नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ११ वटै सेवा केन्द्रका सदस्यहरुमाझ २५औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा आज सम्पन्न गरिएको छ ।
कात्तिक १३ गते धुलाबारी र बुधबारे सेवा केन्द्रबाट इकाइगत साधारणसभा सुरु गरेको संस्थाले आज केर्खा सेवा केन्द्रको साधारणसभा गरेको हो ।
संस्थाका अध्यक्ष शरणकुमार पराजुलीको अध्यक्षतामा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यमा केर्खास्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा आजको एकाईगत साधारणसभा सम्पन्न भएको हो ।
सो समारोहमा मन्तब्य राख्दै कमल गाउँपालिकाका उपाध्यक्ष तिवारीले सदस्यले सहकारीबाट कर्जा लिँदा आफ्नो क्षमता हेरेर मात्र लिन सुझाव दिइन् । ऋणिले क्षमताभन्दा बढी कर्जा लिएर तिर्न नसकेमा कालोसूचिमा परिने र कालोसूचिमा परेपछि पनि ऋण नतिरेसम्म आफूलगायत सन्तानलाई समेत यसले असर गर्ने भएकोले सदस्यले बेलैमा ध्यान दिनुपर्ने उनले बताइन् ।
साधारणसभामा संस्थाको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष शरणकुमार पराजुलीले २०५५ साल असार १६ गते स्थापना भएको संस्थामा गत असार मसान्तमा १७ हजार ५४० जना सेयर सदस्य रहेको र १२ करोड ९२ लाख २६ हजार ५०० रुपैयाँ शेयर पुँजी रहेको जानकारी गराए ।
उनका अनुसार संस्थाको कुल निक्षेप ४३ करोड ५६ लाख ७० हजार ५४० रुपैयाँ रहेको छ भने सदस्यहरुमाझ ८२ करोड ९६ लाख २७ हजार ७९० रुपैयाँ कर्जा लगानीमा रहेको छ ।
त्यस्तै संस्थाको विभिन्न कोषमा १२ करोड ३६ लाख २२ हजार ३०१ रुपैयाँ रहेको छ भने संस्थाले १८ करोड ३४ लाख ६८ हजार ८३१ रुपैयाँ बाह्य कर्जा लिएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समीक्षा वर्षमा संस्थाले १६ करोड ७० लाख ३० हजार ६३३ रुपैयाँ आम्दानी गरेर १५ करोड ४७ लाख ९७ हजार २३५ रुपैयाँ खर्च गरी १ करोड २२ लाख ३३ हजार ३९६ रुपैयाँ नाफा गर्न सफल भएको अध्यक्ष पराजुलीले जनाएका छन् ।
सो साधारणसभामा संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रममा सहभागी भई विभिन्न विधाका उत्कृष्ट ७ जना सदस्यहरुलाई पुरस्कृत गरिएको छ । संस्थाको अन्तिम माइन्युट प्रमाणीकरण साधारण सभा यही कात्तिक २४ गते शुक्रबार शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा हुने जनाइएको छ ।
सभामा संस्थाका निवर्तमान अध्यक्ष दिलिपकुमार चापागाईँ, सल्लाहकार समिति संयोजक डम्बरकुमार पौडेल, नेपाल रेडक्रस सोसाइटी दमकका प्रमुख सिद्धार्थ दाहाललगायतले सहकारी मन्तव्य राखेका थिए ।
साधारण सभा सुरु हुनुभन्दा पहिले रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको थियो । सो इकाइगत साधारणसभा समारोहको सञ्चालन सस्थाका निमित्त व्यवस्थापक रविन सुब्बाले गरेका थिए ।sajhamanchabata
Discussion about this post