बिर्तामोड, ३० असोज :(रासस)

गत भदौ २३ र २४ गतेको आन्दोलनताका क्षतिग्रस्त भएको मेची यातायात व्यवस्था कार्यालय, बिर्तामोड आज बिहीबारदेखि आंशिक रूपमा सेवा सञ्चालनमा आएको छ। कार्यालय प्रमुख प्रेम सापकोटाका अनुसार, अहिलेका लागि स्मार्ट कार्ड वितरण, जरिवाना नलाग्ने सवारी साधनका रूट पर्मिट नवीकरण र सवारी जाँचपास (फिटनेस टेस्ट) लगायतका सेवा सञ्चालन गरिएको हो।

आन्दोलनका क्रममा कार्यालयका अधिकांश अभिलेख, कागजात र सामग्रीहरूमा आगजनी भए पनि केही आवश्यक सामानहरू जोगाउन सफल भएको बताइएको छ। सापकोटाका अनुसार, आगजनीबाट जोगिएका उपकरण र अभिलेखको प्रयोग गर्दै सेवाको सुरुवात गरिएको हो। “हामीले बचेका फाइल र उपकरणहरूलाई सुरक्षित राख्दै सेवा सञ्चालन गरिरहेका छौं,” उहाँले भन्नुभयो, “नागरिकलाई अनावश्यक असुविधा नहोस् भन्ने उद्देश्यले अहिले आंशिक रूपमा सेवा पुनः सुरु गरेका हौं।”।

कार्यालयका अधिकृत राजु ओलीका अनुसार, आगजनीका कारण करिब २० प्रतिशत सवारी अभिलेख जलेका छन् भने लेखा शाखा र ट्रयाक्टर शाखाका सम्पूर्ण कागजपत्रहरू पूर्ण रूपमा नष्ट भएका छन्। तर, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) शाखाका अधिकांश अभिलेख सुरक्षित रहेको र करिब २ हजार २ सय स्मार्ट लाइसेन्सहरू जोगाउन सकिएको जानकारी दिनुभयो।

कार्यालयमा हाल पनि क्षतिग्रस्त भवन र उपकरणको मर्मत कार्य जारी छ। प्रारम्भिक चरणमा सेवा पुनः सञ्चालन भए पनि पूर्ण रूपमा सुचारु हुन अझ केहि समय लाग्ने बताइएको छ। सवारी साधन दर्ता, कर संकलन र नयाँ लाइसेन्स वितरणजस्ता काम भने हाललाई सुरु गर्न नसकिने सापकोटाको भनाइ छ।

कार्यालयका कर्मचारीहरूले भत्किएका र आगो लागेका फर्निचर, कम्प्युटर र रेकर्ड फाइलहरू पुनः व्यवस्थापन गर्दै डिजिटल अभिलेख पुनःस्थापनाको तयारी गरिरहेका छन्। झापाको प्रमुख प्रशासनिक निकायहरूमध्ये एक यो कार्यालय सञ्चालनमा आउँदा सेवाग्राहीहरू उत्साहित बनेका छन्।

स्थानिय नागरिक र व्यवसायीहरूले कार्यालय पुनः सञ्चालनमा आएपछि दैनिक कार्य सहज हुने अपेक्षा व्यक्त गरेका छन्।
आगामी केही दिनभित्र बाँकी सेवाहरू पनि क्रमशः सुचारु गर्ने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *