तत्कालिन गृहमन्त्री बालकृस्ण खांड अनुसन्धानको घेरामा

0
SHARES
9
VIEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि अनुसन्धानको घेरामा परेका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पुर्‍याउने योजना सहित सूची हेरफेर प्रकरणमा सबैभन्दा पछि गृह प्रशासनमा जोडिन आइपुगेका पात्र हुन्, टेकनारायण पाण्डे। गृह प्रशासनको अनुभव नै नभएका पाण्डेले तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको इच्छा अनुसार नै आफूले मानव तस्कर गिरोहलाई सघाएको प्रहरीलाई बताएका छन्।
यो गिरोहमा हालसम्म पक्राउ परेका आठ जनामध्ये पाण्डे सबैभन्दा ‘हाई प्रोफाइल’ व्यक्ति हुन्। उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते पक्राउ गरेको थियो।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सचिव पाण्डेले नै शुरूमा गिरोहका बिचौलिया समूहसँग मन्त्री खाणको भेट गराइदिएको देखिएको छ। “रामबहादुर थापा गृहमन्त्री छँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजीत राईको भूमिका पछि सचिव पाण्डेले निभाएको प्रमाणबाट खुल्छ,” यो प्रकरणको शुरूदेखि नै अनुसन्धान गरिरहेका ती प्रहरी अधिकृतले हिमालखबरसँग भने, “पाण्डेले भेट गराइसकेपछि भने गृहमन्त्री खाणले सोझै भेट्ने गरेका रहेछन्।”
पाण्डेको मोबाइलबाट समेत खाण यो प्रकरणमा प्रत्यक्ष जोडिएको ‘क्लू’ भेटिएको प्रहरी स्रोतको दाबी छ। वाट्सएप मार्फत गिरोहका बिचौलियासँग कुराकानी गर्दा पाण्डेले मन्त्री खाणको नाम बारम्बार लिएको भेटिएको जनाइएको छ। “यो प्रमाणलाई पुष्टि गर्ने गरी पाण्डेले गृहमन्त्रीको इच्छा अनुसार आफूले काम गरेको हामीसँग बताएका छन्,” ती प्रहरी अधिकृत भन्छन्। २०७५ सालदेखि गृह प्रशासनको मिलेमतोमा यो गिरोह सक्रिय भएको पनि अनुसन्धानबाट खुलेको छ।
नेपाली कांग्रेस नेता खाण पनि यो प्रकरणमा मुछिएको सूचना पाएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर अनुसन्धान ‘निष्पक्ष  हुनुपर्ने’ मा जोड दिएका थिए। एमालेका सचिव एवं पूर्व मन्त्री टोपबहादुर रायमाझीले पनि यो गिरोहलाई सघाएको भन्दै उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। आफ्ना सांसद विरुद्ध पक्राउ पूर्जी जारी भएपछि ओलीले दाहालसँग भेट गरेका हुन्।
२०७४ फागुन १४ देखि २०७८ असार २८ गतेसम्म रामबहादुर थापा गृहमन्त्री थिए। खाण २०७८ असारदेखि २०७९ पुस ११ गतेसम्म बादलको उत्तराधिकारी बनेर गृह सम्हाल्न आइपुगेका थिए। “बादलको तुलनामा निकै छोटो कार्यकाल गृह मन्त्रालयमा बिताएका खाणले गिरोहसँग बलियो उठबस गरेको देखिन्छ,” अनुसन्धानमा सामेल ती प्रहरी अधिकृत भन्छन्।
खाण गृहमन्त्री बनेको एक महीनापछि पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको सचिवबाट गृह मन्त्रालयमा सरुवा भएका थिए। २०५१ सालमा विद्यालय निरीक्षकबाट सरकारी सेवामा छिरेका पाण्डेले जागीरको लामो समय शिक्षा सेवामै बिताएका थिए। उनले गृह प्रशासनको अनुभव लिएको सचिव भएपछि मात्र हो।
प्रहरीद्वारा गिरोहको नाइके भनिएका केशव दुलाल र कांग्रेस नेताहरूको सम्बन्ध पुरानो छ। कांग्रेस नेता सुजाता कोइराला उपप्रधानमन्त्री छँदा दुलाल निजी सहायक थिए। अर्का आरोपित सागर थुलुङ मोरङको पथरी-शनिश्चरे नगरपालिका-१० को वडाध्यक्षमा कांग्रेसबाटै २०७४ सालको स्थानीय तह चुनावमा निर्वाचित भएका थिए।  
८७५ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको अनुसन्धानबाट खुलेको थियो। गृह मन्त्रालयले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा भुटानी शरणार्थी सम्बन्धी स्थायी समाधान पहिल्याउने भन्दै कार्यदल बनाएको थियो। कार्यदलले भुटानी शरणार्थीको अभिलेख राख्न सूची पनि बटुलेको थियो। यही प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपेर मानव तस्करी गरेर अमेरिका पुर्‍याउन खोजेको हो। यसका लागि प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म लिएको उजुरीमा उल्लेख छ।
केशव दुलाल, सन्देश शर्मा, सानुराम भण्डारी, टेक गुरुङ र सागर थुलुङले गृह प्रशासन, नेता र अमेरिका जान चाहनेबीच बिचौलियाको भूमिका खेलेको आरोप छ। यसमध्ये दुलाल र शर्मा गिरोहका मुख्य योजनाकार भएको प्रहरीको दाबी छ। दाङ, कास्की, झापा र मोरङका पीडित बढी छन्।
बिचौलियासम्म सरकारी कागजात पुर्‍याउन पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई र गृह प्रशासनको नेतृत्व गर्ने सचिवको भूमिका देखिएको प्रहरीको भनाइ छ। “छुटेकाहरूलाई फेरि दर्ता गर्न गृह मन्त्रालयले पटके निर्णय पछिसम्मै गरेको छ,” यो प्रकरणको अनुसन्धान शुरू गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसी भन्छन्, “सरसर्ती हेर्दा कारणवश सूचीमा समेटिन नसकेकाका लागि यति राम्रो निर्णय भए जस्तो देखिन्छ। तर, यसको उद्देश्य अर्कै रहेको अनुसन्धानले देखाउँछ। संगठित रूपमै पाँच वर्षदेखि यो काम भइरहेको पाइन्छ।”  
प्रहरीले यो अवधिमा गृहसचिव र गृहमन्त्री बनेका सबैलाई अनुसन्धानको दायरामा तानेको छ। यद्यपि प्रहरीले यथेष्ट प्रमाण भेटिसकेको छैन।
हिमालखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार