झापा, २ कार्तिक — प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा तथा संगठनका केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज माधव विद्रोहीको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न बैठकले पछिल्ला घटनाक्रमले सञ्चारकर्मीहरू असुरक्षित बन्दै गएको भन्दै गम्भीर चिन्ता प्रकट गरेको हो।
बैठकले गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी र २४ गतेको आगजनी, तोडफोड घटनाका अन्य मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बैठकपछि जिल्ला सचिव युवराज आचार्यद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा भनिएको छ, “देशभर सञ्चारकर्मीहरू असुरक्षित महसुस गर्न थालेका छन्। पत्रकार र आम नागरिकको शान्ति सुरक्षालाई प्राथमिकतामा राखी कुनै पनि किसिमको दमन, धम्की वा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध स्वीकार्य हुने छैन।”
प्रेस काउन्सिल नेपालका पूर्व सदस्य गणेश पोखरेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै भने, “पत्रकारितामाथिको दबाब र आक्रमणले केवल मिडिया होइन, सम्पूर्ण लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउँछ। राज्यका संयन्त्रहरू यसतर्फ संवेदनशील बन्नु जरुरी छ।”
त्यस्तै नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले हालका घटनाले सञ्चार माध्यमहरूलाई डराउने वातावरण सिर्जना गरेको बताउँदै भनिन्, “पत्रकारहरू नत शासनका पक्षमा नत विपक्षमा हुन्छन् — उनीहरू सत्यका पक्षमा हुन्छन्। त्यसैले प्रेस स्वतन्त्रताको रक्षा राज्य र समाज दुवैको जिम्मेवारी हो।”
बैठकका प्रमुख अतिथि माधव विद्रोहीले प्रेस चौतारीले सदैव निष्पक्ष र जिम्मेवार पत्रकारिताको पक्षमा उभिने बताउँदै आगामी दिनमा पत्रकारका हकहित, सामाजिक उत्तरदायित्व र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि अभियान तीव्र पारिने जानकारी दिए।
बैठकले प्रेस चौतारीको अबको बाटो ‘पत्रकारको पेशागत सुरक्षा, राष्ट्रिय एकता र स्वतन्त्र अभिव्यक्तिको रक्षा’लाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने निर्णय गरेको छ।
