आत्महत्या न्यूनीकरण मेरो प्राथमिकता : एसपी रेग्मी

0
SHARES
8
VIEWS

प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले आत्महत्या रोक्ने कार्य आफ्नो कार्यकालको मुख्य प्राथमिकता हुने बताउनु भएको छ ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रमुखको रुपमा आएपछि आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा एसपी रेग्मीले जिल्लामा लागू औषध, चोरी तस्करी, राजस्व चुहावट लगायतका थुप्रै समस्या रहेको जानकारी भए तापनि आफुले गर्नुपर्ने पहिलो कामका रुपमा आत्महत्या न्यूनीकरणलाई रोजेको बताउनुभयो ।

उहाँले आत्महत्या रोक्न विशेष योजना बनाएरै अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस अभियानमा नागरिक समुदाय, समाज, सञ्चारकर्मी र स्थानीय सरकारसँग भरपुर सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

मुलुकमा सबैभन्दा बढी संख्यामा आत्महत्याका घटना झापामा हुने गरेको जनाउँदै उहाँले थोरै गर्ने तर समाजलाई उपयोगी हुने काम गर्ने आफ्नो सोचाई भएको बताउनुभयो ।

झापामा आर्थिक वर्ष २०७८/०७९ मा ३११ जना, २०७७/०७८ मा ३३४ जना र २०७६/०७७ मा २२३ जनाले आत्महत्या गरेको पाइएको छ ।

उहाँले पन्ध्रै तहमा स्थानीय पालिकाहरुसँग आवश्यक स्रोतका लागि आग्रह गरिने र काठमाडौंबाट विज्ञ मनोपरामर्शदाता टोली ल्याएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । सचेतनामूलक कार्यक्रममा कक्षा १० देखि माथिका विद्यार्थीलाई सहभागी गराइने जनाउनुभयो ।

“हरेक दिन विहान उठ्ने बेलादेखि र बेलुका सुत्ने बेलासम्ममा सरदर तीन जनाले आत्महत्या गरेको सुन्नु परेको छ,” उहाँको भनाई थियो–“अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने हाम्रो नियमित काम नै हो, अब आत्महत्या न्यूनीकरण हाम्रो मुख्य प्राथमिकता हुनेछ ।”

केही महिना अघि झापाको कचनकबलमा एउटै रुखको हाँगामा तीन जना किशोरी र गत वर्ष कनकाईको एउटै रुखमा दुई जना युवायुवतीले झुण्डिएर आत्महत्या गरेका थिए । ती घटनापछि झापामा आत्महत्याको विकराल समस्या रहेको चर्चा हुँदै आएको थियो ।

घरायसी हिंसा, गरीवी, चर्को ऋण, तिरस्कार, मानसिक चिन्ता, प्रेममा धोका जस्ता कारणले आत्महत्याको घटना बढ्ने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले आयोजना गरेको उक्त भेटघाट कार्यक्रममा पत्रकारहरुले मानसिक रोगीको संख्या बढेको, चारआली जंगलको सेल्फी रोड आसपास आत्महत्याका बढी घटना हुने गरेको, सीसी क्यामरा बिग्रिएर थन्किएको, अबैध चिठ्ठाको धन्धा बढेको, बन्यजन्तुको चोरी शिकारी बढेको लगायतका समस्यातर्फ प्रहरी उपरीक्षक रेग्मीको ध्यान आकर्षण गरेका थिए ।

प्रहरी उपरीक्षक रेग्मीले पत्रकारको एक प्रश्नको जवाफमा गृहमन्त्री रवि लामिछानेले भुइँमान्छेहरुलाई न्याय पुग्नेगरी निष्पक्ष भएर कार्य सम्पादन गर्न र राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

आज विहान देशभरका ७७ जिल्लाकै सीडीओ, सेना र प्रहरी प्रमुखहरुसँग गृहमन्त्री लामिछानेले भर्चुअल बैठक गर्नुभएको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा जिल्लाका प्रहरी प्रवक्ता एवम् डीएसपी बसन्त पाठकको समेत उपस्थिति रहेको थियो loktantrapost

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार