एलिशा बुढाथोकी सिटौलाले आफ्ना श्रीमान प्रमोद सिटौलालाई बिर्तामोडका तीन जना व्यक्तिले बेपत्ता पारेको आरोप लगाउदै सकुसल घर फकाउन आग्रह गरेकी छिन् ।
प्रभु बैंक बिर्तामोड शाखाका सुपरभाइजर पदमा कार्यरत आफ्ना श्रीमानलाई टिकाराम नेपाल ‘नेती’, स्वागत नेपाल र तुलसी उप्रेतीले बेपत्ता बनाएको आरोप लगाउँदै प्रमोदलाई सकुसल घर फर्काउन श्रीमती एलिसाको आग्रह छ ।
बिर्तामोडमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सिटौंला परिवारले बैंकको कारोवारलाई लिएर मान्छे नै बेपत्ता बनाउने कार्य भएको भन्दै सरकारबाला सबैलाई प्रमोदको खोजी गरिदिन परिवारले आग्रह छ ।
गत साउन १६ गते बैंकमा भएको कारोवारको विषयलाई लिएर नेती सहित तीन जनाले प्रमोदलाई घरबाट नै अपहरण शैलीमा बिर्तामोड लिएर आएको सिटौला परिवारको दावी छ ।
१६ गते विहान प्रमोदलाई नेतीले ३४९७ नम्वरको खैरो रंगको कारमा लिएर गएको र सोही दिन १० बजेर १७ मिनेटमा वुहारी एलिसाको नम्वरमा फोन गर्दै नेतीले धम्कीपूर्ण शैलीमा उल्टै प्रमोद घर आयो भन्दै फोन गरेको आमा पवित्राको भनाई छ ।
प्रमोदलाई बेपत्ता बनाएको विषयमा जिल्ला प्रहरी कार्यालय झापालाई पटक – पटक आग्रह गर्दा समेत प्रहरीले जाहेरी लिन नमानेको प्रमोदका मामा कृष्ण प्रसाईले बताए । उनले भने – यदि प्रमोदले गल्ती गरेको भए कारवाही हुनु पर्छ तर मानिसलाई विना कारण वेपत्ता पार्नु त भएन नि ।
वेपत्ता पारिएका भान्जाको खोजी गरिदिन प्रहरीसंग आग्रह गर्दा प्रहरीले निवेदन नै लिन नमान्नु खेद्जनक भएको उनको आरोप छ ।
पत्रकार सम्मेलनमा बोल्दै सिटौला समाजका अध्यक्ष प्रेमप्रकाश सिटौलाले कानूनी राज्यमा दिन दहाडै ब्यक्ति वेपत्ता पार्नु र हाम्रो मानिस वेपत्ता बनाइयो भन्दै प्रहरीकहाँ निवेदन लिएर जाँदा निवेदन नै दर्ता नगर्नु आपत्ति जनक विषय भएको बताए ।
पत्रकार समेत रहेका नेतीले श्रीमती मञ्जु कुमारी नेपालको नाममा प्रभु बैंक बिर्तामोड शाखामा एक करोड १७ लाख रुपैयाँ डिपोजिट गरेको र सो रकम हिनामिना भएको दावी गर्दै आएका छन् । तर, प्रभु बैंकले मञ्जुकुमारी नेपालले दावी गरिरहेको रकम मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाउँदै आएको छ ।
बैंकले विज्ञप्ति जारी गर्दै उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनधिकृत एवं नक्कली रहेको धारणा सार्वजनिक गरेको छ ।