राजकुमार ओली,बिर्तामोड, कात्तिक ८(पूर्व खबर)
मलेसियामा सम्पन्न युनि एसिया प्यासिफिक सम्मेलन (UNI Asia Pacific Conference) सम्पन्न भई दक्षिण एसियाली कार्य समिति गठन भएको छ ।
उक्त समितिमा नेपाल युनिकोमका अध्यक्ष गजेन्द्र पौडेल सदस्यका रूपमा चयन भएका छन् । पौडेलको चयनले नेपालका श्रम–व्यवसाय क्षेत्र र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनमा नेपालको उपस्थितिलाई थप सुदृढ बनाएको छ ।
सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिहरूले पौडेलको योगदान, अनुभव र श्रमिक अधिकारमा देखाएको प्रतिबद्धतालाई उच्च मूल्यांकन गर्दै उनलाई कार्य समितिमा चयन गरेका हुन् । यस अवसरमा पौडेलले सबै सदस्य देशका प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै भने, “नेपाल युनिकोम र मेरो योगदान ट्रेड (व्यापार) क्षेत्रमा निरन्तर रहनेछ । नेपालमा देखिएको पुस्तागत संरक्षणवादबाट हामीले सिक्नुपर्छ, किनभने नयाँ पुस्ताको भावना बुझ्न सकेनौं भने परिवर्तन सम्भव हुँदैन ।”
उनले एसिया प्यासिफिक क्षेत्र श्रमिक अधिकार र सहकार्यका दृष्टिले सबल रहेको बताउँदै अझ प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता जनाए । साथै उनले पुनः निर्वाचित भएका एसडीए अस्ट्रेलियाका अध्यक्ष जेरार्ड ड्वायरलाई बधाई दिँदै सम्पूर्ण समर्थकहरू प्रति आभार प्रकट गरे ।
यही अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु घिमिरेले पौडेलको चयन नेपालको श्रम–व्यापार क्षेत्रका लागि गौरवको विषय भएको बताए । उनले भने, “गजेन्द्र पौडेलजस्ता सक्षम र अन्तर्राष्ट्रिय सञ्जालमा सक्रिय व्यक्तित्वले नेपालका श्रमिक र व्यवसायिक प्रतिनिधित्वलाई नयाँ उचाइमा पुर्याएका छन् । अब नेपालले एसिया प्यासिफिक क्षेत्रमा अझ बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।”
घिमिरेका अनुसार, पौडेलको अन्तर्राष्ट्रिय भूमिकाले नेपाली उद्योग, श्रमिक र रोजगारका सवालमा नयाँ दृष्टिकोण ल्याउनेछ । उनले नेपालका युवा पुस्ताले यस्ता उपलब्धिबाट प्रेरणा लिनुपर्ने उल्लेख गरे ।
सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरूले श्रमिक अधिकार, सुरक्षित रोजगारी, र श्रम बजारको समावेशितामाथि छलफल गरेका थिए । नेपाल युनिकोमको सक्रियताले नेपालका श्रमिकहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा पुग्न सहयोग गरेको सहभागीहरूले बताएका छन् ।
पौडेलले आफ्नो कार्यकालमा श्रमिक अधिकार, समान अवसर र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिने बताउँदै सबैको साथ र सहयोगको अपेक्षा गरेका छन् ।
