कामीको छोरासँग जाने अनि ठूला कुरा गर्ने ?’…माइती पक्षबाट निरन्तर दवाब

0
SHARES
27
VIEWS

कैलालीका सुरेश विश्वकर्मा र सरस्वती खड्काबीच छ महिनाअघि भागी विवाह भएको थियो । विद्यालय पढ्दादेखि नै आफूहरूले एक–अर्कालाई मन पराउने गरेको र घरपरिवारको सल्लाहमा विवाह सम्भव नभएपछि भागी विवाह गरेको उनीहरूले सुनाए ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरस्वती र सुरेशले भागी विवाहपछि आफूहरूमाथि निरन्तर माइती पक्षबाट शारीरिक र मानसिक यातना दिने काम भएको बताएका हुन् । आफ्ना बुबाले प्रेमी सुरेशलाई पशुपतिको जंगलमा लगेर कुटपिट समेत गरेको सरस्वतीको दाबी छ ।

स्नातक तहमा अध्ययन गरिरहेकी सरस्वतीले परीक्षा दिन जाँदा भागी विवाहपछि पहिलो पल्ट रत्न राज्यलक्ष्मी (आरआर) कलेजको गेटमा आफ्नो बुबालाई भेट्टाएको स्मरण गरिन् । त्यसपछि बुबाले सञ्चो–विसञ्चो सोधेको र गलत निर्णय लियौ भनेर सम्झाएको उनको भनाइ छ । त्यसपछि बुबाले कोठामा लिएर गएको र सरसल्लाहका लागि सुरेशलाई पनि बोलाएको उनले सुनाइन् ।

त्यसपछि उनले सुरेशलाई पनि सरसल्लाहका लागि बोलाइन् । भक्तपुर बस्ने सुरेश पनि आएपछि बुबाले कुराकानीकै क्रममा हिँड्दैगर्दा पशुपतिको जंगलतिर लगेको उनले बताइन् । पशुपतिमाथिको जंगलमा लगेर सुरेशलाई भाई र बुबा भएर कुटपिट गरेको सरस्वतीको आरोप छ । उनीहरूले केटा दलित भएकै कारण कुटपिट गरेको सरस्वतीको भनाइ छ ।

‘कुराकानीकै क्रममा बुबाले मिठो मिठो कुरा गर्दै हिड्दैहिँड्दै पशुपतिको माथिको जंगलतीर लानुभयो । जब जंगलको बीचमा पुगेपछि मेरो भाई र बुवा भएर मेरो श्रीमान्लाई हातपात गर्नुभयो । सबै कुरा मिलाउँछु र तिमीहरूले जे गरे पनि ठिकै छ, जे नहुनु थियो, गरिहाल्यौ भन्दै सम्झाएको मान्छेले एक्कासी जंगलको बीचमा लगेर कुटपिट गर्न थालेपछि म चिच्चाएँ,’ उनले भनिन् ।

कुटपिटको घटनापछि आफूहरू असार २६ गते गौशला प्रहरी चौकीमा उजुरी लिएर गएको उनले बताइन् । उनले गौशला प्रहरीमा गएर राजीखुशीले अन्तरजातीय विवाह भएको र विवाह गरेकै कारण श्रीमानमाथि बुबा र भाईबाट कुटपिट भएको सुनाएको बताइन् । उनले आफ्नो पीडा सुनाएपछि प्रहरीले उल्टो ‘खड्काकी छोरी भएर कामीको छोरासँग जाने अनि ठूला कुरा गर्ने ?’ भन्दै थर्काएको बताइन् ।

भागी विवाहपछि माईती पक्षले कालोपुलको मच्छेगाउँ प्रहरीमा हराएको उजुरी दिएकाले गौशला प्रहरीले अपमानजनक व्यवहारपछि त्यहाँ पठाएको उनले बताइन् । मच्छेगाउँ प्रहरीले सहयोग गर्नुको साटो झन् टर्चर दिएर बिनाकारण एक रात थुनामा राखेको उनले बताइन् । साथै, सुरेशको परिवारमा पनि माइती पक्षले निरन्तर टर्चर दिएको उनीहरूको अरोप छ ।

माइती पक्षले बारम्बार धम्की दिने र कोठामा गएरै तालाचाबी फोड्नेसम्मको हर्कतपछि अहिले गाउँकै भाई पर्नेको कोठामा शरण लिएर बसेको सरस्वतीले बताइन् । सरस्वतीले आफू र आफ्नो श्रीमानलाई सुरक्षित बाँच्न पाउने वातावरण मिलाइदिन सरोकारवालसमक्ष आग्रह गरेकी छिन् ।

गौशला प्रहरी, माली गाउँ र जगाती प्रहरी कार्यालयले आफूहरूलाई उजुरी लिएर जाँदापनि उल्टै हीनताबोध हुने कुरा गरेर पठाएको उनको आरोप छ । कानुनमा अन्तरजातीय विवाहमा विभेद नभएपनि आफूहरूले प्रहरी प्रशासनबाट समेत विभेद सहन परेको उनीहरूको गुनासो छ ।

‘समस्या पर्दा प्रहरीहरूले सहयोग गर्छन्, प्रहरीकोमा जानुपर्छ भन्ने हाम्रो मनमा धारणा हुन्छ । तिमीलाई अलिकति पनि लाज लाग्दैन ? तिमी मेरो प्रेमी हो, मैले विवाह गरेर आएँ भन्दैछौं तर तिम्रो एकछिनको रोमान्समात्रै हो । जिन्दगी चल्दैन भनेर मलाई भन्नुभयो,’ उनले भने ।

दलितका लागि दलित अभियानका प्रकाश विकले अन्तरजातीय विवाह पनि सामन्य प्रक्रिया हो भन्ने सन्देश दिन आवश्यक रहेको बताए । जातीय आधारमा हुने विभेदलाई सञ्चार माध्यमहरूले पनि प्राथमिकता दिनपर्ने उनको भनाइ छ । जातीय विभेद उन्मुलनका लागि सुरेश र सरस्वती सकारात्मक पात्र भएको उनको दाबी छ ।

दलितका लागि दलित अभियानका राजु सुनुवारले समाजले कोल्टे फेरिसक्दा पनि जातीय समस्या जस्ताको तस्तै रहेको बताए । दुर्गम वस्तीमामात्रै भएर काठमाडौंमा समेत जातीय विभेदको हैरानी खेप्नुपरेको उनको भनाई छ । जातीय नरसंहार निम्त्याउने प्रयास कसैले पनि गर्न नहुने बताए । जातीय विभेदमा राज्य संयन्त्र काहीँ पनि नदेखिएको उनको आरोप छ ।dainiknepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार