सीमामा उच्च सुरक्षा सतर्कता अपनाउन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सीमामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
मंगलबार सातै प्रदेश र उपत्यकास्थित बाहिनी मुख्यालयका बाहिनीपति, शिक्षालयका समादेशक र सबै जिल्लाका गणपति तथा गुल्मपतिहरूलाई भर्चुअल माध्यमबाट सीमा सुरक्षा तथा विपद् उद्धारसँग सम्बन्धित समसामायिक विषयमा निर्देशन दिँदै उनले सीमानाकाबाट आवतजावत गर्ने व्यक्तिहरूको चेकजाँच बढाउन भनेका हुन्।
गैरकानुनी रूपमा हुन सक्ने प्रवेशमा रोक तथा सीमा इलाकामा हुने सक्ने अवैध गतिविधिको सूक्ष्म रूपमा निगरानी गरी उच्च सुरक्षा सतर्कता अपनाउन सीमा क्षेत्रसँग जोडिएका बाहिनी मुख्यालय तथा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरूलाई महानिरीक्षक अर्यालले निर्देशन दिएका सशस्त्र प्रहरी बलले जनाएको छ।
बंगलादेशमा भएको आन्दोलनपछि भारत हुँदै त्यहाँका नागरिक अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने भएकाले सीमामा सर्तकता बढाउनुपर्ने सोमबारको केन्द्रीय सुरक्षा समितिको बैठकले निष्कर्ष निकालेको थियो। सोही आधारमा सशस्त्र प्रहरीले सोमबारदेखि नै सीमा क्षेत्रमा चेकजाँच बढाइसकेको छ।
त्यस्तै, मनसुनको समयमा हुन सक्ने विपद् जोखिमलगायतका अन्य घटनाहरूको न्यूनीकरण तथा उद्धार कार्यमा सक्रिय रूपमा परिचालन हुनसमेत महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाइ प्रमुखहरूलाई निर्देशन दिएका छन्।nayapatikabata