काठमाडौं, भदौ २८,
प्रतिनिधि सभा विघटनको निर्णयप्रति विभिन्न आठ राजनीतिक दलले आपत्ति जनाउँदै तत्काल संसदको बैठक बोलाउन माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक तथा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी शुक्रबार राति राष्ट्रपति कार्यालयबाट सार्वजनिक गरिएको निर्णय असंवैधानिक रहेको बताएका हुन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “भदौ २७ गते राति वर्तमान प्रतिनिधि सभा विघटन गरिएको भनी राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण र असहमति छ । नेपालको संविधान तथा प्रचलित कानुन विपरीत अलोकतान्त्रिक ढङ्गले संसद विघटन गरिएको छ ।”

दलहरूले संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादित नजीर तथा संवैधानिक परम्परा विपरीत संसद विघटन गरिएको ठहर गरेका छन् । उनीहरूको भनाइमा यस कदमले जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधानमाथि प्रहार गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “लोकतान्त्रिक र कानुनी राज्यमा सबै समस्याको समाधान संविधान र कानुन बमोजिम हुनुपर्छ भन्ने कुरामा हाम्रो अटल विश्वास छ । प्रतिनिधि सभालाई विघटन गर्ने कार्यले जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चतामाथि चोट पु¥याएको छ ।”

यस्तो अवस्थामा तत्काल प्रतिनिधि सभा बैठक बोलाएर आन्दोलनरत समूहहरूको माग संसदबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *