बिराटनगर, १ कात्तिक
– नेपालमा बैङ्किङ क्षेत्रको उत्पत्ति र विकासक्रम समेटिएको पुस्तक “नेपालको बैङ्किङ इतिहास” बजारमा आएको छ।
माेरङ पथरी शनिश्चरे–१ निवासी खोजकर्ता तथा लेखक दीपेन्द्रराज तिम्सिनाले राणाकालदेखि हालसम्मको नेपाली बैङ्किङ इतिहास मिहिन अध्ययन र अनुसन्धानका साथ प्रस्तुत गर्नुभएको यो कृति नेपालको अर्थतन्त्र झल्काउने दस्तावेजका रूपमा प्रकाशित भएको हो।
२७२ पृष्ठको यस पुस्तकमा नेपालमा मुद्रा निष्कासनको इतिहास, पहिलो बैङ्कको स्थापना, गभर्नरहरूका जीवनी, द्वन्द्वकालमा बैङ्कमा भएका आक्रमण, मर्जर प्रक्रिया, महिला सहभागिता, विदेशी बैङ्क भित्र्याउने प्रयासदेखि लिच्छविकालीन मुद्रा इतिहाससम्मका विषयहरू समेटिएका छन्।
लेखक तिम्सिनाले पुस्तकमा नेपालका क र ख श्रेणीका बैङ्कहरूको परिचय, पहिलो गभर्नर हिमालय शमशेरदेखि हालका विश्वनाथ पौडेलसम्मका १८ जना गभर्नरका जीवनी र तस्बिरहरू, साथै सारथी सरदार गुञ्जमान सिंह, डा. प्रकाशचन्द्र लोहनी, बिके श्रेष्ठ लगायत बैङ्किङ अगुवाहरूको योगदान प्रस्तुत गर्नुभएको छ।
झापा दमकको स्रष्टा छापाखानाबाट मुद्रित पुस्तक लिला निरौला प्रकाशकको रूपमा प्रकाशन गरिएको हो।
नेपाल बैङ्कर्स संघका अध्यक्ष दिनेश कोइरालाले पुस्तक नेपाली बैङ्किङको ऐतिहासिक विकास बुझ्न र नीति निर्माणमा सन्दर्भ सामाग्रीका रूपमा उपयोगी हुने बताउनुभयो।
तिम्सिनाको यो १४औँ कृति हो। उहाँले यसअघि टेलिफोन डायरी, मोरङका सामुदायिक वन, धिमाल जातिको इतिहास, इतिहासमा पथरी शनिश्चरे, माईखोलादेखि पुनर्वाससम्म, र गुमनाम–एक इतिहास बिसे नगर्ची लगायतका कृतिहरू प्रकाशन गर्नुभएको छ।
लेखक तिम्सिना विगत एक दशकदेखि निरन्तर खोजमूलक इतिहास लेखनमा सक्रिय रहँदै आएका छन्।
