तरकारी खेती गरेरै छोरालाई कम्प्युटर इन्जिनियर… राम्रो आम्दानी गर्दै महतो

0
SHARES
11
VIEWS

रौतहटको चन्द्रपुर नगरपालिका–५ थलाहीटोलका राजेन्द्र महतोले लामो समयदेखि जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। अर्काको एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएका उनले तरकारी खेतीबाट राम्रो आम्दानी गर्छन्।

५१ वर्षीय महतोले डेड बिघा क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन्। यसअघि उनले सर्लाहीको मुर्तियामा २० बिघा क्षेत्रफलमा उखु लगाएका थिए। तर, मिलले समयमा उखु खरिद नगरेपछि सात वर्षअघि उनी रौतहट आएर तरकारी खेतीमा लागेका हुन्। महतोले सर्लाहीमा समेत अर्काको खेत भाडामा लिएर उखु खेती गरेका थिए। सर्लाहीमा ऋणमा डुबेर रौतहट आएका महतोले अहिले भने तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेका छन् ।

तरकारी खेती गरेरै महतोले एउटा छोरालाई कम्प्युटर इन्जिनियर बनाए, छोरीको विवाह गरे र एउटा छोरालाई काठमाडौंको निजी कलेजमा पढाउँदै आएका छन्। तरकारी खेतीबाट उनले मासिक ७० हजारको हाराहारीमा बचत गर्ने गरेको बताए। उनले चार, पाँचजना कर्मचारी राखेर व्यावसायिक तरकारी खेती गरेका छन्।

बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म आफ्नै तरकारी बारीमा काममा व्यस्त रहने महतोले सात वर्षमा अहिलेसम्म कुनै अनुदान भने पाएका छैनन्। एक रुपैयाँ अनुदान त परको कुरा उनले बिउबिजनसमेत नपाएको गुनासो गरे। आफ्नो तरकारी बारीको फोटो खिचेर लगेर अनुदान लिने ‘झोले किसान’को संख्या भने धेरै रहेको भन्दै उनले दिक्दारी सुनाए। ‘नगरपालिकाका कर्मचारी आएर राम्रो गरेका रहेछौ त भन्छन्, तर कुनै सहयोग गर्दैनन्,’ उनले भने।

केही समयअघि चन्द्रपुर नगरपालिकाको अनुदानमा एक व्यक्तिले आफ्नो बारीमा टनेल बनाइदिएर आफूसँग उल्टै ३० हजार रुपैयाँ मागेको महतोले सुनाए। ‘७० हजार पनि नपर्ने टनेलको बिचौलियाले नगरपालिकाबाट दुई लाख निकासा गरेको सुनेको छु,’ उनले भने।

किसान मारमा परे पनि व्यापारी र बिचौलियाले भने कामै नगरी पैसा कमाउने गरेकोमा महतोको असन्तुष्टि छ। आफ्नो बारीबाट परबल ६० रुपैयाँ प्रतिकिलोमा लगेर बिचौलियाले बजारमा ८० देखि ९० रुपैयाँसम्म बेच्ने गरेको उनले सुनाए। नेपालमा तरकारीको बिउ, किटनाशक औषधि र मलखाद अभाव तथा महँगो भएकाले आफूले भारतको घोडासानबाट ल्याउने गरेको उनको भनाइ छ।

बैंकले पनि सक्कली किसानभन्दा ‘झोले किसान’लाई सहुलियतको ऋण दिने गरेको महतो बताउँछन्। ‘मेरै तरकारी बारीको फोटो खिचेर लान्छन् अनि सहुलियतको ऋण र स्थानीय तहको अनुदान लिन्छन्,’ उनले भने, ‘यो कुरा थाहा पाएपछि मैले मेरो बारीमा आएर कसैलाई पनि फोटो खिच्न दिने गरेको छैन।’nayapatrika bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार