राजकुमार ओली, बिर्तामोड:१ कात्तिक,(पूर्व खबर)

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) झापाले चाडपर्वको अवसरमा शनिबार शुभकामना आदानप्रदान तथा नयाँ सदस्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा जिल्लाभरका अङ्ग्रेजी शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई, बुद्धशान्ति गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल निरौला, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका काफ्ले, इस्ट होराइजन बोर्डिङ स्कुल धुलाबारीका प्रिन्सिपल सञ्जीव राई, इडेन गार्डन फाउन्डेसनका प्रिन्सिपल मोहन आचार्य र इक्यान झापाका अध्यक्ष रोशन सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

वक्ताहरूले नेल्टाले विगतका वर्षहरूमा झापामा अङ्ग्रेजी शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै, आगामी दिनमा शिक्षकहरूको पेशागत विकास र सहकार्यका कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाउन सुझाव दिएका थिए। उहाँहरूले शिक्षक समुदायले समयानुकूल नवीन शैक्षिक अभ्यास र प्रविधिमैत्री सिकाइका उपायहरू आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका प्रमुख वक्ता धर्मेन्द्र भट्टराईले नयाँ सदस्यहरूलाई स्वागत गर्दै, नेल्टाको उद्देश्य, दायित्व र सदस्यहरूको भूमिकाबारे विस्तृत जानकारी दिनुभयो। उहाँले नयाँ सदस्यहरूले संस्थाको गतिविधिमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै, “नेल्टा केवल शिक्षकहरूको संस्था होइन, यो गुणस्तरीय शिक्षाको आन्दोलन हो,” भन्नुभयो।

यसै अवसरमा यो वर्ष नेल्टा झापामा १५ जना अङ्ग्रेजी शिक्षकहरूले आजीवन सदस्यता प्राप्त गरेका छन्। उनीहरूलाई खादा र अविर लगाई सम्मानपूर्वक स्वागत गरिएको थियो।

कार्यक्रमका क्रममा नेल्टा झापाका सचिव केशव उप्रेतीले भर्खरै मलेसियामा सम्पन्न भएको ३३औँ मेल्टा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका अनुभव सेयर गर्दै, त्यस सम्मेलनमा प्रस्तुत गरेको कार्यपत्रका विषयवस्तुहरूबारे जानकारी दिनुभयो। उहाँले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली शिक्षकहरूको योगदान र क्षमता प्रशंसायोग्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका अध्यक्ष प्रकाश पराजुलीले नेल्टा झापाले विगतमा सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू, तालिम तथा अन्तरक्रियात्मक सत्रहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै आगामी वर्षका लागि कार्ययोजना सार्वजनिक गर्नुभयो। उहाँले संस्थालाई अझ सशक्त र परिणाममुखी बनाउन सबै सदस्यहरूको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

उक्त कार्यक्रममा जिल्ला समिति, सल्लाहकार समिति, आजीवन सदस्यहरू तथा नयाँ सदस्यहरूको उपस्थिति उल्लेखनीय थियो। कार्यक्रमको अन्त्यमा देउसी–भैलो कार्यक्रम र सांस्कृतिक प्रस्तुति सहित जलपान समारोह आयोजना गरिएको थियो।

नेल्टा झापा विगत लामो समयदेखि अङ्ग्रेजी शिक्षकहरूको पेशागत सशक्तीकरण, तालिम, सेमिनार र शैक्षिक सामग्री विकासजस्ता गतिविधि सञ्चालन गर्दै आएको छ। संस्थाले झापा जिल्लाभरका सरकारी तथा निजी विद्यालयका अङ्ग्रेजी शिक्षकहरूबीच समन्वय र सहकार्यको माध्यमबाट शिक्षाको गुणस्तर वृद्धि गर्न निरन्तर प्रयास गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *