यु आर नट गोइङ टु बिलिभ दिस — बिहान कक्षा सकिएपछि साथीले पठाएको यस्तो मेसेज देखेँ।
मैले विश्वास नगर्ने त्यस्तो के घटना थियो भन्ने उसले लेखेको थिएन।
ह्वाट इज इट — हतारहतार सोधेँ।
केही समयअघि उसको बरन्डामा कपाल बाँध्ने हेयरब्यान्ड, चकलेट/चुइङगमका रंगीन खोल र अन्य कुराहरू थुप्रिएछन्।
हावाले उडाएर ल्याएको होला भनेर उसले सिनित्त सफा गरेछ। फेरि एक/दुई सातामै धेरै नै सामान जम्मा भएछ। उसले ती चिजहरू फेरि फ्याँक्यो। अनि यस्ता सामान कसरी आए भनेर उसले दिनभरि जसो बरन्डा नियालेर बस्यो।
धेरैबेरपछि बरन्डामा एउटा चरा आइपुग्यो। चराले नीलो रङको हेयरब्यान्ड आफ्नो चुच्चामा बोकेर आएको थियो।
Laxmi bank
त्यही भएर साथीले मलाई भनेको रहेछ — मेरो बरन्डामा कसले फोहोर जम्मा गरेको भनेर तिमी पत्याउँदैनौ होला!
खासमा उसले चराहरूका लागि घरमा फिडर (खाने कुरा/ वा पानी राख्ने भाँडो) राखेको थियो। फिडर राखेको केही दिनपछि उसको बरन्डामा हेयरब्यान्ड र चकलेटका खोल देखिन थालेका थिए। यो हर्कत चराको हो भन्ने थाहा पाएर ऊ जसरी चकित भएको थियो, म भने भइनँ।
The web
साथीलाई मैले भनेँ — उसले तिमीलाई ‘रिटर्न गिफ्ट’ ल्याइदिएको नि!
‘के को?’
‘तिमीले उसका लागि फिडर राखिदियौ भनेर उसले तिमीलाई उपहार दिएको,’ मैले भनेँ, ‘सायद चरालाई थाहा हुनुपर्छ, सधैं अरूको लिन मात्र हुँदैन। कहिलेकाहीँ दिनु पनि पर्छ भनेर।’
चराको त्यस्तो बुद्धि पनि हुन्छ र — तपाईंहरू धेरैले पनि मेरो साथीले झैं प्रश्न गरिसक्नुभयो होला।
यसको जवाफ — हो। चराको पनि बुद्धि हुन्छ।
आज म चराको बुद्धिकै बारेमा कुरा गर्दैछु।
हुन त पश्चिमी समाजमा कसैलाई ‘बेवकुफ’ भन्नुपर्यो भने ‘बर्ड-ब्रेन’ शब्दावली प्रयोग गरिन्छ। चराको जस्तो बुद्धि नभएको भन्न खोजिएको हो। हाम्रोतिर ‘उल्लू’ भने जस्तै।
बुद्धि वा बौद्धिक क्षमताको परिभाषा फरकफरक होलान्। साधारण अर्थमा भने, कुनै कुरा सिक्न सक्ने वा जटिल कुरा योजनाबद्ध रूपमा समाधान गर्न सक्नु नै बौद्धिक क्षमता हो। बुद्धि भएको हुनु हो।
वैज्ञानिक अध्ययन अगाडि बढ्दै जाँदा योजना बनाउने, सोच्ने, समस्या समाधान जस्ता कुरा गर्न मान्छेको दिमागमा ‘नियोकोर्टेक्स’ क्षेत्र हुन्छ भन्ने पत्ता लाग्यो। यो अध्ययन हुँदै गर्दा चराहरूमा धेरै अध्ययन भएको थिएन। चराको दिमागी आकार यति सानो हुन्छ कि उनीहरूमा मान्छेको जस्तो नियोकोर्टेक्स हुँदैन भन्ने भयो। त्यसैले चरा बाठा हुँदैनन् भन्ने लाग्दै आयो।
केही वर्षयता चराहरूको दिमागमा पनि ‘नियोकोर्टेक्स’ जस्तै काम गर्ने ‘प्यालियम’ पाइएको छ। चराको प्यालियम मान्छेको नियोकोर्टेक्स जस्तै ६ वटा तहको संरचना त हुँदैन। तर यसको काम समान प्रकृतिको भएको अध्ययनले देखाएका छन्।
अब दिमागको विज्ञानलाई यतै छाडेर चराहरूको बौद्धिक क्षमताकै कुरा गरौं।
चराहरूको वा चरा अध्ययनको समाजमा ‘एलेक्स’ नामको ‘अफ्रिकन सुगा’ प्रख्यात छ।
डाक्टर आइरिन पेपरवर्गको तीस वर्ष लामो अध्ययनको विषय बनेको त्यो सुगाले चराहरूको बुद्धिबारे पत्ता लगाउन निकै योगदान गरेको छ। डा. पेपरवर्गले एलेक्सलाई सिकागोको एउटा ‘पेट-शप’ (घरपालुवा जनावरको पसल) बाट किनेकी थिइन्।
त्यो सुगाको वास्तविक नाम ‘एभियन लर्निङ एक्सपियरिमेन्ट’ थियो। यसैलाई छोटो बनाएर एलेक्स भनियो।
डा. पेपरवर्गले एलेक्सलाई ल्याब (प्रयोगशाला) मा लगेर आफ्ना सहकर्मीसँग कुरा गरेको देखाउँदै तालिम दिएकी थिइन्। एलेक्सलाई विभिन्न वस्तुको रङ, मात्रा, गुणस्तर र संख्या गन्न आउँथ्यो। सय वटाभन्दा धेरै शब्द आउँथ्यो। त्योभन्दा पनि रमाइलो त, उसलाई शून्यको अवधारणा थाहा थियो।
Photo1-1696525307.jpgडाक्टर आइरिन पेपरवर्ग र एलेक्स
Photo-2-1696525307.PNG
परीक्षणका क्रममा एलेक्सलाई साँचोको झुप्पा देखाउँदा भन्थ्यो रे — यो त साँचो हो। यसमा यतिवटा साँचो छन् पनि भन्थ्यो। त्यो प्लास्टिकको साँचो हो कि फलामको भनेर छुट्ट्याउन सक्थ्यो। त्यति मात्र होइन, ती दुई बीचको भिन्नताबारे भन्न सक्थ्यो।
डा.पेपरवर्ग लेख्छिन्, ‘यस्तो परीक्षणको क्रममा नियमित रूपमा उस्तै प्रश्न सोधेको सोध्यै गर्दा उसलाई अल्छी लागेर जानीजानी गलत उत्तर पनि दिन्थ्यो। र, कहिलेकाहीँ त उल्टै आफैं प्रश्न सोध्यो।’
पेपरवर्गले एकपटक एलेक्स सुगालाई उसकै बारेमा सोधेकी थिइन्। उसले ऐनामा हेरेर ‘ह्वाट कलर’ भनेर उल्टै प्रश्न सोध्यो रे!
यो मानवबाहेक, पशुपन्छीले प्रश्न सोधेको पहिलोपटक थियो। र, अहिलेसम्म पनि एउटै मात्र उदाहरण हो।
धेरै वर्षसम्म सांकेतिक भाषा सिकाइएका प्राइमेट (बाँदर तथा एपहरू) ले पनि अहिलेसम्म आफैं प्रश्न सोधेका छैनन्। एलेक्सलाई लगभग ६ चोटि जति ‘ग्रे’ भनेर सिकाएपछि उसले आफ्नो रङ खरानी हो भन्न जानेछ।
सन् २००७ मा असामयिक रूपमा एलेक्सको मृत्यु भयो।
डा. पेपरवर्गले हरेक रात एलेक्सलाई आफ्नै घरमा राख्थिन्।
त्यो बेला एलेक्सले भन्थ्यो — यु बी गुड। सी यू टुमरो। आइ लभ यू।
त्यो रात पनि पेपरवर्गलाई भनेछ — सी यू टुमरो। आइ लभ यू।
यति भनेर सुत्न गएको एलेक्स भोलिपल्ट उठेन।
संसार छाडेर गए पनि एलेक्सले आफ्नो विरासत वैज्ञानिक समाजमा कायम राखेर गएको छ। अर्निथोलोजी (चरा विज्ञान) मा उसको बुझाइले आफ्नै ठाउँ बनाएको छ। यता डा. पेपरवर्गले पनि आफ्नो अध्ययन अरू सुगाहरूमार्फत कायम नै राखिन्।
चराहरूको संसारमा एलेक्स जस्तै अर्को प्रख्यात चरा हो — ००७। अर्थात् डबल ओ सेभेन।
डबल ओ सेभेन एउटा न्यू-क्यालेडोनियन क्रो (काग) को नाम हो। प्रख्यात बेलायती जासुस ‘डबल ओ सेभेन’ ले आफूलाई दिएको काम पूर्ण सफलताको साथ सक्थे रे। यो कागले पनि त्यस्तै काम गर्ने भएकाले उही नाम राखिएको रहेछ।
photo-3-1696525308.jpgडबल ओ सेभेन
एलेक्स जस्तै डबल ओ सेभेनले चराहरूको बौद्धिकताबारे वैज्ञानिकहरूलाई धेरै बुझाएको छ। चराहरूमा सोच्न सक्ने क्षमता वा केही कुराको योजना बनाउन सक्ने क्षमता हुँदैन भन्ने मान्यतालाई डबल ओ सेभेनले गलत सावित गरिदिएको छ।
डाक्टर एलेक्स टेलरले डबल ओ सेभेनलाई आफ्नो अध्ययनको क्रममा विभिन्न चुनौती दिन्थे। उसले मानिसले झैं सोचेर एक-दुई कदम अगाडिको योजना बनाएर समाधान गरेर देखाइदिएको थियो। उसले गरेको यो चुनौतीको समाधान बिबिसीको एउटा वृत्तचित्रमा देखाइएको छ।
त्यो चुनौतीमा डबल ओ सेभेनलाई आठ कदमको एउटा पजल दिइन्छ। एउटा सिसाको बट्टाभित्र सानो टुक्रा मासु राखिएको हुन्छ। तर त्यो मासुसम्म पुग्न उसले एउटा सानो लठ्ठी प्रयोग गर्नुपर्ने हुन्छ। त्यो लठ्ठी फेरि अर्को सिसाभित्र हुन्छ। त्यो लठ्ठी झिक्न डबल ओ सेभेनले ढुंगा प्रयोग गर्नुपर्ने हुन्छ। त्यो पनि तीनवटा। अनि ती ढुंगा झिक्न पनि उसले एउटा सानो लठ्ठी प्रयोग गर्नुपर्ने हुन्छ।
यो चरणबद्ध पजल उसलाई पहिलोपटक दिइएको हुन्छ। सुरूमा ऊ अलमल पर्छ। यताउता हेर्छ। के चाहिँ गर्न सकिन्छ भनेर सोचेजस्तो देखिन्छ। केही बेरमै उसले उपाय पत्ता लगाउँछ।
क्रमबद्ध रूपमा उसले माथि भनिएका सबै कदम एकपटक पनि गल्ती नगरी चाल्छ र मासुको टुक्रा निकाल्छ।
न्यू-क्यालिडोनियन कागहरू धेरै बुद्धिमान चराहरूमा पर्छन्। यिनीहरूले दुईभन्दा धेरै वस्तु प्रयोग गरेर उपकरणहरू बनाउन सक्छन्। अझ भविष्यका लागि पनि उपकरणहरू बनाएर राख्न सक्ने क्षमता यिनमा देखिएको छ।
तपाईंहरूलाई लाग्दै होला, अलिअलि बुद्धि भएका यी चरालाई वैज्ञानिकले तालिम दिएकाले पजल समाधान गर्न सकेका होलान्।
तर प्रकृतिमै पनि यस्ता धेरै उदाहरण छन्। म एउटा रमाइलो घटना सुनाउँछु।
जापानको एउटा सहरका कागलाई एक प्रकारको ओखर मनपर्ने रहेछ। तर आफ्नो हात छैन, चुच्चोले त्यो ओखर फोड्न नसक्ने। अब खानु कसरी?
यही समस्या समाधानका लागि ती कागले एउटा जुक्ति लगाएछन् — ओखर लगेर सडकमा राख्ने।
त्यसको कारण यस्तो थियो — जब मानिस गाडी कुदाएर आउँछन्, त्यो गाडीको टायरले ओखर फोडिदिन्छ।
तर त्यसो गर्दा फेरि अर्को समस्या पर्यो। गाडीले फोडेर गएपछि सडकको बीचमा बसेर खान नसकिने रहेछ। किनभने बीच सडकमा त अरू गाडी पनि आउँछन्। तिनले आफैंलाई कुल्चिन बेर लगाउन्नन् भन्ने कागले थाहा पाए।
केही काग फेरि ‘स्वअध्ययन’ मा लागे। उनीहरूले के पत्ता लगाए भने, गाडी सधैं चलिरहँदैनन्। कहीँ त, केही समय त रोकिन्छन्। कतिखेर रोकिन्छन् भन्ने कुरा पनि उनीहरूले पत्ता लगाए। अनि समस्याको हल निस्किहाल्यो।
उहिले उहिले चराहरू धेरै परसम्मको सोच्न सक्दैनन् भन्ने वैज्ञानिक समेतको मान्यतालाई गलत तुल्याउँदै ती कागले गाडी ट्राफिक सिग्नलमा रोकिन्छ र कसरी रोकिन्छ भन्ने कुरा पत्ता लगाए। ट्राफिक सिग्नल प्रयोग गर्न सिके।
कागले ट्राफिक सिग्नलकै माथि गएर ओखर खसाल्यो। गाडी आएर ओखर फुट्यो। काग सडकको जेब्राक्रसिङ अगाडि कुरेर बसिरह्यो। जब रातो सिग्नल बल्छ र गाडी रोकिन्छन्, काग बिस्तारै जेब्राक्रसिङमा खान तयार ओखर जम्मा गर्न थाल्छ। अनि आनन्दले खान्छ।
कागहरूकै कुरा गर्दा एउटा रमाइलो प्रसंग जोड्न चाहन्छु।
म सानो छँदा हाम्रो घरको छतमा कहिले अचार सुकाउन र कहिले धोएको कार्पेट सुकाउन जानुपर्थ्यो। धेरै जस्तो म नै जान्थेँ। कहिलेकाहीँ आमा र दिदी पनि जान्थे। उनीहरू दुवै जाँदा केही हुँदैन थियो।
म जाँदा कागले आएर ठुङ्थ्यो। उसले मलाई राम्रोसँग चिन्थ्यो र देखेर बेखुसी हुन्थ्यो। मैले उसलाई केही गरेको थिइनँ। सायद उसलाई कुनै पुरूष वा मजस्तै देखिने मान्छेले केही गरेको थियो कि! त्यो बेलामा अचम्म लाग्थ्यो काग किन यस्तो भएको होला भनेर?
चराहरूकै अध्ययन गर्दा थाहा भयो — कागमै काम गर्ने वैज्ञानिकहरूलाई त झन् गाह्रो रहेछ।
कागले अध्ययनकर्ताको अनुहार याद गर्न सक्ने भएकाले उनीहरूले एकपटक समाएको काग त फर्केर पनि फेरि नजिक पर्दैन थियो। कति धेरै अध्ययनमा चरालाई दुईभन्दा धेरैपटक समाउनुपर्ने हुन्छ। तर एकपटक समाएको मान्छेको अनुहार चिनेर काग अर्कोपटक नजिक नै नआएपछि परेन फसाद!
त्यस्तै दुःख पाएर युनिभर्सिटी अफ वासिङटनका काग अनुसन्धानकर्ताहरूले हरेकचोटि फिल्डमा जाँदा मास्क लगाएर जानुपर्ने भएछ।
मानवहरूको दिमागमा ‘अमिग्डेला’ नामको एउटा क्षेत्र हुन्छ जसले भावना प्रशोधन गर्छ। धेरैजसो नकारात्मक भावनाहरू त्यो क्षेत्रमा रहन्छन्। कागको दिमागमा पनि सायद त्यस्तो क्षेत्र हुन्छ। त्यही भएर कुनै बेलाको नराम्रो अनुभव सम्झिएर कागले मलाई ठुङ्ग्थ्यो कि भन्ने मेरो अनुमान छ। कागमा गरिएको अध्ययनले को साथी र को दुश्मन छुट्ट्याउन सक्ने र धेरै पछिसम्म पनि सम्झिन सक्ने क्षमता उनीहरूमा भएको देखाउँछ।
काग त धेरै बाठो चरामध्येमा गनिन्छ। मैले काम गर्ने भँगेरालाई भने धेरैले बाठोमा गन्दैनन्।
मैले बितेको ६ वर्ष भँगेराको अध्ययन गर्दा देखेको कुरा पनि सुनाइहाल्छु है!
मेरो विद्यावारिधि भँगेराका चल्लाहरूमा हो। वातावरणीय तनावहरूले उनीहरूको जीवनकाल र बृद्धिमा कसरी असर गर्छ भन्नेबारे मैले अध्ययन गरेको हुँ। र, त्यो क्रममा भँगेराको गुँड नियमित हेर्नुपर्थ्यो। भँगेराका गुँडहरू युनिभर्सिटीका फार्महरू वरिपरि नै थिए।
एउटा गाई फार्ममा रहेका गुँडमा जाँदा सधैं रमाइलो कुरा हुन्थ्यो।
त्यो फार्ममा धेरै मान्छे काम गर्थे। भँगेराको गुँड वरपर सधैं मान्छेहरूको घुइँचो हुन्थ्यो। तर जब म आफ्नो गाडीबाट हरियो भर्याङ लिएर निस्किन्थेँ, एउटा भाले भँगेरा फार्मको छतमा गएर घाँटी सुक्ने गरी कराउँथ्यो। त्यो क्रम चार वर्षसम्मै कायम रह्यो। हाम्रो ल्याबमा काम गर्ने अरू साथीहरू पनि थिए। उनीहरू जाँदा भने ऊ कराउँदैन थियो। सायद उसले मेरो अनुहार चिनेको थियो। काग मात्र होइन, भँगेराहरू पनि बुद्धिमान हुन्छन् भन्ने म आफैंले अनुभव गरेँ।
हाम्रो ल्याबमा काम गर्ने धेरै महिलाहरू थिए। उनीहरू पनि चरा समातेर अध्ययन गर्थे। उनीहरूले समातेको चरा आत्तिँदैन थिए। छट्पटाउँदैन थिए। चराहरूकै अध्ययनले पनि देखाएको छ — केटामान्छेले भन्दा केटीमान्छेहरूले समाउँदा चराहरू कम तनावमा हुने गर्छन्।
हाम्रो ल्याबमा पनि त्यस्तै भएको होला!
चराहरूको अर्को क्षमता पनि छ — स्थानीय स्मृति राख्ने क्षमता।
स्थानीय स्मृति राख्ने क्षमता चरामा धेरै राम्रो भएको अध्ययनले देखाएको छ। उनीहरूमा एकदमै विकसित ‘हिप्पोक्याम्पस’ हुन्छ। हिप्पोक्याम्पस दिमागको त्यो भाग हो जुन स्थानीय स्मृति संकलन गरेर राख्ने जिम्मेवारी पाएको हुन्छ। मान्छेहरूमा जस्तै यो भाग चराहरूको दिमागमा पनि हुन्छ। चराहरूमा अलि फरक खालको र दिमागको पनि भिन्न भागमा पाइने भए पनि यसको काम समान हुन्छ।
यसको एकदमै रोचक र अनौठो प्रयोग केही चराहरूले गर्छन्।
अमेरिकामा पाइने केही चराहरू; जस्तै जे, टिटमाउस, नटह्याचले जाडो मौसम आउनुअगाडि शरद ऋतुमा टन्नै खानेकुरा लुकाउँछन्। र, ती खानेकुरा जाडोमा हिउँ परेका बेला निकाल्छन्। जब खानेकुरा अभाव हुन्छ, त्यो बेला पहिला लुकाएर राखेको ठाउँ पत्ता लगाउँछन् र त्यहीँ गएर खान्छन्। ती चराले हजारौंको संख्यामा खानेकुरा लुकाउँछन्। चार-पाँच महिनापछि सम्म पनि त्यो कहाँ छ भनेर थाहा पाउन सक्छन्। अझ क्लार्क्स नटक्र्याकरले त ग्रीष्म ऋतुमा तीस हजारवटा भन्दा धेरै सल्लाको बिउ लुकाएर राख्छन् र जाडो मौसममा खान्छन् भन्ने अध्ययनले देखाएको छ।
मलाई अचम्म लाग्छ — म कोठामा एक दिनअगाडि राखेको साँचो हरेक दिन बिहान काममा जाने बेलामा खोज्न १०-१५ मिनेट खर्च गर्छु। चराहरू भने महिनौंअगाडि थुपारेको ठाउँ खोजेर जाडोमा खाना खान्छन्!
बौद्धिक क्षमता जस्तै अर्को कुरा सञ्चार हो।
हामी मान्छेहरू सोच्न र भन्न (सञ्चार गर्न) सकेकाले सर्वश्रेष्ठ प्राणीमा गनिन्छौं। चराहरू हामीले जसरी बोल्न नसके पनि उनीहरू सञ्चार गर्न सक्छन्। हामीले एउटा भाषा बोल्छौं। संसारमा दस हजारभन्दा धेरै प्रजातिका चरा छन् र सबैको आफ्नै आफ्नै भाषा (गीत) छ। अझै रमाइलो कुरा त, धेरै चराहरूको त एउटाभन्दा धेरै गीत हुन्छ। र, केही चराले अरू चरा र मान्छेले चलाउने उपकरणहरूको समेत आवाज निकाल्न सक्छन्।
यही गीतको आधारमा चराहरूले एकअर्कासँग कुरा पनि गर्न सक्छन्।
अमेरिकामा पाइने एउटा चिचिल्कोटे प्रकारको चरा ‘चिकडी’ ले धेरै प्रकारको गीत गाउँछ।
यो चराको आठ-दसवटा गीतमध्ये सबभन्दा धेरै गाउनेमा उसले ‘चिकडिडिडिडिडी’ भनेको जस्तो सुनिन्छ। त्यसैले यसलाई चिकडी भनिएको हो।
उसले कति वटा ‘डी’ भन्छ, त्यही डीको संख्याअनुसार वरिपरि रहेको सिकारी चराको अवस्था र तिनले आफूलाई आक्रमण गर्न सक्ने वा नसक्नेबारे अरू साथीहरूलाई सूचना दिन्छ।
छिटो गतिमा पाँचभन्दा कम ‘डिडी’ भनेको छ भने ‘त्यो सिकारी चरा सानो छ, त्यसैले डराइहाल्न पर्दैन’ भनेको हो।
बिस्तारै तर पाँचपटक भन्दा धेरै ‘डिडी’ भनेको छ भने, ‘त्यो ठूलो सिकारी चरा वा अरू केही खतरा हो, हामीलाई आक्रमण गर्न सक्छ’ भनेको हो।
केही चराले त झन् सिकारी चराहरूकै आवाज निकालेर अरूलाई भगाउँछन् पनि!
सायद, आगामी दिनहरूमा यी चराबारे अझै धेरै अध्ययनको सहारामा हामीले यिनको बुद्धिबारे धेरै कुरा पत्ता लगाउने छौं!
setopati bata
Discussion about this post