राजकुमार ओली।, १२ पुष: (पूर्व खबर)

परम्परा, जातीय बन्धन र सामाजिक पूर्वाग्रहलाई चुनौती दिँदै सिता ढुङ्गाना र छविलाल विश्वकर्माले गरेको अन्तरजातीय विवाह आज पनि नेपाली समाजमा बहस, प्रेरणा र परिवर्तनको प्रतीक बनेको छ ।

प्रेम, समानता र मानवीय मूल्यका आधारमा अघि बढ्ने निर्णय गरेका उनीहरूको जीवनयात्रा केवल एक वैवाहिक सम्बन्ध मात्र नभई जातीय विभेद र छुवाछूतविरुद्धको मौन विद्रोह पनि हो ।
सिता ढुङ्गाना र छविलाल विश्वकर्मा पाँचथरको रानीगाउँस्थित एउटै विद्यालयमा अध्ययनरत विद्यार्थी थिए । सँगै पढ्दै हुर्कँदा उनीहरूबीच विकसित भएको मित्रता क्रमशः प्रेममा रूपान्तरण भयो । तर प्रेमको बाटो सहज थिएन । सिता ब्राह्मण समुदायकी र छविलाल विश्वकर्मा दलित समुदायका भएकाले उनीहरूको सम्बन्ध सामाजिक रूपमा स्वीकार्य मानिएन । परिवार र समाजको तीव्र विरोधका बाबजुद उनीहरूले प्रेमलाई जीवनको आधार बनाएर विवाह गर्ने साहसी निर्णय गरे ।
उनीहरू विवाह गरेर गाउँ छाड्दै सहर पस्न बाध्य भए । सिता ढुङ्गानाका परिवारले सामाजिक दबाब र कथित ‘इज्जत’ को नाममा छोरीलाई मृत घोषणा गरे । समाजका अगाडि काजक्रियासमेत गरियो । छोरी जीवित हुँदाहुँदै परिवारबाट मृत ठहरिनु सिता ढुङ्गानाको जीवनको सबैभन्दा पीडादायी क्षण बनेको थियो । तर त्यो पीडाले उनलाई तोड्न सकेन, बरु उनी अझ दृढ बनिन् ।
समय बित्दै गयो । जीवन चलाउन छविलाल विदेश भासिए अनि अलिअलि कमाएर बिर्तामोडमा एउटा झुपडी बनाए।

१६ वर्षअघि सिता र छविलाल झापाको बिर्तामोड–४ स्थित शान्तिमार्ग नजिक बसाइँ सरे । संघर्ष, अभाव र सामाजिक हेपाइका बीच उनीहरूले परिवार निर्माण गरे । आज उनीहरूको छोरो २३ वर्षको लक्का जवान भइसकेको छन । यही वर्ष आजको दिन, उनीहरूको वैवाहिक वर्षगाँठ पनि परेको छ, जुन दिनले उनीहरूको संघर्षपूर्ण यात्रालाई फेरि स्मरण गराएको छ ।
सामाजिक रूपमा बहिष्कृत भए पनि उनीहरूको दाम्पत्य जीवन प्रेम, विश्वास र सम्मानमा आधारित रह्यो । दुवै पक्षका सीमित आफन्त, शुभचिन्तक र शुभेच्छुकको उपस्थितिमा उनीहरूले विवाह संस्कार पूरा गरे । हिन्दू परम्पराअनुसार सम्पन्न भए पनि उक्त विवाहले जातीय विभेद र छुवाछूतको अन्त्यतर्फ सकारात्मक सन्देश दिएको थियो ।
नेपाली संविधानले अन्तरजातीय विवाहलाई प्रत्येक नागरिकको स्वतन्त्र अधिकारका रूपमा स्वीकार गरेको छ । समानता, समावेशीता र सामाजिक न्यायको प्रत्याभूति संविधानले दिए पनि व्यवहारमा अन्तरजातीय विवाह गर्ने दम्पतीले अझै पनि सामाजिक अवरोध, मानसिक दबाब र परिवारिक बहिष्कार भोग्नुपरेको यथार्थ सिता–छविलालको जीवनले पुष्टि गर्छ ।
अन्तरजातीय विवाहले समाजमा गहिरो प्रभाव पार्छ । यसले जातीय विभाजनको पर्खाल भत्काउने मात्र होइन, नयाँ पुस्तालाई समानता र मानवीय मूल्यको पाठ पनि सिकाउँछ । समाजशास्त्रीहरूका अनुसार यस्ता विवाहले छुवाछूतको अभ्यास कमजोर बनाउँदै सामाजिक चेतनामा क्रमिक परिवर्तन ल्याउने भूमिका खेल्छन् ।
सिता र छविलालको जीवनमा भावनात्मक मोड १० वर्षअघि आएको थियो । दशैंको अवसरमा सिता ढुङ्गाना, छबिलाल विश्वकर्मा दमक पुग्दा सञ्चारकर्मी राजकुमार ओली सँगै घरमा आइपुगेका थिए। त्यहीँ पूर्णिमाको टिका आमा इन्दिरा ओलीले सिता र छविलाललाई सँगै पूजा कोठामा लगेर टीका लगाइदिनुभयो । १८ वर्षपछि पहिलो पटक आफूले माइत टेक्दै आशीर्वाद पाएको अनुभूति भएको भन्दै सिता ढुङ्गाना भावुक बन्नुभयो । “गालाका डिलमा टप्प टप्प  आँसु झरे, लाग्यो म साँच्चै माइत आइपुगेँ,” भन्दै उहाँले त्यो क्षणलाई जीवनकै अविस्मरणीय अनुभवका रूपमा स्मरण गर्नुभयो ।
विवाहपछि सिता र छविलालले जारी गरेको  सन्देशमा ‘मायाको आधारमा जीवन सँगै अघि बढ्ने निर्णय’ समाजका लागि सन्देश भएको उल्लेख छ । उनीहरू भन्छन्— परम्परा र संस्कृतिको सम्मान गर्दै पनि समानता र मानवीय सम्बन्धलाई प्राथमिकतामा राख्न सकिन्छ ।
सामाजिक अभियन्ता र स्थानीय अगुवाहरू अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिन्छन् । उनीहरूका अनुसार प्रहरी, स्थानीय सरकार र समुदायबीच समन्वय गर्दै यस्ता दम्पतीका कानुनी अधिकार र सामाजिक सुरक्षाका विषयमा जनचेतना फैलाउन आवश्यक छ ।
सिता ढुङ्गाना र छविलाल विश्वकर्माको जीवनकथा प्रेमको विजय, साहसको उदाहरण र सामाजिक रूपान्तरणको कथा हो । उनीहरूको यात्रा समाजले छुवाछूत र विभेदको अन्त्यतर्फ सोच बदल्दैछ कि छैन भन्ने प्रश्नसँगै, परिवर्तन सम्भव छ भन्ने आशाको उज्यालो सन्देश पनि हो ।

केही वर्षअघि दमकमा सीताका बुबाको दुखद निधन भयो। तर परिवारले सुटुक्क अन्त्येष्टि गर्ने सल्लाह गरेछन्। आफ्नो बुवाको अनुहार हेर्न पनि १२ बजे कन्काईमाई घाट ल्याउने सल्लाह र प्रचार गरिए पनि सीताले आएर लास छुन सक्छे भन्ने त्रासले परिवारले एका बिहानै कन्काईको माई धारको घाटमा ल्याएर अन्तष्टि गरेछन्।,

जब सीताले खबर पाएन, सिताले  बुवाको अन्तिम पटक अनुहार हेर्ने सपना समेत उजाड उजार भइदियो। सीताले आफ्नै घरमा काजकर्म गरिन्। अनि छिमेकीहरु बोलाएर संस्कार र परम्परा सम्पन्न गरिन्।

कुनै सिता र छविलालको आज वैवाहिक वर्षगाठको दिन परेको छ,

फेरि पनि छविलाल र सीतालाई वैवाहिक वर्ष गाँठको भव्य भव्य शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *