गाउँका समस्यालाई सम्बोधन गर्न स्थानीयको माग

0
SHARES
10
VIEWS

विराटनगर । संखुवासभामा नेकपा एमालेले मिसन ग्रासरुट अभियानलाई तिब्र बताएको छ। अभियानको क्रममा एमालेका केन्द्रीय प्रतिनिधिहरुलाई खानेपानीको समस्या समाधान गर्न नागरिकहरुले आग्रह गरेका छन् । गाउँका समस्यालाई सम्बोधन गर्न स्थानीयको माग छ । संखुवासभाको सभापोखरी पुगेकी नेकपा एमालेकी केन्द्रीय सदस्य विष्णुमाया विकलाई कार्यकर्ता तथा नागरिकहरुले दुर्गम बस्तीहरुमा खानेपानीको समस्या रहेको गुनासो सुनाए । गुनासोलाई स्थानीय तहबाट सम्बोधन हुने बिषय, जिल्ला तह, प्रदेश तह र संघीय सरकारको तहबाट सम्बोधन हुने बिषयहरुलाई प्राथमिकीकरण गरेर टिपोट गर्ने गरिएको बिकले बताईन् ।

शुरुका दिनमा जिल्ला स्तरीय भेलाबाट पालिकाको योजना बनाएको बताएकी बि.क.ले पालिका तहको भेलाहरु भईरहेको जानकारी दिईन् । ‘पालिकाको भेलाहरुले वडा तहको योजना निर्माणको काम शुरु भएको छ, उनले भनिन्, ग्रास रुटमा निक्कै समस्याको चाङहरु देखिएका छन्, सबै पालिकामा पुग्दा त्यसको प्राथमिकीकरण हुुनेछ ।’ शुरुमा जिल्ला कसमटिको बैठक राखिएको थियो, कार्ययोजना बनाईएको उनले बताईन् । पालिका कमिटिहरुको बैठक चलिरहेकोमा खाँदबारी, सभापोखरीमा बैठक सकिएको बि.कले बताईन् । बिशेषगरी वडा तहमा कार्यक्रम लग्ने योजना अनुसार पार्टीका बिचार जनतासम्म पुर्याउन पार्टीको अभियानलाई दुई महिनासम्म गाउँमै बसेर लाग्ने उनको भनाई छ । ‘प्रारम्भिक चरणमा खानेपानीका समस्याहरु प्रसस्तै आएका छन्, उनले भनिन्, नागरिकका समस्याहरु खोज्दै जाने क्रममा धेरै गुनासा राख्नु भएको छ, हामी अभियानमा हाम्रा कुराहरु पनि सुनाउँदै नागरिकका गुनासो टिप्दै हिँडेका छौँ ।’

संखुवाभाको पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, सिलिचोङ गाउँपालिका र खाँदवारी नगरपालिकामा एमालेले विष्णुमायाँ विक र टिकाराम चेम्जोङलाई केन्द्रीय प्रतिनिधि पठाएको छ भने चैनपुर नगरपालिका, धर्मदेबी नगरपालिका, मादीमा रमेश पौडेल तथा चिचिला, भोटखोला, मकालु गाउँपालिकामा पासाङ शेर्पालाई केन्द्रीय प्रतिनिधि पठाएर अभियान चलाएको छ ।

विकासका कुराहरु, स्थानीय आबश्यकताको कुरालाई दोश्रो चरणमा गम्भीर छलफल हुने अभियानमा खटिएका पासाङ शेर्पाले बताए । ‘कमिटिहरुको बैठक, पार्टी कामको तयारीमा ब्यस्त छौँ, उनले भने, जनसंगठनहरुको भेला सकिएपछि प्रशिक्षण हुन्छ, त्यो सकिएपछि जनतासँग अन्तर संवाद हुन्छ ।’

उनले स्थानीय पालिका सभा दल गठन गर्ने तयारी रहेको पनि जानकारी दिए । त्यो सभादलले निर्वाचित जनप्रतिनिधिले गरेको कामको अनुगमन र योजनाको बारेमा पनि चासो राख्ने शेर्पाले जानकारी दिए । अहिले तयारी बैठक र अभिमुखिकरण, प्रशिक्षण र भेला, पालिका सभा दल गठन, सभादल र स्थानीय जनप्रतिनिधिसँग छलफल, दोश्रो चरणको प्रशिक्षण सकिएपछि जनतासँग अन्तरसंवाद हुने शेर्पाले जानकारी दिए । भोलीको दिनमा संभावना बोकेका युवाहरुको नामावली पनि तयारीको काम भईरहेको उनले बताए ।

गाँजा खेतीलाई बैधानिकता दिन माग

विराटनगर । धनकुटाको शहिदभुमी गाउँपालिका गाँजा उत्पादन हुने पालिकाको रुपमा चिनिँदै आएको छ । हरेक बर्ष त्यस पालिकामा प्रहरी जाने गाँजा उत्पादन गर्ने किसानहरुको गाँजा प्रहरीले नष्ट गर्ने गरेको छ। यस पालिकामा गाँजा खेती हुने गरेको र जंगलमा समेत गाँजा लगाउने गरेको आधारमा प्रहरीले हरेक बर्ष गाँजा फँडानी गर्दै आएको छ। पछिल्लो समय नेकपा एमालेको ग्रासरुट अभियानमा गाउँ गाउँमा पुगेका केन्द्रीय नेतालाई शहिदभुमी गाउँपालिकाका स्थानीय नेता कार्यकर्ताले ब्यवसायीक गाँजा खेती गर्न पाउनु पर्ने माग राखेका छन् । आम्दानीको राम्रो श्रोत गाँजामा देखेका स्थानीयलाई आय आर्जनसँग जोड्न र गाँजा खेतीलाई बैधता दिने कानुनी ब्यवस्था मिलाउन स्थानीयले माग गरेको नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले जानकारी दिए। ‘शहिदभुमी गाउँपालिका स्थानीय नेता कार्यकर्ताले गाँजाखेती गर्न पाउनु पर्ने मागहरु एमालेको ग्रासरुट अभियानको छलफल गर्ने क्रममा आएको छ, उनले भने, यसलाई कानुनी रुपमा बैधता प्रदान गर्नका लागि त्यसको अगुवाई एमालेले गर्नुपर्ने मागहरु आएको छ।’ आर्थिक उपार्जन र आर्थिक समृद्धिसँग गाँजा खेतीलाई जोड्न सकिने स्थानीय नेता कार्यकर्ताले बताउँदै आएका छन् ।

शहिदभुमीमा गाँजा खेतीलाई बैधानिकता दिनु पर्ने माग आउँदै गर्दा छथर जोरपाटी गाउँपलिकाका किसानले भने तरकारीको लागि बजार खोजीदिन माग गरेका छन् । तरकारीकोलागि पालिका उर्बर रहेको बताएका किसानहरुले तरकारी जतिपनि उत्पादन गर्न सकिने भएपनि बजारीकरणको लागि समस्या रहेको बताए । ‘हामी तरकारी प्रसस्त उत्पादन गर्न सक्छौँ भनेर किसानहरुले भन्ने गर्नु भएको छ, घिमिरेले भने, तपाईँहरुले हामीलाई बिदेश निर्यातको बातावरण बनाई दिनु पर्यो ।’ धनकुटामा उत्पादित तरकारीलाई विदेश निर्यात गरेर डलर कमाउन सक्ने आत्मविस्वास बोकेर बसेका किसानहरु खाडी मुलुकमा समेत तरकारी निर्यात गर्न तयार रहेको बताएका छन् । त्यस्तै सुन्तला खेती प्रवद्र्धनकालागि चासो दिईनु पर्ने उनीहरुले बताउँदै आएका छन् ।

एमालेको ग्रासरुट अभियानको क्रममा धनकुटा जिल्लामा जिल्ला कमिटिको बैठक, प्रदेश कमिटि, जिल्ला कमिटि, पालिकाका पदाधिकारी, जनसंगठनका पदाधिकारीहरुसँग पहिलो अभिमुखिकरण सम्पन्न भएको छ। पालिका समितिका बैठकहरु बसेकाछन् । पालिकास्तरको अभिमुखिकरण सकिएको केन्द्रीय सदस्य घिमिरेले बताए । ‘१७ गतेदेखि वडा स्तरका बैठकहरु बसेका थिए, उनले भने, वडा अभिमुखिकरण सम्पन्न भएको छ। अब टोलमा गएर छलफलहरु शुरु गर्ने तयारी भईरहेको छ।’ अभियानको क्रममा एक हप्तासम्म पार्टी सदस्यता नविकरण र वितरण सप्ताह गरिने जनाईएको छ। मिशन ग्रासरुटले कार्यकर्तामा उत्साह प्रदान गरेको, तल्लो तहका समस्या सुन्ने सुनाउने काम शुरु भएको छ र पार्टी भित्रको अन्तरबिरोधको पहिचान र समाधानको कामहरु भईरहेको घिमिरेले जानकारी दिए ।

धनकुटामा नेकपा एमालेले छथर जोरपाटी र शहिदभुमी गाउँपालिका तथा धनकुटा नगरपालिकामा जीवन घिमिरे, चौविसे र सागुरीगढी गाउँपालिकामा मानबिर राई, पाख्रिबास नगरपालिका, महालक्ष्मी नगरपालिकामा लक्ष्मी गौतमलाई जिम्मेवारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार