मणिपुरमा जातीय हिंसाले उग्र रुप लिए पनि नेपालीभाषीहरु सुरक्षित

0
SHARES
8
VIEWS

पूर्वीसीमा काँकडभिट्टाबाट ९७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिन यता जातीय हिंसाले उग्र रुप लिए तापनि त्यहाँका नेपालीभाषीहरु सुरक्षित रहेका छन् ।

कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो । जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कफ्र्यु लगाइनुका साथै हिंसा भड्किदा जनजीवन आतंकित बनेको छ ।

नेपालीभाषी भारतीय नागरिकहरु हिंसामा नपरेको इम्फाल निवासी एसके विश्वकर्माले टेलिफोन सम्पर्कमा बताउनुभयो । “चौबीसै घण्टा कफ्र्यु लगाइएको छ, यहाँको सडकमा सुरक्षाकर्मीहरुले गस्ती गरिरहेका छन्,” उहाँले भन्नुभयो–“हाम्रो नेपालीभाषी दाजुभाइ दिदीबहिनीहरु कोही पनि सडकमा निस्कनु भएको छैन । कुनै पनि नेपाली वस्तीमा हिंसा भएको जानकारी आएको छैन ।”

उहाँका अनुसार उत्तरपूर्वी भारतको पहाडी राज्य मणिपुरमा ५० हजारको संख्यामा नेपालीभाषीको बसोबास रहेको छ । उनीहरु अधिकांश खेतीपाति र केही व्यापार गर्छन् । थोरैले राज्यको नोकरी पनि गरिरहेका छन् ।

नेपालबाट घुम्न वा आफन्त भेटघाटका लागि मणिपुर आउजाउ हुने गर्दछ । तर, अहिलेसम्म नेपाली नागरिकहरु पनि हिंसाको चेपुवामा परेको जानकारी नभएको विकले बताउनुभयो ।

पूर्वीनाका काँकडभिट्टाबाट मणिपुरका लागि यातायातको टिकट काट्ने काम गर्दै आउनु भएको नेपाल यात्रु सेवाका सञ्चालक सुशिल प्रधानले सीमावर्ती पानीटंकीबाट इम्फाल जाने कुनै पनि सवारी साधन नचलेको जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतीय नाका पानीटंकीबाट आसामको राजधानी गुवाहाटी हुँदै र सिधै इम्फाल जाने यात्रुवाहक सवारी साधनको नियमित सेवा छ । साताको दुई पटक मात्र इम्फालका लागि पानीटंकीबाट यात्रुवाहक गाडी पाइने र सिधा यात्राको भाडादर प्रति व्यक्ति भारु. तीन हजार २०० रहेको उहाँले बताउनुभयो ।

पूर्वोत्तर भारतको आसाम, मेघालय र नागालेन्डमा रोजगारी र घुमफिरका लागि नेपालीहरु बाक्लै जाने गर्छन् । तर, मणिपुर जानेको संख्या अत्यन्त न्यून हुने गरेको काँकडभिट्टास्थित ओम आशिष ट्राभल्सका सञ्चालक नेत्र कार्कीले बताउनुभयो ।

“मणिपुरमा घुम्नलायक धेरै ठाउँ छैनन्, हिन्दू धार्मिक स्थल पनि छैनन्,” उहाँले भन्नुभयो–“कोही कोही आफन्त भेटघाटका लागि र केही चाहिँ बर्माको सीमा हेर्न जाने गर्छन् । एकदमै थोरै संख्यामा त्यहाँको होटलमा रोजगारीका लागि नेपालीहरु जाने गरेको पाइएको छ ।”

मणिपुरको चारहजारे, कांगलतुम्बी, सेकमाई लगायत राजधानी इम्फालका केही वस्तीमा नेपालीको वाहुल्य छ । त्यहाँका नेपालीहरु माृतभाषामा माध्यमिक तहसम्मको अध्ययन गर्दछन् । आसामको गुवाहाटी र नागालेन्डको डिमापुर हुँदै रेल यात्रा गरेर समेत मणिपुर पुग्न सकिन्छ । नेपालबाट मणिपुर जाने एक मात्र स्थलनाका काँकडभिट्टा नै हो ।

काँकडभिट्टास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक भारतीले मणिपुरको हिंसाका कारण नेपालीहरु त्यहाँ अप्ठेरोमा परेको भन्ने कुनै जानकारी नआएको बताउनुभयो । नाकामा चेकजाँच हुँदा आधारकार्ड देखाएर भारतीय नागरिकहरुले नेपाल प्रवेश गर्न पाउँछन् ।

“चेकजाँचका क्रममा अहिलेसम्म कसैले पनि मणिपुरमा समस्या परेर आएको भनेका छैनन्,” प्रहरी नायव उपरीक्षक भारतीले भन्नुभयो–“भारतीय सीमावर्ती सुरक्षा निकायका प्रमुखहरुसँग पनि सम्पर्क भइरहेकै हुन्छ । उहाँहरुले पनि भारतमा कुनै समस्या भयो भने हामीलाई जानकारी गराउने चलन छ । अहिलेसम्म नेपालीहरु मणिपुर हिंसामा परेको कुनै जानकारी छैन ।”loktantrapostbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार