विर्तामोडमा देखिएका समस्या समाधानमा सवै एकजुट हुनु पर्नेमा सरोकारबालाहरुले बताउनुभएको छ बुधवार झापाको ‘बिर्तामोड डेपलपमेन्ट समिट’ कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो धारणा राख्नुभएको हो ।
मिडिया रिसर्च सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नगरपालिका र मेची आँखा अस्पतालको सहयोगमा आयोजित बिर्तामोड समिट कार्यक्रममा समिटमा नगरको पहिचान, शक्ति र सामाथ्र्यका विषयमा चर्चा गरिएको थियो । पछिल्लो समय देखिएका समस्याका थाकहरुलाइ चिर्न पनि यस्तो किसिमका समिट आवस्येक देखिएको सयोंजनकर्ता तिर्थ सिग्देलले जानकारी दिनुभएको छ ।
कार्यक्रमका प्रमुख वक्ता बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईंले नगरको विकासमा बजेटको मुख्य भूमिका हुने बताउँदै बजेटको पूर्ण सदुपयोग गरेर काम गरिरहेको उहाँले बताउनुभयो । आन्तरिक आम्दानी र प्राप्त बजेटबाटै विकास लगायतका कार्य हुने बताउँदै एक पैसा पनि दुरुपयोग नभएको उहाँको भनाइ थियो । नगरले आफ्नो सामथ्र्य अनुसार काम गरे पनि नकारात्मक सोच भएका केही मानिसले आँखा चिम्लिएर विरोध गरेको उहाँले बताउनुभयो ।
त्यस्तै, प्रमुख वक्ता मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कुरा कम काम बढी गर्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बिर्तामोडलाई कुनै एक विषयमा अब्बल बनाएर लैजानुपर्ने औंल्याउनुभयो । “हामी माइक समातेर भाषण गरेरै धेरै समय खर्चिन्छौं”, उहाँले भन्नुभयो, “गफ होइन, काम गर्नुपर्छ ।” स्वास्थ्य, शिक्षा, पर्यटन, नमूना नगर वा कुनै एक विषयमा नगरलाई अब्बल बनाएर बिर्तामोड आउनुपर्ने कारण बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा प्यानल डिस्कसन गर्दै नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाले नगरको समग्र गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नगरबासीको रहेक सुखदुःख र विकास निर्माणमा नगरको सामथ्र्य अनुसारको काम गरिरहेको उल्लेख गर्नुभयो । स्वस्थ्य नागरिक बनाउन योग, अग्र्यानिक तरकारी, मासु–माछामा आत्मनिर्भर, किसानलाई अनुदान लगायतका क्षेत्रमा नगरपालिकाले उल्लेख्य प्रगति गरिरहेको उहाँको भनाइ थियो । बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नगरको शिक्षा, स्वास्थ्य, उद्योग–व्यवसाय, सहकारी लगायत नगरको विविध विषयका बारेमा प्यानल डिस्कशन भएको कार्यक्रममा प्यालनलिस्ट जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले समग्र मुलुकको सहकारी अभियानका बारेमा जानकारी दिनुका साथै नगरको सहकारीको अवस्थाका बारेमा स्पष्ट पार्नुभएको थियो । बिर्तामोडमा मुख्य कार्यालय रहेको ८७ वटा सहकारी संस्था रहेको बताउँदै उहाँले भन्नुभयो, “बिर्तामोडमा मात्र केन्द्रीय कार्यालय रहेको सहकारीले वार्षिक करिब १५ करोड राजश्व सरकारलाई बुझाइ रहेको छ ।” सरकारलाई राजश्व तिर्ने प्रमुख क्षेत्र सहकारीलाई कर अनुसारको सेवा सुविधा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीको सुरक्षा र सबलीकरणमा सरकारले ध्यान दिन जरुरी छ ।”
अर्का प्यानलिस्ट बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले आर्थिक संकटका कारण बिर्तामोड क्षेत्रको उद्योग–व्यवसाय खस्कँदै गएकोमा चिन्ता व्यक्ति गर्नुभयो । सरकारको तीन खम्बे अर्थनीतिको रुपमा रहेको नीजि क्षेत्र सधैं उपेक्षा परेको उहाँको भनाइ थियो । कोरोना महामारीपछि थलिएको अर्थतन्त्रलाई उकास्न विश्वका विभिन्न मुलुकले उद्योगी–व्यवसायीका लागि विभिन्न प्याकेज ल्याए पनि नेपालमा त्यसै कुनै गतिविधि नभएको उहाँले बताउनुभयो । “कोरोना पछि बिर्तामोडका धेरै सटर बन्द भएका छन्, व्यवसाय धेरै खस्केको छ”, उहाँले भन्नुभयो, “जसरी युवा र विद्यार्थी जसरी विदेश भासिँदै छन्, त्यसरी नै उद्योगी–व्यवसायी विदेश भासिनुपर्ने अवस्था छ, क्षमता अनुसार कतिपय त युरोप त कतिपय खाडी पुगी सकेका छन् ।”
नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले नगरको शिक्षा क्षेत्रको अवस्थाका बारेमा जानकारी गराएका थिए । विद्यालय अनुगमन, निजी विद्यालयले उपलब्ध गराउनुपर्ने छात्रवृत्ति, योग कक्षा, विद्यालयको शिक्षाको गुणस्तर सुधारका विषयमा सहभागीले राखेको जिज्ञासालाई स्पष्ट पार्दै उहाँले विद्यालयको गुणस्तर सुधारका लागि विद्यालयको प्रधानाध्यापक र शिक्षक बढी जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । विद्यालय उमेरदेखि नै विद्यार्थीमा विदेशिने सोचेको विकास हुँदै गएको चर्चा गर्नुभयो ।
यस्तै, नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजिव बिष्टले नगरको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी दिनुभएको थियो । प्रदेश सरकारले प्रेसर र सुगरको औषिध निःशुल्क दिने घोषणा गरे पनि बजेट र कार्यविधि नहुँदा समस्या भइरहेको बताउनुभयो । क्षयरोग, डेंगु, हात्तीपाइले लगायतका रोग नियन्त्रणमा नगरले उल्लेख्य काम गरिरहेको बताउँदै उहाँले नगर अस्पतालले समेत सेवा विस्तार र विविधिकरण गरिरहेको उहाँले बताउनुभयो ।
बिर्तामोड नगरपालिका योजना शाखा प्रमुख एवम् मोडरेटर विजय तिम्सिनाले प्यानल डिस्कशनमा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई सम्बन्धित प्रश्न सोध्नु भएको कार्यक्रमको सञ्चालन एवम् संयोजन मिडिया रिसर्च सेन्टरका सञ्चालक तीर्थ सिग्देलले गर्नुभएको थियो ।