राजकुमार ओली,काठमाडौं, ५ कात्तिक

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ निर्माण गरिने घोषणा गरेका छन्।

बुधबार बिहान जेनजी आन्दोलनकारीहरूले बालकोटस्थित ओली निवासमा आगजनी गरेपछि त्यसको निरीक्षणका क्रममा अध्यक्ष ओलीसँगै पुगेका बस्नेतले यस्तो घोषणा गरेका हुन्। उनले बालकोटको जलेको घर मर्मत नगरिने बताउँदै गुण्डुमै नयाँ ‘कुटी’ निर्माणको तयारी थालिने जानकारी दिएका छन्।

बस्नेतका अनुसार अध्यक्ष ओलीको व्यक्तिगत सम्पत्तिको रूपमा प्रचारित बालकोटको घर वास्तवमा राष्ट्रिय सम्पत्ति हो। उनले भने, “बालकोटको घर राष्ट्रिय सम्पत्ति हो, केपी ओलीको निजी घर होइन। त्यसैले त्यसको पुनःनिर्माण हामी गर्दैनौं। तर गुण्डुमा उहाँका लागि नयाँ वासस्थान निर्माण गर्न हिम्मत गर्छौं।”

उनले ओलीका लागि भक्तपुर नगरपालिका–७ स्थित गुण्डुमा ‘ओली कुटी’ नामक सानो घर निर्माण गरिने बताए। “उहाँको परिवारमा सन्तान नभएकाले ठूलो घर र धेरै जग्गा–जमिनको आवश्यकता छैन। हामी उहाँका लागि गुण्डुमा एउटा सानो र प्रतीकात्मक कुटी बनाउनेछौं, जसको नाम ‘ओली कुटी’ हुनेछ,” बस्नेतले भने।

उनका अनुसार उक्त घर निर्माणका लागि आवश्यक खर्च सहयोग, चन्दा र स्वेच्छिक योगदानमार्फत जुटाइनेछ। उनले थपे, “चन्दा उठाएर भए पनि हामी ओली कुटी बनाउने हिम्मत राख्छौं।”

बस्नेतले आगजनीमा जलेका संरचना ओलीको मात्रै नभई देशको सम्पत्ति भएको दाबी पनि गरे। उनका भनाइमा, “अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदै गर्दा सार्वजनिक उत्तरदायित्वका क्रममा रहँदा प्रयोग भएका थुप्रै वस्तुहरू सरकारी सम्पत्तिको हिस्सा हुन्। त्यसैले हामी त्यसलाई व्यक्तिगत रूपमा पुनःनिर्माण गर्न सक्दैनौं।”

घटनास्थल अवलोकनका क्रममा उनले आन्दोलनकारीहरूको हिंसात्मक गतिविधिप्रति आपत्ति जनाउँदै राज्यले दोषीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरे। उनले भने, “राजनीतिक असहमति अभिव्यक्त गर्न सकिन्छ, तर आगजनी र तोडफोड जस्ता हिंसात्मक कार्य स्वीकार्य हुँदैन। यस्ता गतिविधिले लोकतन्त्रलाई कमजोर बनाउँछ।”

सो क्रममा बस्नेतले एमाले अध्यक्ष ओलीप्रति जनताको माया र समर्थन अझ बढेको दाबी पनि गरे। “ओलीजीले देश र जनताका लागि बलिदान र समर्पण गरेका छन्। उहाँलाई जनता नेता मात्र होइन, राष्ट्रसेवकको रूपमा हेर्छन्,” उनले भने।

यसअघि  जेनजी आन्दोलनका क्रममा बालकोटस्थित ओली निवासमा आगजनी गरिएको थियो। प्रहरीले आगो नियन्त्रणमा लिए पनि घरको केही भाग जलेको जनाइएको छ। सो घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *