बन्द समाधान होइन -कृस्ण हुमागांइ

0
SHARES
16
VIEWS

राज्यसत्ता चलाउनेहरुबाट आम जनतामाथि दमन, शोषण, उत्पीडन, अन्याय, अत्याचार र जङ्गली राज चलाउन थालेपछि जनताले त्यसको प्रतिवाद गरेका छन्, गर्छन । आन्दोलनका अनेक रुप र शैलीहरु हुन्छन्, आमहड्ताल बिगतमा पनि प्रयोग भएको बिषय हो । तर अन्तिम विकल्पको रुपमा । अहिले १ नं. प्रदेशको नामाकरण संसदको दुइतिहाई भन्दा बढीको बहुमतद्वारा कोशी प्रदेश भएको छ । जनताबाट चुनिएका प्रतिनिधिले बिधिपूर्वक गरेको काममा पनि बिरोध भइरहेको छ । यो कोशी प्रदेशको नाम कहिल्यै फेर्न नपाइने गरी राखिएको भने होइन । फेरि अर्को दुइतिहाइले यसको नाम परिवर्तन गरेर अर्कै राख्न पनि सक्दछ, त्यो बाटो भने खुल्ला छ । तर, यहाँ राज्य बिधिबाट चल्नुपर्छ भन्नेहरु नै त्यसको बिरोधमा छन् ।
कोशी प्रदेशको बिरोधमा रहेकाहरु २०७९ को चुनावमा जनताले नपत्याएका र झिनो मत मात्र पाएकाहरु मात्र संलग्न छन् भन्दा अत्योक्ति हुँदैन । चुनावमा जनताले भोट हालेका र पत्याएकाहरुले त जे गर्नुथ्यो, त्यो गरिसके बिधिपूर्वक । आन्दोलनरत पक्षहरुले यही मुद्दालाई लिएर जनताको बीचमा जाने र अर्को चुनावबाट दुइतिहाई ल्याएर नाम फेरे भैगयो नि ! किन जातालाई सास्ती दिनु ? यहाँको आम जनमत कोशी प्रदेश बाहेकको नामाकरणको पक्षमा हो भने आगामी चुनावमा जस्ले त्यो मुद्दा उठाउँछ, उसैले चुनाव जित्छ । अनि जनताबाट अनुमोदित भएपछि बिधिपूर्वक गर्दा भइगयो नि ! जे गर्नुपर्ने हो । कोभिडको मारमा, चर्को बैंक ब्याजदरको मारमा, चरम आर्थिक मन्दी र महङ्गीको मारमा परेका उद्योगी–ब्यवसायी, मजदुर, किसान र परिक्षाको मुखमा रहेका बिद्यार्थीलाई सास्ती दिने यस्तो बन्दले जनसमर्थन पाइदैन । जर्वजस्ती, लौरो देखाएर दवाबमा गरिएको बन्दले जनतामा त्यस्ता समूह र संगठनकाप्रति बितृष्णा फैलिन्छ भन्ने कुराको सम्बन्धितहरुले नै हेक्का राखुन् ।
कोशी प्रदेश नामाकरणमा एमाले, काँग्रेस, माओवादी र राप्रपाका सांसदहरुले आफ्नो मत जाहेर गरे । कोशी प्रदेश नाम पास पारित पनि भयो । नेकपा एस पार्टी र जसपाका गरी जम्मा पाँच प्रदेश सांसदको भने संसद्मा असहमति थियो । त्यसको बिरोधमा बन्द गर्दै हिडनेमा केही जातीय संगठन छन् । जस्ले निर्वाचनमा एक सिट पनि ल्याउन सकेनन् । उनीहरुले चुनावमा उममेदवार त उठाएका थिए । तर, जनताले उनीहरुले उठान गरेका मुद्दालाई भन्दा कोशी प्रदेश नामाकरणमा अहिले सहमति गर्ने दललाई नै पत्याए । उनीहरुले नै २०७९ को चुनाव जिते । लोकतन्त्रमा जनताबाट अनुमोदित शक्तिले बिधि बिधान बनाउँछ, राज्यसत्ता चलाउँछ । अन्यले चित् नबुझेको बिषयमा शान्तिपूर्ण बिरोध गर्न त पाइन्छ, तर जनतालाई असुविधा हुने काम गर्न, अशान्ति फैलाउन पाइन्न । ऊ २ नं. प्रदेशमा भोट जित्नेले मधेश प्रदेश नामाकरण गरे त ! देशका अन्य छ प्रदेशमा पनि पहचान र ऐतिहासिक निरन्तरताको नारा नलागेको कहाँ हो र ? मधेश बाहेक अन्त कतै नारामा उठान गरे अनुसारको नामाकरण त भएन नि ! अहिले ति सबै प्रदेशहरु शान्त छन्, दुईतिहाइको निर्णयलाई सबैले स्वीकारेका छन्् । त्यसैले यहाँ पनि यो सब बन्द, हडताल, चककाजाम, टायर पोल्ने काम छोडेर पहिचानको मुद्दालाई जनतामा स्थापित गर्ने तर्फ केन्द्रित हुँदै २०८४ सालको चुनाव जितेर आफूले चाहेजस्तो नामा राख्ने राजनीतिमा लाग्नु नै श्रेयष्कर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार