चोरी भएर विदेश पुर्‍याइएका पुरातात्त्विक वस्तुहरू फिर्ता आएपछि पुन:स्थापना

0
SHARES
4
VIEWS

चोरी भएर विदेश पुर्‍याइएका पुरातात्त्विक वस्तुहरू फिर्ता आएपछि पुन:स्थापनामा सम्बन्धित स्थानीय तहले अग्रसरता नदेखाउँदा संग्रहालयमै थन्किइरहेका छन्।

चोरी भएर विदेश पुगेका हजारौं मूर्तिमध्ये स्वदेश फिर्ता हुनेमा तेस्रो हो, धुलिखेल नगरपालिका-७, वःटोलको उमामहेश्वरको मूर्ति। ४० वर्षअघि हराएको मूर्ति जर्मनीको बर्लिनस्थित म्यूजियम अफ इन्डियन आर्टमा भेटिएर २२ वर्षअघि नेपाल फर्काइयो। तर अहिलेसम्म पुन:स्थापना हुन नसकेर पाटन संग्रहालयमै छ। 

उसो त चोरी भएर ३८ वर्षअघि फिर्ता भएका अघिल्ला दुई मूर्ति पनि अझै संग्रहालयमै छन्। तर यी दुई संग्रहालयमा रहनुको कारण चोरी भएको स्थान पहिचान नभएर हो। धुलिखेलको मूर्ति चाहिं साविकको ठाउँ पहिचान भएर पनि पुन:स्थापना भएको छैन। 

उमामहेश्वरको मूर्ति टोलमा खुला ठाउँमा थियो। फिर्ता आएको मूर्ति पुन:स्थापना गर्नुको साटो तीन वर्षअघि धुलिखेल नगरपालिकाले प्रतिकृति अर्थात् मूर्तिकै नक्कल बनाएर स्थापना गरेको छ। फिर्ता भएको मूर्ति पुन:स्थापना नहुनुको कारणबारे नाम नखुलाउने शर्तमा स्थानीय एक अभियन्ता भन्छन्, “मूर्ति ल्याउन स्थानीय वडाबाट सहयोग भएन। वडा र नगरपालिकाले पुरातत्त्व विभागलाई चिठी नै लेखेका छैनन्।”

फिर्ता आएका मूर्ति पुन:स्थापना गर्न सबैभन्दा पहिले स्थानीय स्तरबाट तस्वीर लगायत प्रमाण जुटाउनुपर्छ र त्यसका आधारमा सम्बन्धित वडाले सिफारिश गर्नुपर्ने हुन्छ। त्यसपछि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले सुरक्षाको प्रत्याभूति गरेर पुरातत्त्व विभागलाई निवेदन लेख्नुपर्छ। तर यो काम दुई दशकसम्म हुन सकेन।

यसबारे धुलिखेल-७ का वडाध्यक्ष रोमीप्रसाद श्रेष्ठ भन्छन्, “यो मूर्ति खुला ठाउँमा राखिने भएकाले सुरक्षा गर्न नसक्ने भएर फिर्ता नल्याएका हौं। बहुमूल्य चीज बाटो छेउमै कसरी छाड्नु?” चाँडै सुरक्षाको व्यवस्था मिलाएर फिर्ता ल्याउने उनी बताउँछन्।

भक्तपुर नगरपालिका-७, गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरबाट चोरी भएर विदेश पुगेको ताराको प्रस्तर मूर्ति फिर्ता आएको एक वर्षभन्दा बढी भइसकेको छ। तर पुन:स्थापना हुन नसकेर राष्ट्रिय संग्रहालय छाउनीमा छ। सन् १९७६ पछिका वर्षमा चोरी भएको यो मूर्ति २०१५ मा यल युनिभर्सिटी आर्ट ग्यालरीमा पाइएको थियो। समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको तथा कलाशैलीका हिसाबले यो मूर्ति आरम्भिक मध्यकालको मानिन्छ।

८३ किलोको यो मूर्ति हराउनुअघि बौद्धदेवी पार्वतीका रूपमा दैनिक पूजाआजा गरिन्थ्यो। मूर्ति हराएपछि पुरातत्त्व विभाग र विभिन्न सम्पदा संरक्षण अभियन्ताहरूको लामो अनुसन्धान र पहलपछि नेपाल फिर्ता भयो। पुरातत्त्व विभागले प्रमाण सङ्कलन गरेर संस्कृति मन्त्रालयमा, त्यहाँबाट परराष्ट्र मन्त्रालय र त्यस मार्फत सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासलाई दाबीपत्र पठाउने लगायत लामो प्रक्रियाबाट मूर्ति फिर्ता भएको विभागकी अधिकृत सरिता सुवेदी बताउँछिन्।

वर्षौं अनुसन्धान गरेर फिर्ता ल्याइएका मूर्तिहरू पुन:स्थापना नगर्नु स्थानीय तहको बेवास्ता भएको सुवेदी बताउँछिन्। “मूर्ति फिर्ता भएपछि मन्दिरमा कहिले लैजाऊँ हुनुपर्ने हो तर सुरक्षा जोखिम देखाएर लगिंदैन,” उनी भन्छिन्। भक्तपुरको ताराको मूर्तिको सन्दर्भमा नगरपालिकाले एक पटक आएर बुझेपछि फेरि चासो नदिएको उनी बताउँछिन्।

भक्तपुर नगरपालिका-७ का वडाध्यक्ष उकेश कवां भने फिर्ता गर्ने प्रक्रियाकै लागि प्रमाणहरू जुटाइरहेको बताउँछन्। तर प्रमाण जुटाउनै एक वर्षभन्दा बढी बितिसकेको छ। 

१४३ मध्ये ३३ को मात्र पुन:स्थापना

नेपालमा पुरातात्त्विक वस्तुहरूको चोरी २००७ सालपछि अत्यधिक भएको पाइन्छ। चोरिएर विभिन्न देशमा पुर्‍याइएका वस्तु २०४२ सालदेखि फिर्ता हुन थालेको पुरातत्त्व विभागको तथ्याङ्क छ। नेपालबाट कति देवीदेवताका मूर्ति चोरी भए भन्ने तथ्याङ्क छैन तर चोरी भएर विदेश पुगेकामध्ये अहिलेसम्म १४३ वटा फिर्ता भएका छन्। जसमध्ये ३३ वटाको मात्र पुन:स्थापना भएको छ। बाँकी पुरावस्तु पाटन संग्रहालय र राष्ट्रिय संग्रहालय छाउनीमा छन्। 

राष्ट्रिय संग्रहालय छाउनीका निर्देशक जयराम श्रेष्ठका अनुसार पुरातत्त्व विभागले २०४२ सालयता संग्रहालयमा १०७ वटा पुरावस्तु पठाएको छ। तीमध्ये ६ वटाको मात्र पुन:स्थापना हुन सकेको छ। संग्रहालयमा रहेका पुरावस्तुमध्ये केहीको चोरी भएको स्थानको पहिचान खुलेको छैन, केहीको भने पहिचान भएर पनि प्रक्रिया पूरा गर्न स्थानीय तहले चासै दिएका छैनन्।  

जसमध्ये काठमाडौं, फर्पिङको कमलपोखरीबाट हराएको सरस्वतीको शिर पनि एक हो। २०५६ सालमा अमेरिकाबाट फिर्ता आएको यसको पुन:स्थापना गर्नेबारे अहिलेसम्म स्थानीय तह सोधखोज गर्न समेत आएको छैन। मूर्ति फिर्ताको उद्देश्य पुन:स्थापना नै भए पनि यसमा स्थानीय तहले बेवास्ता गरिरहेको संग्रहालयका प्रमुख श्रेष्ठको बुझाइ छ। उनी भन्छन्, “पुन:स्थापनामा चासो देखाउनुपर्ने स्थानीय तह नै सुरक्षा हुन सक्दैन भनेर पन्छिने गरेका छन्। यसले त फिर्ता भएका अन्य मूर्ति पनि सुरक्षित छैनन् भन्ने गलत भाष्य फैलिन सक्छ।”

स्थानीय सरकार सञ्चालन ऐनले आफ्नो क्षेत्रमा भएको पुरातात्त्विक वस्तुको संरक्षण स्थानीय तह, प्रदेश र संघले गर्नुपर्ने भनेको छ। मन्दिर र टोल जस्ता साविकका स्थानमा मूर्तिहरूको पुन:स्थापना नगर्दा संविधानमा उल्लिखित व्यक्तिको सांस्कृतिक अधिकार हनन हुने अधिवक्ता तथा सम्पदा पुन:स्थापनाका अभियन्ता सञ्जय अधिकारी बताउँछन्।

“सुरक्षा गर्न सकिंदैन भनेर मूर्ति फिर्ता नलग्ने छूट स्थानीय तहलाई हुँदैन,” उनी भन्छन्, “अभिलेख समेत भइसकेका मूर्ति जोगाउन सक्दैनौं भन्नु आफ्नो दायित्वबाट पन्छिनु हो।”

सम्भव छ पुन:स्थापना

२०४२ सालमा ललितपुर, पाटनको पट्को टोलबाट लक्ष्मीनारायणको मूर्ति चोरी भयो। चोरी भएको ३८ वर्षपछि अमेरिकाबाट फिर्ता भएको उक्त मूर्ति एक महीनाभित्रै सम्पूर्ण प्रक्रिया पूरा गरेर ललितपुर महानगरपालिकाले पुरानै स्थानमा पुन:स्थापना गर्‍यो। अमेरिकामा मूर्ति भेटिएको थाहा पाउनासाथ गत असोज ७ गते महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मूर्ति आफ्नै खर्चमा ल्याउने घोषणा गरेका थिए। मूर्तिको अपनत्व लिंदै उनले त्यस वेला भनेका थिए, “मूर्ति फिर्ता भएर मन्दिरमा राखिने भए मात्र ल्याउँछौं, संग्रहालयमा राख्ने भए फिर्ता ल्याउन सघाउँदैनौं।” 

अन्ततः महानगरको सक्रियतामा सुरक्षाको प्रत्याभूति गर्दै लक्ष्मीनारायणको मूर्ति पुरानै अवस्थामा स्थापित गरियो। सुरक्षाका लागि मूर्ति राखिएको मन्दिरको ढोकामा साइरन जोडियो। मन्दिर वरपर पाँच वटा सीसी क्यामेरा जडान गरियो।

यस्तै, दोलखाबाट चोरी भएको १६औं शताब्दीको बज्रधरको मूर्तिलाई चीनको हङकङस्थित महावाणिज्य दूतावासबाट नेपाल फिर्ता गरिएको एक साताभित्रै साविक स्थानमा पुन:स्थापना गरियो। २०५२ भदौ १४ गते हराएको उक्त मूर्ति २०८० जेठ १८ गते नेपाल फिर्ता आयो र जेठ २२ मै पुन:स्थापना गरियो।

स्थानीय बासिन्दाको चासो र गुठीहरूको सक्रियताबाट यो सम्भव भएको दोलखाका सामाजिक अभियन्ता अनिलचन्द्र श्रेष्ठ बताउँछन्। हाल भीमेश्वर मन्दिरको भण्डारघरमा राखिएको उक्त मूर्ति केही समयअघि इन्द्रजात्रामा प्रदर्शनमा पनि राखिएको थियो। मूर्तिको सुरक्षाबारे अभियन्ता श्रेष्ठ भन्छन्, “सीसी क्यामेरा जडान गरिएको छ। मन्दिर नजिकै प्रहरी कार्यालय छ। स्थानीय बासिन्दा पनि चनाखो भएका छन्।”

पुरातत्त्व विभाग र संग्रहालयको प्रक्रिया पूरा गरेर मूर्ति पुन:स्थापना गर्ने अन्य गुठी र पालिका पनि छन्। त्यसमध्ये ललितपुरको टंगाल टोल सुधार समिति पनि हो। टंगालहिटीबाट चोरी भई अमेरिकाको मेट्रोपोलिटन म्यूजियम अफ आर्ट, न्यूयोर्कमा फेला परेको उमामहेश्वरको मूर्ति दुई वर्षअघि साविक स्थानमा पुन:स्थापना गरियो। दुई वर्षअघि नै ललितपुरको मयूरवर्ण महाविहार सुधार समितिले भिन्छे बहालबाट चोरी भएको स्थानक बुद्ध मूर्ति साविक स्थानमा राख्यो।

यसरी ललितपुर महानगरले मात्र चोरिएर फिर्ता आएका आधा दर्जन पुरावस्तुको पुन:स्थापना गरिसकेको छ। तर पहिचान भएर पनि भक्तपुर, धुलिखेल, काठमाडौं लगायत धेरै स्थानीय तहले आफ्ना सम्पदाको पुन:स्थापना गर्न अग्रसरता देखाएका छैनन्। 

चोरी भएर अमेरिका पुगेको काठमाडौंको ह्युमत टोलको श्रीधर विष्णुको मूर्ति पुन:स्थापनाको पर्खाइमा २४ वर्षदेखि राष्ट्रिय संग्रहालयमा छ। काठमाडौंका विभिन्न मठमन्दिरमा हुनुपर्ने अन्य ६ वटा पुरावस्तु पनि संग्रहालयमै थन्किएका छन्। 

पुन:स्थापना नगरेका पालिकाहरूले फेरि चोरी हुने जोखिमलाई कारण देखाइरहेका छन् तर अधिवक्ता सञ्जय अधिकारी एक पटक चोरिएर फिर्ता भएका पुरावस्तु फेरि चोरिने जोखिम कम हुने बताउँछन्। फिर्ता आएका मूर्तिको राम्रो अभिलेख हुने र चोरी भएर जहाँ पुगे पनि कसैले किन्न नसक्ने हुँदा सुरक्षित हुने उनको भनाइ छ। “अभिलेख नभएका मूर्तिको चाहिं सुरक्षा जोखिम बढी हुन्छ। त्यस्तो अवस्थामा पनि सुरक्षाको प्रबन्ध मिलाएर पुन:स्थापना गर्न सकिन्छ।”

जयराम श्रेष्ठ, सरिता सुवेदी र सुरेश लाखे।
पुरावस्तु फिर्ता गर्नुको उद्देश्य पुन:स्थापना नै भएको बताउने पुरातत्त्व विभागकी प्रमुख सौभाग्य प्रधानांग असुरक्षा देखाएर पुन:स्थापना नगर्ने प्रवृत्तिका कारण फिर्ता आउने सबै पुरावस्तु संग्रहालयमै थुप्रिने जोखिम रहेको औंल्याउँछिन्। “जोगाउनै सक्दैनौं भन्नुहुन्छ भने त हामीले संग्रहालयमा राख्नुको विकल्प हुँदैन तर पुन:स्थापनाको विकल्प संग्रहालयमा राख्नु हुँदै होइन,” उनी भन्छिन्, “पुन:स्थापना गरेका पालिकाहरूको उदाहरणबाट नसिकी सुरक्षा नै छैन भन्ने हल्ला फैलाउन भएन।” मूर्तिको सुरक्षाको विषयमा विभागसँग छलफल गरेर सहयोग लिन सकिने उनी बताउँछिन्।

कसरी गर्ने पुन:स्थापना?

चोरी भएका पुरातात्त्विक वस्तु फिर्ता आउनासाथ पुरातत्त्व विभागले संग्रहालयमा पठाएर सुरक्षित राख्छ। ती पुरावस्तु साविक स्थानमा फिर्ता लैजान भने स्थानीय तह, टोल सुधार समिति वा गुठीहरूले उक्त सम्पदा आफ्नै भएको प्रमाण विभागमा पेश गर्नुपर्छ। त्यसका आधारमा विभागले अनुसन्धान गरेर पुरावस्तु त्यस स्थानको भए/नभएको टुङ्गो लगाउँछ। प्रमाणित भएपछि वडा कार्यालयले सम्पदाको सुरक्षाको प्रतिबद्धता गर्दै जिल्ला प्रशासन कार्यालयको सिफारिश विभागमा बुझाउनुपर्छ। संरक्षणको प्रत्याभूति भएपछि विभागले मूर्ति साविक स्थानमा पठाउँछ।

पुर्खाहरूले वर्षौं लगाएर स्थापना गरेका देवीदेवतालाई यति सामान्य प्रक्रिया पूरा गरेर पुन:स्थापना गर्न नसकेको देख्दा दुःख लाग्ने राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठ बताउँछन्। “केही पालिका एक पटक बुझ्न आउँछन् र त्यसपछि हराउँछन्, यस्तो भएपछि भगवान् कसरी फिर्ता होलान् र?” उनी भन्छन्। 

पाटन संग्रहालयका प्रमुख सुरेश लाखेको गुनासो पनि उस्तै छ। ४० वर्षअघि हराएर २२ वर्षअघि नै फिर्ता भएको धुलिखेलको उमामहेश्वरीको मूर्ति मन्दिरमा पुजिनुपर्नेमा संग्रहालयमै छ। १०/११ वर्षदेखि फिर्ता लैजान्छौं भनेर विभिन्न समूह आए पनि प्रक्रिया नै पूरा नगरेको संग्रहालयका कर्मचारी बताउँछन्। संग्रहालयलाई मूर्ति राख्न कुनै समस्या नभएको तर पूजा गर्नुपर्ने भगवान्‌लाई ‘आर्ट पिस’ जसरी राखिनुको अर्थ नहुने लाखे बताउँछन्। 

हुन पनि मूर्तिमा प्राणप्रतिष्ठा भइसकेपछि जीवित सरह मानिन्छ। त्यसपछि स्थानीय समुदायको आस्था पनि गाँसिन्छ। “त्यसैले भगवान्‌को स्थान मन्दिर नै हो,” लाखे देवीदेवताको मूर्तिको महत्व बुझाउँछन्। 

पुरातत्त्व विभागकी प्रमुख प्रधानांग पनि फिर्ता भएका मूर्ति पुन:स्थापना गर्न स्थानीय तह र समुदायलाई आग्रह गर्छिन्। “प्रयास नै नगरी सुरक्षा गर्न सक्दैनौं भनेर पन्छिन हुँदैन। पन्छिने प्रवृत्तिले त अहिले फिर्ता हुने प्रक्रियामा रहेका ६३ थान सम्पदा पनि संग्रहालयमै थन्किने न हुन् भन्ने धारणा बन्छ
himalkhababata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार