प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारी निवास बालुवाटार छोड्ने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्री सचिवालयकाअनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उहाँ सिधै निजी निवास खुमलटार जानुहुनेछ ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने कार्यसूची छ । संसद्को दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतका दलहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने यसअघिनै निर्णय गरिसकेका छन् । कांग्रेस एमालेबीच नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।
प्रधानमन्त्री प्रचण्डसँग माओवादीको ३२, रास्वपा २१ र एकीकृत समाजवादी १० गरी जम्मा ६३ मत मात्र रहेको छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ । दैनिक नेपाल