वाशिङटन,३० असोज  –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कुकिङ आयल (खाने तेल) तथा अन्य उपभोक्ता सामग्रीमा व्यापार बन्द गर्ने चेतावनी दिएका छन्। चीनले जानाजान अमेरिकी भटमास (सोयाबिन) खरिद रोकेर आफ्ना किसानहरूलाई नोक्सान पुर्‍याइरहेको आरोप लगाउँदै उनले यस्तो चेतावनी दिएका हुन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत लेख्दै चीनको व्यवहार अमेरिकामाथिको आर्थिक आक्रमण भएको बताएका छन्। उनले लेखेका छन्, “मेरो विश्वास छ, चीनले जानाजान हाम्रो सोयाबिन खरिद गरिरहेको छैन र हाम्रा किसानहरूलाई समस्या सिर्जना गरिरहेको छ। यो आर्थिक आक्रमण हो।”

उनले थप लेखेका छन्, “अमेरिकाले अब चीनबाट कुकिङ आयल र अन्य उत्पादनहरूको व्यापार अन्त्य गर्ने विचार गरिरहेको छ। हामी आफैं कुकिङ आयल उत्पादन गर्न सक्षम छौं, त्यसैले चीनबाट आयात गर्न आवश्यक छैन।”

ट्रम्पको भनाइ अमेरिकी राजनीतिक वृत्त र बजारमा व्यापक रूपमा चर्चित बनेको छ। चीनसँगको व्यापारिक सम्बन्ध पहिले नै तनावपूर्ण भइरहेका बेला आएको यो अभिव्यक्तिले आगामी दिनमा दुई देशबीचको व्यापारिक सम्बन्ध अझ बिग्रने संकेत देखिएको विश्लेषण गरिएको छ।

हालै दुबै देशले एकअर्काका ढुवानी कम्पनीहरूमा अतिरिक्त पोर्ट शुल्क लगाएका थिए, जसको प्रत्यक्ष प्रभाव अमेरिकी सेयर बजारमा परेको छ। वाल स्ट्रिटका प्रमुख सेयर सूचकांकहरूमा गिरावट देखिएको छ भने लगानीकर्ताहरूले दीर्घकालीन आर्थिक अस्थिरताको चिन्ता व्यक्त गरेका छन्।

आर्थिक विज्ञहरूले ट्रम्पको उक्त चेतावनीले अमेरिकाको कृषिक्षेत्र, विशेषगरी सोयाबिन उत्पादनमा निर्भर किसानहरूमा मिश्रित प्रभाव पार्ने बताएका छन्। एकातिर, घरेलु उत्पादन र आत्मनिर्भरता बढ्ने सम्भावना रहेको भए पनि अर्कातिर चीन जस्तो ठुलो बजार गुम्दा अमेरिकी किसानहरूलाई ठूलो आर्थिक धक्का पुग्ने विश्लेषण गरिएको छ।

ट्रम्पको यस अभिव्यक्तिलाई उनका राजनीतिक प्रतिद्वन्द्वीहरूले चुनावी रणनीति र राष्ट्रियता उछाल्ने प्रयासका रूपमा पनि व्याख्या गरेका छन्। तर ट्रम्प समर्थकहरूले भने यो कदमलाई अमेरिकी उद्योग र किसानको सुरक्षाको पक्षमा गरिएको ठोस कदम बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *