बिर्तामोड, ३ कात्तिक,

 झापाको बिर्तामोडमा लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यले ‘इको म्युजिक फेष्ट’ आयोजना हुने भएको छ। चाहना समूह बिर्तामोड–५ र इभन इन (Eve In) को संयुक्त आयोजनामा आगामी कात्तिक ११ गते मंगलदीप टोलस्थित लोटस लाउन्ज एण्ड बारको अगाडि सो कार्यक्रम हुने आयोजकले बताएका छन्।

कार्यक्रममा स्वर पूर्ण राई दाजुभाइ ब्याण्डको विशेष प्रस्तुति रहनेछ भने गेस्ट आर्टिस्ट अर्नभ वन पनि प्रस्तुत हुनेछन्।

आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जीवन भण्डारीले पछिल्ला वर्षहरूमा बिर्तामोड क्षेत्रमा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको बताउँदै, त्यसको रोकथाम र पुनर्स्थापना उद्देश्यले यो फेस्ट आयोजना गरिएको जानकारी दिए। उनका अनुसार कार्यक्रमबाट बचत भएको रकम आर्थिक अभावका कारण सुधार गृह जान नसक्ने युवालाई सहयोग गर्न प्रयोग गरिनेछ।

चाहना समूहका सल्लाहकार मदन राईले सांगीतिक कार्यक्रमसँगै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिने बताए। उनले चाहना समूहले विगतदेखि नै सामाजिक रुपान्तरणका उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।

कार्यक्रम सम्पन्न गर्न ३६ वटा संघ–संस्थाको सहकार्य रहेको आयोजकले जनाएका छन्। सोही अवसरमा ‘इको म्युजिक फेष्ट’ का टि–सर्ट पनि सार्वजनिक गरिएको थियो।

इभन इनका संस्थापक विशाल अग्रवालका अनुसार कार्यक्रमका लागि ५ हजार टिकट बिक्री गर्ने लक्ष्य राखिएको छ। उनले हालसम्म इसेवामार्फत् करिब २ हजार टिकट बिक्री भइसकेको र कार्यक्रम सम्पन्न गर्न करिब रु ३० लाख खर्च हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *