‘एपिक ब्याग्स नेपालको ब्रान्ड फैलाउन लागिपरेका दौलतराज

0
SHARES
6
VIEWS

एपिक’ — नाम अंग्रेजी भए पनि यो नेपाली ब्रान्ड हो।

दौलतराज श्रेष्ठले पाँच वर्षअघि सुरू गरेको कम्पनी ‘एपिक ब्याग्स नेपाल’ ले झोला बनाउँछ।

एपिकअन्तर्गत अहिले तीन थरी ब्याग पाइन्छन् — युथ, डफल र फ्यान्टम।

यी ब्याग विद्यालय, क्याम्पस, कार्यालय र यात्राका लागि लक्षित छन्।

युथ (युवा) ब्याग कम्पनीको सुरूआती उत्पादन हो। यसअन्तर्गत पनि कम्पनीले तीन थरीका ब्याग बनाउँछ – स्ट्रेट चेन, स्लान्ट्रेट चेन र टाइप थ्री। तीनै थरी ब्याग ‘कोद्रा’ कपडाबाट बन्छ। यसलाई बलियो खालको नाइलन कपडा भन्न सकिन्छ। युथ डिजाइनका तीनवटै ब्यागको मूल्य एक हजार पाँच सय रूपैयाँ छ।

‘एपिकका उत्पादनमध्ये यो ब्याग धेरैको रोजाइमा परेको छ,’ दौलतले भने।

Laxmi bank
डफल ब्यागअन्तर्गत ‘ट्राभल ब्याग’ बन्छ। यो ब्याग यात्रा र ट्रेकिङका लागि बढी उपयोगी छ। अरूमा भन्दा यसमा धेरै कम्पार्टमेन्ट (खण्ड) छन्। यी खण्डमा सामान छुट्ट्याएर राख्न सजिलो हुन्छ। यसको मूल्य पनि हाल एक हजार पाँच सय रूपैयाँ छ। त्यस्तै ‘फ्यान्टम ब्याग’ पनि हाइकिङ र यात्राका लागि लक्षित छ।

‘एपिकका उत्पादन किफायती मूल्यमा पाइन्छ। खासमा पाँच वर्षअघिकै मूल्य छ। उत्पादनको गुणस्तरको बढेको छ तर मूल्य बढेको छैन,’ दौलतले भने।

The web
epic-(2)-1695148007.jpg

कम्पनीले हालै बिजनेस सिरिजका ब्याग पनि बजारमा ल्याएको छ। यसअन्तर्गत महिला र पुरूष दुवैका लागि ‘टोट ब्याग’ र ‘अफिस ब्याग’ छन्।

झोला बनाउन कपडा, बकल (क्लिप), चेन, भित्री भागमा प्रयोग हुने कपडा, फित्ता लगायत सामग्री चाहिन्छ। दौलतले यी सामान काठमाडौंका विभिन्न ठाउँबाट जुटाउँछन्।

‘हाम्रो कम्पनीका ब्याग टिकाउ हुन्छन्। किनेको एक वर्षसम्म कुनै मर्मत आवश्यक भए कम्पनीले नै गरिदिन्छ,’ उनको दाबी छ।

दौलत नयाँ डिजाइन परीक्षण गरेर मात्र झोला बजारमा पठाउँछन्। झोलामा सामान राखेर उचाल्छन्, बोक्छन्। ट्रेकिङ जाने साथीलाई दिएर पनि परीक्षण गराउँछन्। यसरी परीक्षण गर्दा कुनै कमजोरी देखिए सुधार गरेर मात्र बजार पठाउने उनले बताए।

एपिकले संघसंस्थाहरूको मागअनुसार पनि उत्पादन गर्छ। कतिपय संघसंस्थाले आफ्ना ठूला बैठक, अधिवेशन जस्ता अवसरमा ब्याग अर्डर गर्छन्। यस्तो अर्डर हुँदा एपिकले कुनै महिना बढीमा मासिक पाँच हजार वटासम्म झोला उत्पादन गरेको छ। सामान्य अवस्थामा योभन्दा कम उत्पादन हुन्छ।

झोला बनाउन उनले चारजना कर्मचारी राखेका छन्।

पहिले एपिकको व्यवस्थापनमा दौलतलाई अरू दुई साथीको पनि साथ थियो। समयसँगै उनका एक साथी अर्कै क्षेत्रमा लागे, अर्का विदेश जाने तयारीमा छन्। त्यसैले अहिले सबै काम दौलत एक्लै हेर्छन्।

‘पढाइ पनि सँगै लैजानुपर्ने भएकाले एपिकलाई समय दिन सकेको थिइनँ,’ उनले भने, ‘अब अरू डिजाइनका झोला ल्याएर बजार बढाउने सोच छ।’

सरकारी सेवामा प्रवेश गर्ने सोचमा रहेका दौलत संयोगले व्यवसायी बनेका हुन्।

बिबिए पहिलो वर्षका विद्यार्थी छँदा ‘प्रोजक्ट वर्क’ मा तीन जना सहपाठी मिलेर ब्याग बनाउने सोचे। दौलतका एक साथीका बुबा ब्यागको व्यवसाय गर्थे। उनको आफ्नै कारखाना पनि थियो। दौलत र उनका साथीहरूले त्यहीँ ५० वटा झोला बनाएर कलेजमा देखाए।

साथी र शिक्षकहरूले ती झोला मन पराए। किने पनि। बिना कुनै अध्ययन-अनुसन्धान उत्पादन गरेको भए पनि कलेजमा सबैले राम्रो भने। कतिपयले ब्याग उत्पादनमा लाग्न सल्लाह दिए।

उनीहरू पनि उत्साहित भए र व्यावसायिक रूपमा काम सुरू गरे। आफ्नै ब्रान्ड बनाएर अघि बढ्ने सल्लाहअनुसार तीन जनाले ‘एपिक’ नाम जुराए। लोगो बनाए। यसको लोगो नेपाली अक्षर ‘ए’ छ। त्यसको ठीक तल अंग्रेजीमा ‘एपिक’ लेखिएको छ।

epic-(1)-1695148007.jpg

पहिलो खेपमा साथीको बुबाकै कारखानाबाट सय वटा झोला बनाए। यसपछि कलेज सिरिजअन्तर्गत डफल ब्याग, क्यामरा ब्याग, टोट ब्याग लगायत एकै पटक ६ डिजाइन तयार गरे।

‘हामी सबै विद्यार्थी भएकाले आफूलाई कस्तो झोला ठीक हुन्छ भन्ने सोचेर डिजाइन गरेका थियौं,’ उनले भने।

एक वर्षमा एक हजार पाँच सय वटा झोला बनाएर बेचे। तर उनीहरूको उत्साहअनुसार राम्रो प्रतिक्रिया पाएनन्।

उनीहरूले बुझे — उत्पादन गुणस्तरीय भएन।

यसपछि उनीहरू केही कारखाना र पसल घुमे। बजारबारे केही देखे-बुझेपछि गुणस्तरीय कपडा खोजेर अलि व्यवस्थित तरिकाले उत्पादनमा लागे।

सुरूमा तीन जनाले ४० हजार रूपैयाँका दरले एक लाख २० रूपैयाँ हजार जुटाए। चारवटा मेसिन किने र उत्पादन थाले। बजारमा पुर्‍याउँदै गए। सुरू गरेको दुई वर्षपछि काठमाडौंको सानोभर्‍याङमा कारखाना राखे। आफ्नै कारखाना भएपछि ग्राहकहरूको प्रतिक्रियाअनुसार सुधार गर्दै गुणस्तर बढाउँदै लगे।

‘सुरूमा बजार नबुझी एकैपटक धेरै डिजाइनका ब्याग बनाउँदा धोका खायौं। त्यसैले बिस्तारै डिजाइन घटायौं। थोरै डिजाइनमा गुणस्तरीय उत्पादन गर्ने सोचले अघि बढ्यौं,’ उनले भने।

उनीहरूको यो रणनीतिले काम गर्‍यो। अनलाइन बिक्रीका लागि फेसबुक र इन्स्टाग्राम पेज बनाए। माग बढ्न थाल्यो। आफ्नो ब्रान्ड चिनाउन तीनै जना लागे।

काम अघि बढ्दै थियो, त्यही बेला कोरोना महामारी फैलियो। लकडाउनले बजार ठप्प भएपछि उत्पादन बन्द गरेर डिजाइनमै लागे उनीहरू। कोरोना कम हुँदै गएपछि फेरि उत्पादन सुरू गरे।

यसरी अघि बढेको कामबाट दुई जना साथी छुटे पनि दौलत आत्तिएका छैनन्। कलेजको ‘प्रोजेक्ट वर्क’ बाट सुरू भएको व्यवसायलाई ब्रान्ड बनाएर फैलाउन लागि परेका छन्।

daulat-1695148007.jpg

अहिले उनले कारखाना तारकेश्वर–७ स्थित आफ्नै घरमा सारेका छन्। डिजाइन र उत्पादनमा परिवारका सदस्यले सघाउँछन्।

एपिकको आधिकारिक फेसबुक र इन्स्टाग्रामबाट झोला अर्डर गर्न सकिन्छ।

हाल एपिकका झोला काठमाडौं उपत्यकासँगै विराटनगर, झापा, पोखरा, चितवन लगायत सहरमा पुगेको छ।

काठमाडौं छिट्टै पसल खोल्ने योजना दौलतले बनाएका छन्।

‘एपिकलाई स्वदेशी ब्याग भनेर चिनाइसकेका छौं। बजार पनि बढेको छ,’ दौलतले भने, ‘आत्मविश्वासका साथ अघि बढेको छु। राम्रो ब्याग भनेको एपिक नै हो भनेर जिब्रोमै झुन्डिने बनाउनु छ।’setopati bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार