1. झापा, २८ कात्तिक। पूर्वखबर।
    सीप विकासमै जीवन समर्पण गर्ने उद्यमी— ‘निर्मला’

हँसिलो अनुहार, मिजासिलो स्वभाव र दर्विलो आत्मविश्वास— यी सबै गुणले मेचीनगर–१२ की निर्मला चौहान भण्डारीलाई पहिचान दिलाएको छ ‘उद्यमीहरूकी गुरुआमा’ । विगत एक दशकभन्दा बढी समयदेखि उहाँले चार सयभन्दा बढी महिलालाई सीप सिकाएर उद्यमी बनाइसक्नुभएको छ। गाउँघरका महिलालाई चुलो–भान्साबाट बाहिर निकाल्दै आत्मनिर्भर बन्न प्रेरित गर्नु नै उहाँको जीवन लक्ष्यजस्तै बनेको छ।

निर्मलाको भनाइ छ, “महिला उद्यमशील बन्ने हो भने पहिलो आवश्यकता नै सीप हो। पुरुषमार्फत चल्ने पुरातन सोच बदल्न मैले तालिम र उद्यमशीलताको अभियान नै चलाइ रहेकी छु।”

स्थानीय स्रोतबाट उद्यम— निर्मलाको विशेषता

निर्मलाले सिकाउने तालिमको विशेषता के छ भने, उहाँ स्थानीय स्रोतमै भर पर्नुहुन्छ। मकैको खोसेला, धानको पराल, केराको रेसा, रुद्राक्षका दाना जस्ता घरमै फालिने सामग्रीबाट झोला, गुन्द्री, चप्पल, पिरा, फूल तथा सजावटी सामग्री बनाउन सिकाउनुहुन्छ। घर वरिपरि खेर जाने पदार्थलाई कलात्मक उत्पादनमा रूपान्तरण गर्दा राम्रो आम्दानी मात्र नभई वातावरण संरक्षणमा पनि योगदान पुग्छ भन्ने उहाँको मान्यता छ।

त्यसैगरी धुप, साबुन, सरफ, फिनेलदेखि अचारसम्म— दैनिक जीवनमा आवश्यक पर्ने सामग्री उत्पादनसम्बन्धी तालिम पनि उहाँले उपलब्ध गराउँदै आएकी छन्। झापा मात्र नभई कोशी प्रदेशका अधिकांश जिल्लामा पुगेर सयौं महिलालाई सीप सिकाउँदै उहाँले ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने अभियान निरन्तर चलाइरहेकी छिन्।

सीप सिकाउने यात्रा कसरी सुरु भयो ?

निर्मलाको आजको सफलताले धेरैलाई आश्चर्य लाग्न सक्छ। तर यो यात्रा साधारण तर गहिरो प्रेरणाबाट सुरु भएको हो। विद्यार्थी जीवनदेखि नै धागो, कपडासँग खेल्न रुचाउने उहाँमा वि.सं. २०५५ तिर इलाम क्याम्पसमा अध्ययन गर्दा नै सामाजिक काम र आत्मनिर्भरता बन्ने चाहना पलाएको थियो।

वि.सं. २०६४ मा घरेलु कार्यालय झापाले आयोजना गरेको १० दिने उद्यमशीलता तालिमले नै उहाँको जीवनमा नयाँ अध्याय सुरू गराएको हो। विवाहपछि मेचीनगर आएको जीवनलाई अवसरको रुपमा लिएर तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्ने निर्णयसँगै उहाँले उद्यमशीलताको बाटो समाइन्।

एक सिलाइ मेसिनदेखि ‘जागरूक लघु उद्योग’सम्म

वि.सं. २०६५ मा धाइजनमा गुडिया बनाउने सात दिने तालिम लिएपछि निर्मलामा उद्यमी बन्ने सोच अझ दृढ बन्यो। त्यसपछि घरमै ‘जागरुक लघु उद्योग’ स्थापना भयो— त्यो पनि एक मात्र सिलाइ मेसिनबाट। पछि घरेलु कार्यालयले सहयोगस्वरूप अर्को मेसिन दिएपछि गुडिया र झोलाको उत्पादन सुरु भयो। सुरुमा गाउँलेले शंका गरे पनि उत्पादन हेर्दै माग बढ्यो, बजार बढ्यो र ‘निर्मलाको सीप’ गाउँ–सहरभर चर्चा हुन थाल्यो।

निर्मला भन्छिन्, “आफूले बनाएको सामान बिक्री हुन थालेपछि आत्मविश्वास दोब्बर भएको थियो। त्यही ऊर्जा लिएर म अझ उत्साहपूर्वक लागेँ।”

‘गुरुआमा’ बन्ने यात्रा

उहाँको आत्मनिर्भरता मात्र होइन, उहाँले अरूलाई बनाइदिएको आत्मनिर्भरता नै आजको पहिचान हो। निर्माण र डिजाइनमा दक्ष प्रशिक्षकको रूपमा उहाँ सबैको प्रिय बन्नुभयो।

उहाँका अनुसार, पाँच हजारभन्दा बढी महिलाले उहाँबाट सीप सिकिसकेका छन्।
तीमध्ये चार सयभन्दा बढी महिलाले आफ्नै घरेलु उद्योग सञ्चालन गरिरहेका छन्।

२०७२ सालदेखि सरकारले औपचारिक प्रशिक्षकका रूपमा परिचालन गर्न थालेपछि उहाँको प्रभाव कोशीभर फैलियो। हाल उहाँले सञ्चालन गर्ने “पुनःजागृति सीप केन्द्र”मा २५ जना महिलालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन्।

बजार, चुनौती र अवसर

निर्मला बताउनुहुन्छ— उत्पादन राम्रा छन्, तर बजार र ब्रान्डिङ नहुँदा प्रतिस्पर्धा कठिन छ। स्थानीय सरकारले नीति नबनाउँदा बाहिरका सामानले बजार ओगटेको गुनासो पनि उहाँको छ।
उहाँको सुझाव छ— “स्थानीय सरकारले रैथाने बजार सञ्चालन गरिदियो भने ग्रामीण महिलाका उत्पादनले ठूलो बजार पाउँछन्।”

विद्यालयका विद्यार्थीलाई स्थानीय महिलाले उत्पादन गरेको झोला उपलब्ध गराउन सके रोजगार अभिवृद्धि हुने विश्वास उहाँको छ।

समाज–परिवर्तनमा निर्मलाको योगदान

निर्मलाको सीप केन्द्रले प्रशिक्षित महिलामध्ये धेरैजना अहिले प्रशिक्षककै रूपमा काम गरिरहेका छन्। मेचीनगर–१३ की निर्मला खनाल भन्छिन्—
“संकटमा परेका बेला निर्मला दिदीले नै तालिम र हौसला दिनुभयो। आज म उद्यमी पनि छु, प्रशिक्षक पनि।”

नारी कल्याणकारी महिला विकास संस्थाकी अध्यक्ष जानुका ओली पनि निर्मलालाई प्रेरणाको स्रोत बताउँछिन्—
“उहाँबाट तालिम पाएर सयौं महिला स्वरोजगार बनेका छन्। निर्मला दिदी समाजको उदाहरणीय व्यक्तित्व हुन्।”

निर्मलाको सपना— ‘हरेक घरमा सीप’

उत्पादनको ब्रान्डिङ, बजार विस्तार, सरकारी ध्यानको अभाव— यी चुनौतीहरुसँग लड्दै निर्मला अझै जुटिरहेकी छिन्। उहाँ भन्छिन्—
“सीप सिकेर महिलाहरू आत्मनिर्भर बनेर परिवार पाल्न सक्षम भएको देख्दा मेरो प्रेरणा झनै बढ्छ। मेरो चाहनै यही हो— हरेक घरका महिला सीप सिकून्, आत्मनिर्भर बनून्।”

परिवारको साथ, विशेषगरी पति राजु भण्डारीको सहयोग, उद्यमशीलता र नेतृत्व कौशल— यी सबैले निर्मला चौहान भण्डारीलाई महिला उद्यमशीलता अभियानको ‘जीवित उदाहरण’ बनाइदिएका छन्।

निर्मलाको कथा केवल एक व्यक्तिको सफलता होइन— झापा र कोशी प्रदेशका हजारौँ महिलालाई आशा, सीप र आत्मनिर्भरता त्यसरी नै बाँडिरहेकी निरन्तर यात्रा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *