भिर मौरीको मह सिकार गरेर वार्षिक १० लाख आम्दानी

0
SHARES
1
VIEWS

ताप्लेजुङका भीरमौरी सिकारीले भिर महबाट मनग्य आम्दानी गर्दै आएका छन्। सिकारीले पहाडी क्षेत्रमा भिरमा बसेका भीरमौरीको मह सिकार गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

सिरिजंघा गाउँपापिलका-८ याम्फुदीनका सन्तोष राईले गत जेठ पहिलो साता चार पोला भिरको मह काढे। राईले चार पोला भिर मह काढ्दा दुई सय बोतलभन्दा बढी मह जम्मा गरे। गाउँघरमा प्रतिबोतल दुई हजार रूपैयाँमा खरिदबिक्री हँदै आएको छ।

images
राई एक याममा चार लाख रूपैयाँभन्दा बढी कमाउन सफल भएका छन्। राईका अनुसार वर्षमा दुई याम भीरमौरीको महको सिकार गरिन्छ। वर्षमा करिब पाँचदेखि सात लाख रूपैयाँ भीरमौरीबाट आम्दानी गर्दै आएको राईको भनाइ छ।

images
उनले घर मौरीपालनसमेत गरेका छन्। आनुधिक प्रविधिका ३० घारमा मौरीपालन गरेका उनले वर्षमा घर मौरीबाट चार सय ५० बोतल मह उत्पादन गर्दै आएका छन्। राईका अनुसार गाउँ घरमा घर मौरीबाट करिब ६ लाख रूपैयाँ आम्दानी हुन्छ।

भीरमौरी सिकार गर्नका लागि प्रतिघार दुई हजार रूपैयाँ सामुदायिक वनलाई रोयल्टी बुझाएर मात्र भीरमौरीको सिकार गर्न पाइने राईले बताए।

याम्फुदिन क्षेत्रमा जेठ महिनामा २५ पोला भीरमौरीको मह सिकार भएको सिरिजंघा गाउँपालिका-८ स्थानीय तथा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् याम्फुदीन कार्यालय प्रमुख सूर्यमान राईले जानकारी दिए।

मालिंगाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको पर्‍याङ, गादा (सेप्टी), सुता, छपनी र डालो, मालिंगोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा भीरमौरीको मह सिकार गरिन्छ। पर्‍याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकाल्ने गरिन्छ। स्थानीय भाषामा मह निकाल्नेलाई पर्‍याङ्गे भनिन्छ भने सुताको माध्यमबाट पर्‍याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने पर्‍याङेसम्म पुर्‍याउनेलाई सुतारे भनिन्छ।

पर्‍याङ्गेले भिरबाट निकालेको मह छान्ने, भाडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य काम गर्ने व्यक्तिलाई सहयोगी भनिन्छ। याम्फुदिनका दर्जन बढी भिरमा वर्षौँदेखि भीरमौरी बस्ने गरेको पाइएको छ।

भीरमौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भीरमौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ। धेरै खाँदा मात लाग्ने भीरमौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, रक्तचापलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने बताइन्छ। फेदीमा पुस्तौँदेखि परम्परागत संस्कारका रूपमा भीरमौरीको मह निकालिँदै आइएको स्थानीय मह सिकारी हस्तरामले बताए।

उत्पादित भीरमौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र फुङ्लिङ बजार हो। फुङ्लिङमा सञ्चालित ताप्लेजुङको कोसेली घरका सञ्चालक ललित गुरुङका अनुसार ताप्लेजुङ कोसेली घरबाट वर्षमा दुई सयदेखि तीन सय बोतलसम्म बिक्री हुँदै आएको छ।

गुरुङको कोसेली घरमा प्रायः फक्ताङलुङ-६ लेलेपदेखि भीरमौरीको मह आउने गरेको छ। कोसेली घरमा प्रतिबोतल तीन हजार रूपैयाँदेखि तीन हजार पाँच सय रूपैयाँसम्म खरिद बिक्री हुँदै आएको छ। डिभिजन वन कार्यालयका अनुसार गत २०७९/८० को आवमा पाँच हजार किलो भिर मह संकलन भएको तथ्यांक रहेको छ। सो बराबर मह संकलन हुँदा दुई हजार रूपैयाँ रोयल्टी जम्मा भएको डिभिजन वन कार्यालयले जनाएको छ।

ताप्लेजुङमा उत्पादन भएको मह झापा, धरान, विराटनगर, काठमाडौं, बेलायत, हङकङ, सिंगापुरलगायत ठाउँमा निर्यात हुने गरेको गुरुङले बताए। पछिल्लो समय जलवायु परिवर्तन तथा नेपाली कागज उद्योगमा प्रयोग गरिने रासायनिक पदार्थका कारण ताप्लेजुङमा भीरमौरी मासिँदै गएको फक्ताङलुङ-६ का स्थानीय तथा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद सदस्य केरसिंङ लिम्बूले बताए।

‘पहिले पहिले एउटै भिरमा नौ/दश पोला मैरी हुन्थ्यो’, उनले भने, ‘अहिले विभिन्न कारणले भीरमौरी घट्दै गएको छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ।’ पछिल्लो समयमा सडक तथा पूर्वाधार विकास निर्माण प्रयोग हुने मेसिनले भिर पहरा प्रत्यक्ष तथा अप्रत्यक्ष असर हुने भएकाले समेत भीरमौरी संकटमा पर्दै गएको लिम्बूको भनाइ छ।

परम्परागत रूपमा सिकार गर्दा एक पटकमा धेरै मौरी मरेकाले समेत अझ संकटमा पर्न पुगेको स्थानीयको भनाइ छ। उँधौलीको समयमा कात्तिक-मङ्सिर तथा उँधौलीको समयमा जेठ-असार गरी दुई पटक भीरमौरीको मह सिकार गर्ने गरिँदै आएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार