चुरे नजोगाए बस्ती खतरामा छ-विज्ञ

0
SHARES
3
VIEWS

हो, किन जोगाउने ?
चुरे

काठमाडाैं – चुरे क्षेत्र भनेको हिमालय पर्वत शृङ्खलाको सबभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको सबभन्दा कान्छो, सबभन्दा कमलो र सबभन्दा कमजोर पर्वत शृङ्खला रहेको क्षेत्र हो । करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर याे बनेकाे मानिन्छ । पश्चिममा पाकिस्तानको इन्डस नदी देखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे श्रृङ्खला शिवालिकको नामबाट पनि चिनिन्छ ।

यो क्षेत्रमा राम्ररी नखाँदिएका खुकुलो पत्रे चट्टान भएको र महाभारत पर्वतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ। चुरेको अस्तित्व नेपालभित्र मात्र सीमित छैन। नेपाल बाहिर ‘सिवालिक’ पर्वतको नामले चिनिने चुरे पूर्वमा ब्रह्मपुत्र र पश्चिममा सिन्धु नदीसम्म फैलिएको छ। हिमालय पर्वत शृंखलाको सबैभन्दा बाहिरी (दक्षिण) र सबैभन्दा होचो चुरे पर्वत शृंखलाको कुल लम्बाइ करीब २४०० किलोमिटर (नेपालभित्रको भूभागसहित) छ। पाँच भौगोलिक क्षेत्रमा बाँडिएको नेपालको समथर तराई र महाभारत (मध्य पहाड) बीचको भू-भागलाई चुरे क्षेत्रले ओगटेको छ।

कान्छो र कमजोर पहाड भनेर चिनिए पनि चुरेलाई एउटा भूगोलका रूपमा मात्रै बुझ्नु उपयुक्त हुँदैन। ६६ डिग्रीसम्मको भिरालो रहेको यस क्षेत्रको औसत भिरालोपन १२ डिग्री छ। समुद्री सतहभन्दा करीब २०० देखि १३०० मिटर उचाइमा रहेको यस क्षेत्रले नेपालका ७७ जिल्लामध्ये ३६ वटा जिल्लाका भूभाग छोएको छ। चुरेको १००० वर्गमिटरभन्दा बढी भूभाग ओगट्ने आठ जिल्लामध्ये दाङ (२४१५ वर्गमिटर), चितवन (१८८५), कैलाली (१४५६), सिन्धुली (१४२८), मकवानपुर (१४०२), उदयपुर (१२६७), सुर्खेत (११४६) र नवलपरासी पूर्व (१००५) छन्। यी मध्ये चितवनको करीब ८४ प्रतिशत र दाङको कुल क्षेत्रफलको करीब ८० प्रतिशत भूभाग चुरे क्षेत्र नै पर्छ। प्रदेशगत हिसाबले हेर्दा चुरेको सबैभन्दा बढी क्षेत्रफल क्रमश: लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश २ मा रहेको देख्‍न सकिन्छ।

महाभारत र चुरेबीचको समथर उपत्यकालाई दुन भनेर चिनिन्छ। दाङ, देउखुरी, चितवन दुन उपत्यकामा पर्छन् भने भारतको देहरादुन पनि दुन उपत्यका नै हो। पूर्व-पश्चिम फैलिएको चुरेको उत्तर-दक्षिण चौडाइ १० देखि ५० किलोमिटर छ। देशको कुल भूभागको करीब १३ प्रतिशत चुरेले र १४ प्रतिशत तराई क्षेत्रले ओगटेको छ भने मुलुकको ५० प्रतिशतभन्दा बढी जनसंख्याको बसोबास यही क्षेत्रमा छ।

चुरे नजिकको बस्ती किन जोखिममा छ ?
चुरे कमजोर संरचना भएको पहाड हो। यसलाई जस्तो छ त्यस्तै रहनदिनु पर्छ भन्ने विज्ञहरुको राय छ। विभिन्न समयमा भएका अध्ययनहरुले चुरे पहाडमा टाँसिएका बस्ती जोखिममा रहेकाले स्थानान्तरणको उपाय सुझाएका छन्। २०६७ मा संसदको प्राकृतिक श्रोत र साधन समितिले गरेको अध्ययनअनुसार तयार गरेको वनसंरक्षण समस्या अध्ययन प्रतिवेदनले चुरेनजिकका बस्ती जोखिममा रहेको निष्कर्ष निकालेको थियो।

प्रतिवेदनले चुरेमा मानववस्ती बढ्दै गएर मानवीय चाप परेकाले बस्ती स्थानान्तरणको विकल्प उपयुक्त हुने निचोड निकालेको थियो। यसबीचमा संसदीय समितिहरुले धेरै पटक स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरेका छन्। चुरेको अतिक्रमण, अवस्था, क्षति, ह्रास लगायतका सबै क्षेत्रको अवलोकन गरेर तयार भएका ती प्रतिवेदनले चुरेमाथि भइरहेको अतिक्रमण रोक्न र नरोकिए चुरेभन्दा दक्षिणको बस्ती जोखिममा पर्ने चेतावनी दिएका छन्।

अध्ययन प्रतिवेदनले भनेका छन्–‘चुरे यस्तो जोखिमपूर्ण क्षेत्र हो, जहाँ कुनै डाँडामा अलिकति खोस्रिने हो भने त्यसले दशकौंसम्म त्यहाँको जमीन अस्थीर बनाउँछ, जसको प्रत्यक्ष असर मानव जीवनशैलीमा पर्छ।’ देशभरकै चुरेमा अतिक्रमण बढ्दो छ। नेपालको दक्षिणी भेगमा पूर्वदेखि पश्चिमसम्मै फैलिएको कमजोर र पत्रे चट्टानले बनेको भूभागमाथिको अतिक्रमणले मानवीय जीवनशैलीलाई नै प्रभावित गरिरहेको छ। मानवीय अतिक्रमणका कारण भएको विनासले मानवीय जीवनशैली नै प्रभावित गरेको भूगोलविद् डा. भोजराज कडेरिया बताउँछन्।

‘चुरे एकदमै कमजोर पहाड हो, संवेदनशील क्षेत्रलाई चलाएपछि यसले विनास निम्त्याउँछ नै, यहाँ भएको त्यही हो, उनी भन्छन् ‘टवलको ज्योतिनगर र लक्ष्मीनगर बस्ती पहाड नै धस्सिएर बसेको हो, त्यसमाथि भूकम्पले अरु कमजोर बनाएको थियो, त्यसमा अतिक्रमण भयो, अतिक्रमण भएको ठाउँमा पानीले खोल्दै गयो र लेदोसहितको पहिरो गयो।’ चुरे क्षेत्रमा मात्रै एक वर्षमा दश हजारभन्दा धेरै पहिरो जान सक्ने स्थल पहिचान भएका छन्। त्यसको कारण अत्याधिक वर्षा हो। चुरे क्षेत्रमा प्रति २४ घण्टामा ४३७ मिलिमिटरसम्म वर्षा हुने गरेको छ।

त्यसका कारण पहाड कमजोर हुन्छ। कमजोर भएको पहाडलाई संरक्षण गर्नुको सट्टा मनपरी गरेपछि जोखिम बढेको छ। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन इकाइ बुटवलका प्रमुख अजय कार्की भन्छन्–‘यो प्राकृतिक रुपमा कच्चा पहाड हो, भूकम्पपछि यो पहाडमा धाँजा फाटेको रहेछ, ती धाँजाहरुमा पानी पसेपछि बग्दै आयो र बस्तीमा पस्यो।’ समितिका अनुसार बस्तीसम्म पहिरो आउने गरी मानव अतिक्रमण भएको छ। ‘बुटवलका ३ र ४ नम्बर वडाको पहाडी भेग उच्च जोखिममा छ, उनी भन्छन्–उच्च जोखिम रहेको क्षेत्रमा भएको अतिक्रमणले जोखिम अरु बढायो र विनास निम्त्याएको हो।’

हुन पनि, स्थानीयले मात्रै हैन, सरकारी तवरबाटै सो क्षेत्रको चुरेमा अतिक्रमण र मनपरी बढेको देखिन्छ। बुटवल उपमहानगरपालिकाले चक्रपथ बनाउने भनेर चुरेको फेदमा डोजर चलायो। सरकारी तवरबाटै भएका यस्ता क्रियाकलापले चुरेबाट हुने जोखिम बढाइरहेको छ।

कसरी जोगाउने चुरे ?
विकासको गतिमा अघि बढिरहेका देशहरुले मरुभूमिलाई हरियालीमा परिणत गरिरहेका छन्। उजाड बनेका डाँडाहरु हरियो बनाउन लागिपरेका छन्। तर, हामी चाहिँ भएको हरियाली समेत संरक्षण गर्न नसकेर मरुभूमिकरणतर्फ उन्मुख भइरहेका छौं। त्यसको उदाहरण हो चुरेमाथिको अतिक्रमण । चौथो पञ्चवर्षीय योजना (वि.सं. २०२७-२०३२)बाट शुरू भएको चुरे संरक्षणको बहस हालसम्म चलिरहेको छ। धेरै नीति र आयोजना आए पनि चुरे संरक्षण हुनुको साटो झन् मासिँदै गएको छ।

राष्ट्रपति चुरे-तराई मधेस संरक्षण कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरी कार्यान्वयनमा छ। यस कार्यक्रममा अर्बौं रकम खर्च भइसक्दा पनि राष्ट्रिय स्तरमा ठोस प्रतिफल देखिएको छैन। चुरे क्षेत्रमै केन्द्रित भएर योजना कार्यान्वयन गर्ने निकाय छैन। समग्र चुरे क्षेत्रको जलस्रोत, भू-उपयोग व्यवस्थापन, सडक तथा पूर्वाधार निर्माण, वन संरक्षणलाई समेट्ने गरी योजना र कार्यान्वयन निकाय गठन गर्नुपर्ने देखिन्छ।

बिर्सन नहुने कुरा के हो भने, ढुंगा, गिट्टी, बालुवा उत्खनन नहुनु मात्रै चुरे-तराईको संरक्षण हो भन्ने मानसिकताबाट माथि उठ्नुपर्छ। प्राविधिक रूपमा उपयुक्त देखिएका स्थानमा नियन्त्रित उत्खननसँगै अन्य कार्यक्रम पनि लागू गरिनुपर्छ। साथै, उत्खननका लागि स्थानीय पालिकाले सीधै क्रसर व्यवसायलाई ठेक्का लगाउनेभन्दा सरकार आफैंले उत्खनन गरेर घाटगद्दी गर्ने र त्यहाँबाट बल्ल ठेक्का लगाउँदा अनियन्त्रित उत्खनन न्यूनीकरण हुनसक्छ। हालसम्म बनेका नीति, रणनीति, योजना, कार्ययोजना, गुरुयोजना र तिनको प्रभावकारिता, उपयोगिता, कार्यान्वयनका बारेमा लेखाजोखा नगरी थप नयाँ कार्ययोजनाको सार्थकता पुष्टि हुँदैन।nechaekhabarbata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार