पहाडको अन्नबाली नहुने रुखोपाखो जग्गाबाट संकलन हुने कमसल काठबाट उत्पादन भइरहेको भेनियर पाता (कोर भेनियर)को निकासी दररेट घटाउन व्यवसायीहरुले माग गरेका छन् ।

नेपाल भेनियर उत्पादक संघ केन्द्रीय समितिले आज झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै भेनियर पाताको निकासी दररेट घटाउने लगायतका तीन वटा माग गरेको हो ।

हाल भेनियर पाताको भारत निकासी दररेट प्रति केजी रु. ६ रहेको जनाउँदै त्यसलाई घटाएर रु. ३ कायम गर्न सरकारसँग माग गरिएको नेपाल भेनियर उत्पादक संघका केन्द्रीय अध्यक्ष दिपक पाण्डेले बताउनुभयो ।

शून्य भन्सार दररेटमा निकासी भइरहेको प्लाईउडलाई सरकारले छ प्रतिशत अनुदान समेत दिइरहेको विषयमा ध्यानाकर्षण गराउँदै संघले प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा दैनिक रु. दुई करोड विदेशी मुद्रा भित्र्याउने र रु. दैनिक ४५ लाखभन्दा बढी राजस्व बुझाउने भेनियर उद्योगलाई भने राज्यले सहुलियत र प्रोत्साहन दिनुको साटो चर्को निकासी शुल्क लगाएको गुनासो गरिएको छ ।

भेनियर पातालाई भारत बाहेक तेस्रो मुलुकमा समेत निर्यात गर्ने वातावरण तयार पार्न संघले सरकारलाई जोडदार आग्रह गरेको छ ।

हाल नेपालमा १८० वटा भेनियर उद्योग सञ्चालनमा रहेका छन् । जसले ८० हजार भन्दा बढी मजदुरलाई प्रत्यक्ष परोक्ष रुपमा रोजगारी प्रदान गरिरहेको संघका उपाध्यक्ष श्याम न्यौपाने बताउनुहुन्छ ।

उहाँका अनुसार पहाडको निजी आवादी जग्गामा हुर्काइएका कमसल प्रजातिका उत्तिस, कदम, मलातो, पिठारी, मौवा लगायतका रुखको काठलाई कच्चा पदार्थको रुपमा प्रयोग गरेर भेनियर उद्योगहरुले भेनियर पाता (कोर भेनियर) उत्पादन गर्दै आएका छन् ।

यसरी उत्पादन गरिएको भेनियर पाताको २० प्रतिशत मात्रा स्थानीय प्लाईउड उद्योगहरुले खपत गर्छन् भने बाँकी ८० प्रतिशत भारत निकासी हुने गरेको छ । भारत निकासी हुँदा दैनिक करोडको अंकमा विदेशी मुद्रा भित्रिने र लाखौं रकम राजस्व राज्यको ढिकुटीमा जम्मा हुने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले पछिल्लो समय प्लाईउड उद्योगीहरुले एकलौटी लाभ लिनका लागि भेनियर उत्पादनको भारत निर्यात निरुत्साहित गर्न सरकारी निकायहरुमा गलत ढंगले पैरवी गरिरहेको बताउनुभयो ।

नेपाल बन पैदावर व्यवसायी संघ इलामका अध्यक्ष दिपक खड्काले नेपालभित्र ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने, कृषि उपज निकासी गरेर किसानहरुको आर्थिकस्तर वृद्धि गर्ने, वैदेशिक मुद्रा भित्राउने र राजस्व बढाउन योगदान दिने भेनियर उद्योगहरुको उचित मूल्यांकन हुनुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।

“पहाडमा बसाई हिँड्ने क्रम बढिरहेको हुँदा खेतबारीमा अन्नबाली उत्पादन हुन छाडेको छ र बारीभरि काठपात हुर्किरहेका छन्,” उहाँले भेनियर उद्योगलाई निरुत्साहित गर्न नहुने जिकीर गर्दै भन्नुभयो–“आर्थिक मन्दीका कारण उद्योगीहरु बैंकको ब्याज तिर्न नसकेर व्यवसायबाट पलायन भइरहेको अवस्थामा भेनियर उद्योगलाई धराशायी हुनबाट जोगाउन सरकारले निकासीमा सहुलियत प्रदान गर्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *