मेचीनगर, ३१असोज
झापाको मेचीनगर–८ जोरसिमलमा अवस्थित ग्रीन भिलेज रेष्टुरेन्ट ले बढ्दो महङ्गीलाई मध्यनजर गर्दै सर्वसाधारण जनतालाई लक्षित विशेष योजनासहित सस्तो दरमा भोजन सेवा सुरु गरेको छ।

रेष्टुरेन्टले शुभ दीपावली, छैठजस्ता आगामी चाडपर्वहरूको अवसरमा रू. १०० मा शुद्ध, स्वस्थ र सादा खाना  उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो। उक्त सेवा  असोज २ गतेदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने रेष्टुरेन्टले जनाएको छ।

ग्रीन भिलेज रेष्टुरेन्ट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सशस्त्र प्रहरी चेकपोइन्टबाट करिब १०० मिटर दक्षिणमा अवस्थित छ। रेष्टुरेन्टका प्रोप्राइटर भूपाल ओली, व्यवस्थापक निर्मला आचार्य (नीरु) र मार्केटिङ मेनेजर भूमिका उप्रेती (ओली) का अनुसार सेवाको उद्देश्य लाभभन्दा बढी सर्वसाधारण जनताको पहुँचमा पौष्टिक खाना पु-याउने हो।

रेष्टुरेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी सबै आमाबाबु, दाजुभाइ, दिदीबहिनीहरूको सेवामा सधैं समर्पित छौं। बढ्दो महङ्गीका बीच सर्वसाधारण जनतालाई परिपूर्ण, स्वच्छ र किफायती भोजनको सुविधा प्रदान गर्न यो अभियान सुरु गरिएको हो।”

भूपाल ओलीका अनुसार घरमा खाना बनाउने झन्झटबाट मुक्त भई स्वस्थ र किफायती खाना खोज्ने सबैका लागि ग्रीन भिलेजले सामूहिक र पारिवारिक वातावरणमा सेवा उपलब्ध गराउनेछ। साथै, उनले सबै शुभचिन्तक, स्थानीय बासिन्दा र सञ्चारकर्मीहरूलाई उक्त सामाजिक अभियानमा साथ दिन आग्रह गरेका छन्।

स्थानीयवासीहरूले महङ्गीबीच यस्तो सस्तो दरको भोजन योजना सर्वसाधारणका लागि राहतस्वरूप रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले स्वच्छ र पौष्टिक खाना सस्तो मूल्यमा पाउनु सुखद पहल भएको बताएका छन्।

रेष्टुरेन्टले नजिकका कार्यालय, विद्यार्थी र यात्रुहरूका लागि पनि किफायती दरमा गुणस्तरीय सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *