बिर्तामोड, असोज (रासस)
स्वीडिस फरेस्ट एजेन्सी (Swedish Forest Agency) र साझेदार संस्थाहरूको संयुक्त आयोजनामा ‘काठ तथा बाँसको निर्माण सामग्रीको उपयोग’ विषयक राष्ट्रिय कार्यशाला आज आइतबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ।
‘Locally Controlled Forest Restoration Program (LoCoFoRest)’ अन्तर्गत आयोजित सो कार्यशालाको उद्देश्य नेपालमा दिगो वन व्यवस्थापन, बाँस तथा काठको निर्माण सामग्री प्रयोगका अवसर, चुनौती र सम्भावनाबारे व्यापक छलफल गर्नु रहेको थियो। साथै, आक्रामक बोटबिरुवा व्यवस्थापन र तिनको जीविकोपार्जनमा उपयोगबारे अनुभव र ज्ञान आदान–प्रदान गर्ने पनि कार्यशालाको उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सहजीकरण राजकुमार ओलीले गर्नुभएको थियो भने संयोजन स्वीडिस फरेस्ट एजेन्सीकी वरिष्ठ सल्लाहकार कारिन ओस्टबर्गले गर्नुभएको थियो। कार्यशालामा बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाई, भद्रपुर नगरप्रमुख गणेश पोख्रेल, उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने, नेपाल फ्लाउड उत्पादक संघका सचिव दिनेश आचार्य, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, उद्यमी निर्मला भण्डारी, पार्वता बिमलीलगायतका प्रतिनिधिहरूको उपस्थिति थियो।
सो अवसरमा एनटीएनसीका गोबिन्द पोखरेलले “पूर्वी नेपालमा बाँस नवप्रवर्तन केन्द्र प्रवर्द्धन” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। फरेस्टएक्सन नेपालका मुना भट्टराई र रमेश तिमल्सिनाले “आक्रामक बोटबिरुवा व्यवस्थापन र जीविकोपार्जनका उपाय” शीर्षकमा प्राविधिक प्रस्तुति गर्नुभएको थियो। कार्यक्रममा स्वीडिस फरेस्ट एजेन्सीका विज्ञहरूले नेपालमा दिगो निर्माणका लागि काठ र बाँसको दीर्घकालीन उपयोगका सम्भावनाबारे अन्तरक्रियात्मक छलफल गरेका थिए।
कार्यशाला सिद्धार्थ होटल ग्राण्ड सिटी, बिर्तामोडमा सम्पन्न भएको थियो। कार्यक्रममा झापाका विभिन्न पालिकाका वन तथा वातावरण विज्ञहरूको समेत सहभागिता रहेको थियो। मेचीनगर, अर्जुनधारा, भद्रपुर र कन्काई नगरपालिकाका विज्ञहरूले आफ्ना क्षेत्रका बाँस–सम्बन्धी परियोजना र नागरिक जीविकोपार्जनमा बाँसको भूमिकाबारे अनुभव बाँडेका थिए। उनीहरूले बाँसजन्य उद्योगलाई विस्तार गर्दै रोजगारी र स्थानीय उत्पादनमा जोड दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले भद्रपुरका हस्तकलाकार सञ्जय प्रधानको हस्तकला कार्यालयलाई ‘बेम्बो इको इनोभेसन सेन्टर’का रूपमा रूपान्तरण गर्ने निर्णय गरेका छन्। स्वीडेनको प्राविधिक टोलीले कार्यशालापछि भद्रपुरस्थित प्रधानको हस्तकला केन्द्र, सहारा नेपालद्वारा सञ्चालित एभरेस्ट बेम्बु ट्रीटमेन्ट केन्द्र, र अर्जुनधारा नगरपालिकास्थित अभियान नेपाल सहकारीले सञ्चालन गरेको बाँस बगानको समेत अनुगमन गरेको थियो।
कार्यक्रम संयोजक सुजन खनालका अनुसार स्वीडिस फरेस्ट एजेन्सीको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको यो कार्यक्रमले नेपालको वन पुनर्स्थापना, दिगो निर्माण प्रवर्द्धन र बाँसजन्य उद्योग विकासका क्षेत्रमा स्थानीय तह र अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्यलाई थप सबल बनाएको छ।
- उनका अनुसार कार्यशालाबाट प्राप्त निष्कर्षहरूले बाँस र काठको उत्पादन तथा उपयोगलाई प्राविधिक रूपमा मजबुत पार्न, नीति निर्माणमा स्थानीय तहको भूमिका स्पष्ट गर्न र आक्रामक प्रजातिको वनस्पति व्यवस्थापनमार्फत सामुदायिक आर्थिक सबलीकरणका दिशामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
