मिशन ग्रासरुट शुरु, एमाले जनताको घर घरमा पुग्ने योजना

0
SHARES
6
VIEWS

मुलुकको पहिलो र सङ्घीय संसदमा दोस्रो नेकपा (एमाले) ले दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरूट) शुरु गरेको छ ।

गएको फागुन ५ गतेदेखि देशभर एकसाथ शुरू भएको पार्टीको वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्यहरू दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्नेछ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन २०८० साल बैशाख ९ गते सो अभियानको समापन गरिने छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट सात प्रदेश र गैरभूगोलका विशेष प्रदेशमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गरी देशभर पार्टी सुदृढीकरण अभियान शुभारम्भ गरेका छन् । अध्यक्ष ओलीले मिसन ग्रासरूट जनसम्बन्ध थप सुदृढ गर्दै एमालेलाई जनआधारित कार्यकर्ता पार्टीको रूपमा विकास गर्ने वैचारिक तथा साङगठानिक सुदृढीकरण अभियान रहेको बताए ।

मिसन ग्रासरूट अभियानअन्तर्गत पार्टीका पोलिटब्यूरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन भइरहेको छ । उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूको टिमले अभियानको अनुगमन र संयोजन गर्ने भएको छ । अहिले अनुगमन र संयोजनको जिम्मेवारीमा रहेका नेताहरू आ–आफ्नो जिम्मेवारी तोकिएका प्रदेशमा पुगेका छन् ।

केन्द्रीय कमिटीका सदस्यहरू हालको जिम्मेवारीभन्दा भिन्न जिल्लामा अभियान अवधिभरका लागि खटिएका छन् । त्यसैगरी प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यहरू र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने ठाउँमा जिम्मेवारी तोकिएको छ । अध्यक्ष ओलीलाई समग्र अभियानको संयोजक तोकिएको छ भने प्रत्येक प्रदेशमा संयोजक र सहसंयोजक तोकिएका छन् । जस अन्तर्गत प्रदेश–१ मा अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की जिम्मेवारी दिइएको छ भने मधेश प्रदेशमा ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेललाई खटाइएको छ ।

त्यस्तै, बाग्मती प्रदेशमा सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङलाई जिम्मेवारी तोकिएको छ भने गण्डकी प्रदेशमा युवराज ज्ञवाली, पद्माकुमारी अर्याल, किरण गुरूङ, खगराज अधिकारी र थममाया थापालाई तोकिएको छ । लुम्बिनी प्रदेशमा रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराई तथा कर्णाली प्रदेशमा सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई, यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फेलाई जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापालाई खटाइएको छ भने उपत्यका गैरभौगोलिक विशेष कमिटी (केन्द्रीय कार्यालय) मा पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ र विष्णु रिमाल तथा कार्यालय सचिव डा. भीष्म अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न यो विशेष अभियानको आवश्यकता बोध गरिएको एमाले झापा इञ्चार्ज एवम् पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले बताए । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीविरूद्ध चौतर्फी घेराबन्दी, षडयन्त्र र आक्रमण हुँदा पनि त्यसलाई चिर्दै जनताको रोजाइको पहिलो पार्टी बन्न सफल भए पनि पार्टीको सङ्गठनात्मक जीवनमा देखापरेका अस्तव्यस्तता र अराजकताका कारण कमिटीगत परिचालनमा समस्या देखापरेका र निर्वाचनका सिलसिलामा विभिन्न गलत प्रवृत्ति प्रकट भएका कारण पार्टीले कैयौं महत्वपूर्ण स्थानहरू गुमाउनुपरेको हुँदा यस्ता समस्याको समाधान गर्ने अभियानको एक प्रमुख उद्देश्य रहेको नेता खरेलको भनाइ छ ।

नेकपा (एमाले) को आन्तरिक जीवनमा विगत लामो समयदेखि अनावश्यक रूपमा समस्या, कटुता र असमझदारी रहेकाले गर्दा पार्टीको संस्थागत निर्णय प्रक्रिया, पार्टी र सरकार तथा स्थानीय तहका काममा आवश्यक समन्वय, सरकारका उपलब्धिको अपनत्व लिने र त्यसलाई जनताबीच स्थापित गर्ने सन्दर्भमा पार्टीको भूमिकामा कमजोरी र समस्या देखा परेकाले पार्टीले आशातीत सफलता प्राप्त गर्न नसकेको एमालेको बुझाइ छ ।

पार्टीका नीति र नेतृत्वका विरुद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न रहेका व्यक्तिहरू अलग भइसकेकाले पार्टी सदस्य र आम जनसमुदायसम्म जाने यो अभियानले पार्टी जीवनलाई ऊर्जाशील बनाउन सफल हुने एमाले झापा जिल्ला कमिटी सदस्य एवम् कनकाई नगर इञ्चार्ज रविन्द्र लम्सालले बताए । राष्ट्रियताको पहरेदार, लोकतन्त्रको आधारस्तम्भ र सामाजिक–आर्थिक रूपान्तरणको संवाहकका रूपमा रहेको नेकपा (एमाले) नेपालको राजनीतिकै मूलधार र नेतृत्वदायी शक्तिका रूपमा थप सशक्त बन्ने नेता लम्सालको भनाइ छ ।

मिसन ग्रासरूट अभियानले पार्टीलाई वैचारिक रूपमा स्पष्ट र सङ्गठनात्मक हिसाबले चुस्त पार्टी बनाउन सहयोग पुग्ने दावी गरिएको छ । जनआधारित कार्यकर्ता पार्टीको रूपमा रहेको एमाले २ महिने अभियानपछि भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ट रूपमा आबद्ध एवम् नयाँ चुनौतीहरूको सामना गर्न सक्षम एवं समाजमा सबैभन्दा तल रहेका जनताको हितका लागि प्रतिबद्ध पार्टी बन्ने एमालेका केन्द्रीय नेता सूर्य उप्रेतीले विश्वास व्यक्त गरे ।

संवैधानिक प्रबन्ध अनुसार जनताको अभिमत लिएर संविधानको सर्वोच्चता, विधिको शासन र शक्ति पृथकीकरण जस्ता लोकतान्त्रिक मान्यताको दायराभित्रबाट अगाडि बढ्ने एमाले लोकतान्त्रिक प्रतिष्पर्धाका माध्यमबाट आफ्नो श्रेष्ठता हासिल गर्न आम जनताको सचेत, स्वैच्छिक तथा अविच्छिन्न समर्थन अनिवार्य पूर्व शर्त मान्ने पार्टी भएकाले विगतजस्तै सर्वहारा श्रमजीवी वर्ग पक्षधरतालाई जोगाइराख्ने दायित्वका बीचमा सन्तुलन मिलाउन यो अभियान सञ्चालन गरिएको नेकपा एमाले केन्द्रीय कमिटी सल्लाहकार बालकृष्ण मैनालीले बताए ।

विभाजनकारी, अवसरवादी, अराजकतावादी प्रवृत्तिबाट पैदा भएका असहजता र अन्यौललाई चिर्दै पार्टीलाई एकताबद्ध बनाउने र जनतासँगको सम्बन्ध र सौहार्द्रतालाई थप उच्च भावनाका साथ अगाडि बढ्न पार्टीलाई मजबुत बनाउने अभियानको लक्ष्य रहेको नेता मैनालीको भनाइ छ ।पुर्वान्चलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार