यशोदा निरौला स्मृति प्रतिष्ठानले विपन्न वर्गका लागि शव वाहन निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । निरौलाको नवौँ स्मृति दिवसका अवसरमा सोमबार बिर्तामोडमा आयोजित कार्यक्रममा प्रतिष्ठानले विपन्न समुदायले शव वाहन प्रयोग गर्दा शुल्क नलिने जनाएको हो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुकुमार निरौलाले सात लाख रूपैयाँमा खरिद गरी शव वाहन ल्याइएको बताउँदै विपन्न वर्गका लागि निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय भएको बताए । निरौला परिवारकी बुहारी यशोदाको २०७२ जेठ ७ गते प्रसुति भएकै अवस्थामा निधन भएको थियो ।
यशोधाको निधनपछि स्थापना भएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सुत्केरी र गर्भवती महिलाले उपचार अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने मुख्य उद्देश्य राखेर प्रतिष्ठान स्थापना भएको संस्थापक अध्यक्ष निरौला बताउँछन् ।
निरौलाको मृत्युपछि बिर्ता सिटी अस्पतालले उपलब्ध गराएको ५ लाख रुपैयाँ र परिवारका तर्फबाट त्यति नै रकम थपेर १० लाख रुपैयाँको अक्षय कोष बनाइएको थियो ।
प्रतिष्ठानका सचिव समेत रहेका यशोदाका श्रीमान रमेश निरौलाका अनुसार प्रतिष्ठानले विपन्न वर्गका नागरिकको स्वास्थ्य बीमा पनि सघाउँदै आएको छ ।
कोरोना सङ्क्रमणका बेला अक्सिजन सिलिन्डर वितरण गर्नेदेखि सामाजिक संघसंस्थालाई सहयोग गर्नेसम्मका कार्यक्रम प्रतिष्ठानले सञ्चालन गर्दै आएको छ ।
प्रतिष्ठानका अध्यक्ष नन्दीकिशोर निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच शव वाहन सञ्चालनमा ल्याइएको जानकारी दिइएको हो । अहिले प्रतिष्ठानको कोषमा १५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
Discussion about this post