यो वर्ष मात्रै ३४ हजार झापाली युवा छोडे देश -नेपालबाट ८ लाख — रेकर्ड डरलाग्दो बन्दै- स्थानिय तह उदासिन

रोजगारी र शैक्षिक अवसरको खोजीमा गत एक वर्षमा साढे आठ लाख युवाले देश छोडेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारी र अध्ययनका लागि आठ लाख ५५ हजारभन्दा धेरै नेपाली युवाले मुलुक छोडेको तथ्यांकले देखाएको छ। यसभन्दा अघिल्लो वर्ष झन्डै नौ लाख युवाले वैदेशिक रोजगारी र अध्ययनका लागि मुलुक छोडेका थिए। यसले मुलुकमा आर्थिक अवसरहरू सीमित रहेको संकेत गर्छ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष सात लाख ४१ हजार २९७ जना नेपालीले वैदेशिक रोजगारीका लागि अनुमति लिएका (पुन: स्वीकृति समेत) थिए। यो अघिल्लो वर्षका तुलनामा केही थोरै हो। आव २०७९/८० मा वैदेशिक रोजगारीका लागि सात लाख ७१ हजार ३०० भन्दा बढी युवाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए।

यसमा कामका लागि भारत गएका र अवैध तरीकाले वैदेशिक रोजगारीमा गएकाको संख्या भने जोडिएको छैन। संसारका १४९ देश जानका लागि अनुमति लिइएको थियो।

त्यस्तै, गत वर्ष एक लाख १४ हजार हाराहारी युवाले वैदेशिक अध्ययनका लागि अनुमति लिएको देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म एक लाख चार हजार ८९८ युवाले विदेशमा अध्ययनका लागि अनुमति (नो अब्जेक्शन लेटर) लिएका थिए। असारको अन्तिम तथ्यांक उपलब्ध भइसकेको छैन।

वैदेशिक अध्ययनका लागि अनुमति पाउनेको संख्या अघिल्ला महीनाको औसतलाई आधार मान्दा असारसम्म एक लाख १४ हजारभन्दा बढी हुन पुग्छ। यो संख्या अघिल्लो वर्षका तुलनामा केही धेरै हो। आव २०७९/८० मा एक लाख १० हजार २१७ जना विद्यार्थीले वैदशिक अध्ययनका लागि अनुमति लिएका थिए।

जेठसम्म अध्ययनका लागि अनुमति लिएका तीनमध्ये एक जना जापानका लागि छन्। वैदेशिक अध्ययनका लागि अनुमति लिनेमध्ये १५ प्रतिशत क्यानडा र १३ प्रतिशत अस्ट्रेलियाका लागि छन्। त्यसैगरी, १०.७ बेलायत र ८.९ प्रतिशत संयुक्त राज्य अमेरिकाका लागि छन्।

बितेको तीन दशकयता कामका लागि विदेश जाने क्रम बढे पनि पछिल्ला वर्षमा त्यो गति झन् बढेको छ। कोभिड-१९ महामारीका वेला विदेश जाने क्रम घटे पनि त्यसयताका तीन वर्षमा त्यो तीव्र गतिमा बढेको हो।

आव २०७८/७९, २०७९/८० र २०८०/८१ का तीन वर्षमा मात्रै २१ लाख ५० हजार नेपालीले वैदेशिक रोजगारीका लागि अनुमति (पुनः स्वीकृति समेत) लिएका छन्। यसमा वैदेशिक रोजगारीका लागि अनुमति नचाहिने भारतमा गएका तथा अवैध तरीकाले वैदेशिक रोजगारीमा गएकाको संख्या जोडिएको छैन।

नेपालको मुख्य श्रम गन्तव्यमध्ये भारत पनि एक हो। नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० का अनुसार नेपालमा भित्रिने वैदेशिक रेमिटेन्सको १५ प्रतिशत हिस्सा भारतबाट आउँछ। यसले भारतमा कामका लागि जाने नेपालीको संख्या पनि उल्लेख्य रहेको आकलन छ।

गत वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये १०.८ प्रतिशत महिला छन् भने बाँकी पुरुष छन्। गत वर्ष नेपालीहरूका प्रमुख श्रम गन्तव्यका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार र मलेशिया देखिएका छन्। वैदेशिक रोजगारीमा गएकामध्ये यी चार मुलुकमा मात्रै ७७ प्रतिशत छन्।

गत वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा धेरै धनुषाका छन्। धनुषाका ३९ हजार १०७ जना कामका लागि विदेश गएका थिए। त्यसैगरी, झापाका ३४ हजार ३६२, मोरङका ३१ हजार ९७, सिरहाका ३० हजार ९३० र महोत्तरीका २७ हजार ३५० जना कामका लागि विदेश गए।
himalkhabarbata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array