बैंकहरूले किने ७ खर्बको सेयर, आम्दानी बढाउने नयाँ अस्त्र, सरकारी बैंक नै अघि

0
SHARES
8
VIEWS

वाणिज्य बैंकहरुले आफ्नो पोर्टफोलियोको ठूलो हिस्सा सेयर बजारमा लगानी गरेका छन् ।

२७ वाणिज्य बैंकहरुले सेयर बजारमा ६ खर्ब ८६ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकले सेयर खरिदमा गरेको लगानी २४ अर्ब ४० करोड रुपैयाँले घटेको छ । गत वर्ष बैंकहरुले ७ खर्ब ११ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

सेयर बजारमा गरेको लगानीबाट प्राप्त आम्दानीले कतिपय बैंकले लगानीकर्तालाई आकर्षक लाभांशसमेत बाँडेका छन् ।

कोभिड १९ ले लगानीका अन्य क्षेत्र संकुचनमा परेपछि सेयर बजार निरन्तर रुपमा उकालो लागेको थियो । सोही अवसरलाई उपयोग गर्दै बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी बढाएका थिए ।

यसरी लगानी गर्नेमा सरकारी बैंकहरु अघि छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै ४६ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर किनेको देखिन्छ । गत वर्षको यसै अवधिमा बैंकले ७१ अर्ब ६ करोड रुपैयाँबराबरको  सेयर खरिद गरेको थियो ।

दोस्रो बढी सेयर किन्नेमा ग्लोबल आइएमई बैंक छ । बैंकले ४४ अर्ब ४७ करोड रुपैयाँबराबरको सेयर किनेको दोस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।

यस्तै सेयर बजारमा धेरै लगानी गर्नेमध्ये तेस्रो स्थानमा नबिल बैंक रहेको छ । उसले सेयर बजारमा ४० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको छ ।
सेयर बजारमा सबैभन्दा कम लगानी गर्नेमा सिभिल बैंक रहेको छ । चालू आर्थिक वर्षको ६ महिनासम्ममा १२ अर्ब ३४ करोड रुपैयाँ सेयरमा लगानी गरेको छ ।

यस्तै लक्ष्मी बैंक, सेन्चुरी बैंक, नेपाल क्रेडिड एन्ड कमर्स र नेपाल बंगलादेश बैंक सिभिलपछिका कम सेयर खरिद गर्ने बैंकहरु हुन् ।

वाणिज्य बैंकहरुले आफ्नो वासलातको सम्पत्तितर्फ ‘धितोपत्रमा लगानी’ शीर्षकअन्तर्गत सेयर बजारमा भएको लगानीलाई देखाउने गर्छन् । यद्यपि उक्त शीर्षकमा सेयर बजारमा मात्रै गरेको लगानीबाहेक  ऋणपत्र र सामूहिक लगानी कोष र सरकारको ऋणपत्रमा गरेको लगानीलाई समेत जोडेर देखाउँछन् ।

कुनै पनि वाणिज्य बैंकले एक संगठित संस्थाको सेयर, डिबेन्चर र सामूहिक लगानी कोषको सेयर खरिद गर्दा कुल प्राथमिक पुँजीको बढीमा १० प्रतिशत र सबै संगठित संस्थाको सेयर, डिबेन्चर र सामूहिक लगानी कोषमा प्राथमिक पुँजीको ३० प्रतिशत मात्रै सेयर खरिद गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कुनै पनि संगठित संस्थाको सेयर खरिद गर्दा पनि उक्त संस्थाको कुल प्राथमिकता पुँजीको १० प्रतिशतभन्दा बढी किन्न नपाउने व्यवस्था  छ ।
बैंकहरुले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी सेयर बजारमा लगानी गरेमा बढी भएको लगानीबराबरको रकम प्राथमिक पुँजीबाट घटाएर मात्रै पुँजीकोष गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आफ्नो वित्तीय स्वार्थ भएका संस्थाको सेयरमा लगानी गर्दा प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था भए पनि पुँजीकोष गणनाका लागि उक्त रकम घटाउनुपर्ने व्यवस्था छ ।

बैंकहरुले राष्ट्र बैंकले तोकेको पुँजीकोष नपुर्याएमा उनीहरुको लाभांश वितरणमा रोकसमेत लगाउन सक्ने व्यवस्था छ । जसको पछिल्लो उदाहरण एनआईसी एसिया बैंक हो । पर्याप्त पुँजीकोष नपुर्याउँदा बैंकले गत आर्थिक वर्षको लाभांश वितरण गर्न पाएन ।

गत आर्थिक वर्षको १० जेठमा राष्ट्र बैंकले निर्देशन जारी गर्दै एक आर्थिक वर्षमा कुल प्राथमिक पुँजीको १ प्रतिशत सेयर मात्रै बेच्न पाउने व्यवस्था गरेको थियो ।

तर, सोही मितिसम्म खरिद भइसकेका सेयर तथा डिबेन्चर बिक्री गर्नका लागि असार मसान्तसम्मको समय दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार