इलाम, ४ कात्तिक। इलाम जिल्लामा खेलकुद क्षेत्रको विकास र विस्तारका लागि निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिको नयाँ आधुनिक भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।

भौतिक मन्त्रालय को सघन सहरी तथा भवन निर्माण आयोजना झापाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको लागत करिब ५० लाख रुपैयाँ रहेको छ। भवन निर्माण कार्य नायक एण्ड सन्स कन्स्ट्रक्सन, रोंग–२ ले सम्पन्न गरेको हो।

भवनको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले एक विशेष समारोहबीच गर्नुभयो। कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष हुकुमलाल थेबे, रेडहर्ष फुटबल क्लबका प्रकाश घिमिरे, निर्माण व्यवसायी डिवास प्रधान, सघन सहरी तथा भवन निर्माण आयोजनाका प्राविधिक कर्मचारी, सञ्चारकर्मी र खेलकुदप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि जयप्रकाश राईले जिल्ला स्तरमा खेलकुद पूर्वाधार विस्तारका लागि यो भवन महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार भवन सञ्चालनमा आएपछि जिल्ला खेलकुद विकास समितिको कार्य सञ्चालन सहज र व्यवस्थित हुनेछ। राईले खेलकुदले युवाहरूलाई अनुशासित, सक्षम र राष्ट्रप्रेमी बनाउने उल्लेख गर्दै स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा खेलकुद पूर्वाधार निर्माणमा थप लगानी गर्नुपर्ने बताउनुभयो।

त्यस्तै, कार्यक्रमका अन्य वक्ताहरूले इलाममा खेलकुदका विभिन्न खेलका प्रतियोगिता आयोजना गर्न र खेलाडीहरूलाई प्रशिक्षण दिनका लागि यो भवनले आधार तयार गर्ने धारणा व्यक्त गरे। उनीहरूले खेलकुद समितिलाई भवनको प्रभावकारी प्रयोग र खेलकुद विकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरे।

नयाँ भवन निर्माण सम्पन्न भएपछि अब जिल्ला खेलकुद विकास समितिले खेलाडीहरूको दर्ता, तालिम, बैठक तथा प्रतियोगिता सञ्चालनका कार्यहरू यही भवनबाट गर्न सक्नेछ। यससँगै इलाममा खेलकुदको संस्थागत विकासमा नयाँ पृष्ठ सुरु भएको आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *