएको भिडियोमा परिपक्व उमेरमा पाइने रोमान्स र सम्बन्धका आयामहरुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

गीतमा  गायिका दिपाश्री निरौला, सिम्रन परियार, कर्ण परियार र ववुल गिरीको रहेको छ भने संगीत संयोजन गायक ववुल गिरीले गरेका छन् । गीतको रचना (लिरिक्स) निर्माता युवराज गिरीले गरेका हुन्, जसले नेपाली समाजमा प्रचलित उमेरको भिन्नतालाई प्रेममा अवरोध होइन, एउटा मिठो कथाको रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन संगीत सागर बुर्जाले गरेका छन् भने छायाङ्कनमा रितेश गिरी, सम्पादनमा पदम सुवेदी, प्रोडक्सन म्यानेजरको रुपमा मेघराज धिमाल, मेकअप सम्झना सिन्चुरी र क्यामेरा असिस्टेण्ट चिरञ्जिवी उप्रेती रहेका छन् । प्राविधिक पक्षमा अनुभवयुक्त टोलीको सहभागिताले भिडियोको स्तर र गुणस्तरमा उल्लेखनीय योगदान पुर्‍याएको देखिन्छ ।

म्युजिक भिडियोको सफलतापछि ‘४० को म २० की ऊ’ शीर्षककै वेव सिरिज एकसय एपिसोडको तयारीमा रहेको जानकारी समेत निर्माता गिरीले दिएका छन् । आगामी बडादशैंको अवसर पारेर उक्त सिरियल युट्युब च्यानलमार्फत प्रसारण गरिनेछ । उनले भने, “आजको डिजिटल युगमा वेव सिरिज मार्फत समाजसँग गाँसिएका कथाहरुलाई सरल र प्रभावकारी ढंगले दर्शकसमक्ष ल्याउन सकिन्छ । हाम्रो सिरियल पनि मनोरञ्जन र यथार्थको समिश्रण हुनेछ ।”

सिरियलमा पनि म्युजिक भिडियोमा देखिएका कलाकारहरूसँगै नयाँ कलाकारहरूको पनि अभिनय रहनेछ । उक्त सिरियलले नेपाली समाजमा चलनचल्तीका रूपमा रहेको उमेरको अन्तर, पारिवारिक संरचना, सामाजिक दृष्टिकोण र रोमान्सको विविध आयामहरुलाई समेट्ने निर्माता गिरीको भनाइ छ ।

साहित्य, संगीत र चलचित्रको समिश्रण

‘४० को म २० की ऊ’ जस्ता म्युजिक भिडियोहरुले नेपाली चलचित्र र दृश्य–श्रव्य माध्यममा साहित्य, संगीत र समाजलाई एकसाथ जोड्ने काम गरिरहेका छन् । पछिल्ला वर्षहरूमा नेपाली चलचित्र क्षेत्रले म्युजिक भिडियो, वेव सिरिज र छोटो चलचित्रहरु मार्फत सामाजिक मुद्दा, प्रेम, हास्यव्यङ्ग्य, तथा युवापुस्ताका विविध विषयलाई समेट्दै दर्शकको ध्यान आकर्षित गर्दै आएको छ ।

चलचित्रको परम्परागत ढाँचा भन्दा फरक शैलीमा प्रस्तुत हुने यस्ता सिर्जनाहरुले डिजिटल माध्यमलाई माध्यमिकभन्दा मुख्य क्षेत्रको रुपमा स्थापित गरिरहेका छन् । विशेषगरी, युट्युब र अन्य सामाजिक सञ्जालमा वेव सिरिज र म्युजिक भिडियोको बढ्दो लोकप्रियताले अब चलचित्र क्षेत्रले नयाँ बाटो समातेको देखिन्छ ।

गिरी ग्राण्ड फिल्म्स जस्ता कम्पनीहरूले मुलुकको राजधानी बाहिर बसेर पनि गुणस्तरीय सिर्जनाहरु उत्पादन गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन् । यसले मुलुकभर फैलिएर रहेका सिर्जनात्मक प्रतिभालाई प्रोत्साहित गर्नुका साथै चलचित्र क्षेत्रलाई विकेन्द्रित गर्न मद्दत पुर्‍याइरहेको देखिन्छ ।

उद्योगको विस्तार र स्थानीय उत्पादन

सिर्जना केन्द्रित म्युजिक भिडियो तथा वेव सिरिज निर्माणले स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ । साथै, झापा लगायतका जिल्लामा छायाङ्कन, सम्पादन, निर्देशन तथा पोस्ट-प्रोडक्सनको सम्भावना झनै बढ्दै गएको छ ।

उद्योगकै एक हिस्सा बन्ने उद्देश्यले अगाडि बढाइएको ‘४० को म २० की ऊ’ श्रृंखलाले नेपाली चलचित्र क्षेत्रलाई नयाँ स्वरूप दिने अपेक्षा गरिएको छ । निर्माता गिरी भन्छन्, “हामी राजधानीमै केन्द्रित हुन जरुरी छैन, मुलुकभर जहाँ जहाँ सिर्जना छ, त्यहाँबाट चलचित्र र दृश्य–श्रव्य उद्योगलाई समृद्ध बनाउन सकिन्छ ।”

‘४० को म २० की ऊ’ म्युजिक भिडियो र आगामी वेव सिरिजले नेपाली चलचित्र र संगीत उद्योगमा नयाँ धार प्रवाह गर्ने संकेत गरेका छन् । स्थानीय कलाकार, प्राविधिक र निर्माता मिलेर तयार पारिएको यस परियोजनाले डिजिटल माध्यमबाट विश्वभर नेपाली भाषा, संस्कृति र कथा फैलाउने सम्भावनालाई बल पुर्‍याउने देखिन्छ ।

यस्ता प्रयासले नेपाली चलचित्र उद्योगको नयाँ युग प्रारम्भ गरिरहेको आभास दिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *