इलाम, ३१ असोज
नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीहरूको सहयोगमा इलामका बाढी–पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ।
झापा सुरुङ्गा–जामुनबारी सिमसार सचिव एवं समाजसेवी दिपक ओलीको पहल र समन्वयमा सञ्चालित अभियानअन्तर्गत माईजोगमाई गाउँपालिका–६ का २५ परिवारलाई राहत सामग्री वितरण गरिएको हो।
राहत वितरण कार्यमा स्थानीय समाजसेवी शेरेबहादुर थापाको समेत सक्रिय समन्वय रहेको थियो। उनीहरूद्वारा संकलित राहत सामग्रीमध्ये चामल, दाल, म्याट, र अन्य दैनिक उपभोगका वस्तुहरू प्रभावित परिवारहरूलाई हस्तान्तरण गरिएको हो।
यस अभियानमा अमेरिकाको New Life Bhutanese Nepali Church, Omaha Nebraska USA का सदस्यहरू — पूर्वा तामाङ, निम्मा तामाङ, पेम्बा तामाङ, हरि गजमेर, रजित गजमेर र खड्ग गजमेर — ले आर्थिक सहयोग गरेका थिए। उनीहरूले इलाममा प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली दिदीबहिनी र दाजुभाइहरूका लागि सहयोग संकलन गरी पठाएका हुन्।
सहयोगीहरूको तर्फबाट पठाइएको सम्पूर्ण सामग्री आज माईजोगमाई गाउँपालिका–६ का वडाध्यक्ष दीपेश सोई र वडा सदस्यहरूको उपस्थितिमा वडा कार्यालयमा हस्तान्तरण गरिएको हो। स्थानीय बासिन्दाहरूले राहत सामग्री प्राप्त गरी राहतदाताहरूप्रति आभार व्यक्त गरेका छन्।
यस अवसरमा इलामका प्रतिनिधि सभा सदस्य महेश बस्नेत ले सहयोगी समुदाय र समन्वयकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै विपद्का बेला देखाइएको मानवीय सहयोगले नेपाल–अमेरिका सम्बन्ध र आपसी एकता अझ बलियो बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, “इलामका बासिन्दा अहिले कठिन परिस्थितिबाट गुज्रिरहेका छन्। यस्ता घडीमा विदेशमा रहेका नेपालीहरूले गरेको सहयोग अत्यन्त प्रेरणादायी छ। यसले मानवीयता र आपसी सहानुभूतिको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।”
सांसद बस्नेतले राहत कार्यमा अग्रसर रहँदै समन्वय गरेको टोलीलाई बधाई दिँदै भविष्यमा पनि विपद् व्यवस्थापनका काममा सहकार्यका माध्यमहरू विस्तार गर्न आग्रह गर्नुभयो। उहाँले झापा र इलामका सीमावर्ती क्षेत्रहरूमा बाढी–पहिरोका जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको पनि बताउनुभयो।
राहत वितरणपछि संयोजक दिपक ओलीले सहयोगी नेपाली समुदायप्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “दुःखमा परेका परिवारहरूका लागि यो सहयोग केवल राहत होइन, आत्मबल दिने सन्देश हो। विदेशमा रहेर पनि मातृभूमिको पीडामा हातेमालो गर्न सकिन्छ भन्ने उदाहरण हो यो।”
स्थानीय बासिन्दा, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूले पनि राहत अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन्।
