सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले त्यसबाहेक तीनवटा प्रदेशका प्रमुखलाई फिर्ता बोलाउँदै नयाँ सिफारिस गरेको छ भने २१ सचिवको पनि सरुवा गरेको छ ।
सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई नै निरन्तरता दिएको छ । औपचारिक रूपमा भने राजदूत नियुक्तिका लागि गरेको सिफारिस सार्वजनिक गरिएको छैन ।
मन्त्रिपरिषद्ले माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका सबै राजदूत पनि फिर्ता बोलाएको छ । चीनका लागि राजदूत विष्णुपुकार श्रेष्ठ र श्रीलंकाका लागि राजदूत वासुदेव मिश्र माओवादी कोटाबाट गएका थिए । रुसका लागि राजदूत मिलन तुलाधर र अस्ट्रेलियाका लागि राजदूत कैलाश पोखरेललाई पनि सरकारले फिर्ता बोलाएको छ ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा अमेरिकाका लागि लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, बेलायतका लागि चन्द्र घिमिरे र दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फेलगायतको नाम मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा भारतका लागि राजदूत शर्मालाई निरन्तरता दिने निर्णय भएको छ । यसअघि अघिल्लो सरकारले रेग्मीलाई भारतका लागि, घिमिरेलाई अमेरिकाका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले भारतका लागि राजदूत शर्माबाहेक अन्य राजदूतहरू फिर्ता गर्ने अघिल्लो सरकारको निर्णयलाई सदर गरेको हो ।
चीनका लागि राजदूत प्रस्तावित ओली राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष हुन् । अमेरिकाका लागि सिफारिस रेग्मी पूर्वमुख्यसचिव हुन् भने बेलायतका लागि सिफारिस घिमिरे पूर्वसचिव हुन् । दक्षिण कोरियाका लागि सिफारिस तुम्बाहाम्फे पूर्वमन्त्री एवं पूर्वउपसभामुख हुन् ।
स्रोतका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावअनुसार जर्मनीका लागि शैल रूपाखेती, दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ, इजरायलका लागि धनप्रसाद पण्डित, साउदी अरबका लागि नरेशविक्रम ढकाल, अस्ट्रेलियाका लागि कान्ता रिजाल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल र स्पेनका लागि सनिल नेपालको नाम सिफारिस भएको छ ।
सरकारले मलेसियाका लागि नेत्र तिमिल्सिना, श्रीलंकामा रामकृष्ण भट्टराईलाई राजदूतमा सिफारिस गरेको छ । सिफारिस भएकामध्ये ढकाल कतारका लागि राजदूत र रिजाल इजरायलका लागि राजदूतबाट फिर्ता भएका हुन् । स्पेनका लागि सिफारिस भएका नेपाल यसअघि पोर्चुगलमा राजदूत सिफारिस भएका थिए । त्यहाँ राजदूतावास स्थापना गर्ने सरकारले निर्णय गरे पनि स्थापना भइसकेको छैन । उनी कार्यक्षेत्र नजाँदै सरकारले नियुक्ति खारेज गरेको थियो । पोर्चुगलका लागि सिफारिस भएका पौडेल र पाकिस्तानका लागि सिफारिस भएकी धिताल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । हाल कन्सुलर सेवा विभागका महानिर्देशक रहेका पौडेल असोजमा अवकाशमा जाँदै थिए ।
बिहीबार फिर्ता हुने तयारीमा थिए शर्मा
दिल्लीबाट स्वदेश फिर्ता हुन राजदूत शर्माले दुईपटक टिकट काटेका थिए । उनले बिहीबार स्वदेश फर्किने तयारीका लागि आफ्ना सरसामान तयारी हालतमा राखेका थिए । ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको प्रस्तावमा राजदूत शर्माको म्याद १५ दिनका लागि म्याद थपिएको थियो । थपिएको म्याद मंगलबार समाप्त हुँदै थियो ।
प्रधानमन्त्रीनिकटस्थ स्रोतका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार डा. शंकरदास वैरागीलाई भारतका लागि राजदूत बनाउने पक्कापक्कीजस्तै थियो । यो जानकारी पाएका शर्माले आन्तरिक रूपमा बिदाइ भेट थालेका थिए । भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले सोमबार भेटेका थिए । चौथाइवालेले शर्मा कार्यकाल पूरा गरेर छिट्टै स्वदेश फर्किन लागेको ट्विटसमेत गरेका थिए । ‘छिट्टै स्वदेश फर्किन लागेका राजदूत शर्मालाई शुभकामना,’ चौथाइवालेले सोमबार राजदूत शर्मासँग खिचिएको तस्बिरसमेत राखेर सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘दिल्लीमा उहाँको कार्यकालमा नेपाल–भारत सम्बन्ध सुदृढ हुँदै गएको रेखांकित हुनेछ ।’
शर्मालाई निरन्तरता दिने निर्णयपछि उनी मंगलबारदेखि नै नियमित काममा फर्कनेछन् ।
प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस र नेपाल समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका ११ राजदूतलाई २४ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको थियो । शर्माबाहेकका राजदूतहरू फिर्ता भइसकेका छन् ।
२१ सचिवको सरुवा
प्रधानमन्त्री केपी ओलीले आइतबार मात्र सबै मन्त्रालयका सचिवहरूसँग दिनभरि ब्रिफिङ लिएका थिए । भोलिपल्टै ठूलो संख्यामा सरुवा गरिएको हो । सोमबारको मन्त्रिपरिषद्को बैठकले २१ सचिवको सरुवा गरेको छ ।
अर्थसचिव मधु मरासिनीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ । त्यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याएर सामान्य प्रशासनसचिव मुकुन्द निरौलालाई श्रम मन्त्रालय सरुवा गरिएको छ । श्रमसचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा गरिएको छ ।
त्यसैगरी, उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ भने सञ्चारसचिव रामकृष्ण सुवेदीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ ।
अख्तियार सचिव रामेश्वर दंगाललाई रक्षामा सरुवा गरेर रक्षासचिव किरणराज शर्मालाई प्राकृतिक स्रोत तथा वित्त आयोग पठाइएको छ । वित्त आयोगका सचिव मधुसुदन बुर्लाकोटीलाई वाणिज्य मन्त्रालय पठाइएको छ भने वाणिज्यसचिव दिनेशकुमार घिमिरेलाई अर्थ मन्त्रालयमा राजस्वसचिव बनाएर ल्याइएको छ । खानेपानी मन्त्रालयको सचिवमा नेपाल ट्रस्टकी सचिव प्रमिलादेवी बज्राचार्यलाई ल्याइएको छ ।
राष्ट्रपति कार्यालयका डिल्लीराम शर्मालाई लोकसेवा आयोग पठाएर लोकसेवाका सचिव राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री कार्यालय ल्याइएको छ । जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेर त्यहाँ खानेपानीसचिव सुरेश आचार्यलाई पठाइएको छ ।
भौतिकसचिव गोपाल सिग्देललाई जल तथा ऊर्जा आयोगमा लगिएको छ भने सतर्कता केन्द्रका सचिव रामआधार साहलाई नेपाल ट्रस्टको कार्यालय पुर्याइएको छ । प्रधानमन्त्री कार्यालयका नारायणमणि दुवाडीलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई ल्याएर पोखरेलको ठाउँमा दुवाडीको सरुवा गरिएको छ । nayapatriakabata savar