काठमाडौं, ३१असोज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले आफ्नो काँधमा रहेको जिम्मेवारी पूरा नगरी राजीनामा नदिने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।

बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय समिति बैठकको असोज ३१ गते सत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा केही नेताहरूले राजीनामा मागे पनि आफूले जिम्मेवारी पूरा नगरेसम्म पद नछोड्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “केही साथीहरूले मेरो राजीनामा माग्नुभएको छ। तर त्यो औपचारिक माग होइन, माइकमा उठेको प्रश्न मात्रै हो। म ५५ वर्षदेखि एउटा सानो टुक्रो आन्दोलन बोकेर ल्याएको मान्छे हुँ। मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी राजीनामा दिन्नँ।”

अध्यक्ष ओलीले पार्टीभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिँदै विवादलाई आपसी संवादबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामी सबै एउटै आन्दोलनका सहयात्री हौं। पार्टीलाई तिक्तता र विभाजनको बाटोमा होइन, मित्रता र एकताको बाटोमा अघि बढाऔं।”

उहाँले राजीनामाको विषय महाधिवेशनमा छलफल गरेर प्रतिनिधिहरूबाटै निर्णय गरिने स्पष्ट पार्नुभयो। “म मेरो राजीनामाबारे महाधिवेशनमा छलफल गरौँला, प्रतिनिधिहरूसँग फैसला मागौँला,” अध्यक्ष ओलीले भन्नुभयो।

एमाले केन्द्रीय समिति बैठकमा हालको राजनीतिक अवस्था, पार्टी सुदृढीकरण, महाधिवेशन तयारी, सदस्यता नवीकरण, नीति तथा संगठनात्मक समीक्षा लगायतका एजेन्डामा छलफल भएको थियो।

बैठकमा केही सदस्यहरूले नेतृत्वमा आन्तरिक सुधार र नयाँ पुस्ताको भूमिका सुनिश्चित गर्नुपर्ने माग गरेका थिए भने धेरैजसो नेताहरूले अध्यक्ष ओलीको नेतृत्वमा पार्टीलाई आगामी महाधिवेशनसम्म सुदृढ रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए।

अध्यक्ष ओलीले पार्टीभित्रको असहमतिको आवाजलाई लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भन्दै संगठनभित्र आलोचना र सुझावलाई सकारात्मकरूपमा लिन सबैलाई आग्रह गर्नुभयो। उहाँले थप भन्नुभयो, “नेतृत्वमा आलोचना हुनु राम्रो कुरा हो। तर त्यो आलोचना संगठनलाई कमजोर होइन, सबल बनाउने खालको हुनुपर्छ।”

एमाले केन्द्रीय समिति बैठकले आगामी महाधिवेशन तयारी समिति गठन गर्ने र संगठनात्मक कार्यतालिका तय गर्ने निर्णय गरेको छ। बैठकमा केन्द्रीय र प्रदेश कमिटीका पदाधिकारी, विभाग प्रमुख तथा स्थायी समिति सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकले अन्त्यमा एक मतले पार्टीभित्र सहकार्य, अनुशासन र जिम्मेवार नेतृत्वलाई सुदृढ पार्ने प्रतिवद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *