क्रसर उद्योग महासंघले अनिश्चित कालका रूपमा सेवा ठप्प पार्ने

क्रसर उद्योग नवीकरण नगरे १ असारदेखि सेवा ठप्प पार्ने चेतावनी
क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असारअघि क्रसर, खानी तथा बालुवा उद्योगहरूको लाइसेन्स नवीकरण नभए सेवा ठप्प पार्ने चेतावनी दिएको छ। बुधबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो।

महासंघले यसका लागि जेठ ३२ गतेसम्मको अल्टिमेटम दिएको छ। सरकारले आगमी जेठ ३२ गतेसम्म यस्ता उद्योगको नवीकरणका लागि लिखित निर्देशन नदिए अनिश्चित कालका रूपमा सेवा ठप्प पार्ने महासंघको भनाइ छ। सरकारले लिएका विभिन्न नीतिका कारण १० वर्षदेखि यस्ता उद्योगको लाइसेन्स नवीकरण हुन सकेको छैन।

महासंघका अध्यक्ष सीताराम न्यौपानेले यो माग पूरा नभए असार १ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूको उत्पादन तथा बिक्री-वितरण कार्य ठप्प पार्ने बताए। साथै, उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर त्यहाँ भएका गाडी, मेसिनरी औजार, हेवी इक्विपमेन्ट तथा कार्यरत मजदुरहरू सडकमा राखी विरोध प्रदर्शन गर्ने उनको भनाइ छ।

आर्थिक वर्षको अन्तिम समय भएका कारण जेठ असारमा निर्माणसम्बन्धी गतिविधि कम हुन्छ। बर्खाका कारण् सडकलगायतका पूर्वाधार बिग्रिँदा पटक-पटक मर्मत सम्भार गर्नुपर्छ। त्यसका लागि निर्माण सामग्री अनिवार्य हुन्छ। सोही समयमा क्रसर व्यवसायीहरूले सेवा ठप्प पार्ने चेतावनी दिएका हुन्।
आगामी आर्थिक वर्ष ०८१-८२ को बजेटमा खानी तथा बालुवा उद्योगको नवीकरण सम्बन्धमा केही सम्बोधन नहुँदा व्यवसायीहरू निराश बनाएको पनि उनले बताए। उनले भने, ‘हामी तोकिएको दरमा कर तथा दस्तुर तिर्न तयार छौँ, त्यसको लागि आवश्यक व्यवस्था गरिदिनुस्। तर, निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू लामो समयदेखि यस्तो (नवीकरण नभएको) अवस्थामा नराखिदिनुस्।’

सरकारबाट जारी भएका अव्यावहारिक निर्णयहरूको कारण पछिल्लो १० वर्षदेखि निरन्तर रूपमा क्रसर, खानी तथा बालुवा उद्योगहरूले नवीकरणसम्बन्धी समस्या झेल्दै आएको व्यवसायीहरूको भनाइ छ।
जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर, शुल्कलगायतका राजस्व रकम बुझाउन जाँदा पनि नवीकरणको भाषा र व्यवस्था स्पष्ट नभएको भन्दै फर्काउने गरेको उनीहरूले बताए।nayapatrikabata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array