सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ नाम्चेको थामे खोलामा आएको बाढीले कटान जारी राखेको छ भने १३५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

थामे खोलामा आएको बाढीबाट थामे गाउँका ९३ जना विस्थापित भएका छन्। उनीहरू सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरेले बताए।

विद्यालयको छात्रवासमा बस्ने ३२ विद्यार्थी, आठ शिक्षक र दुई कर्मचारीलाई दुम्जेथामेमा रहेको सामुदायिक भवनमा सारिएको छ। बाढीमा हराएका एक जनाको खोजी जारी रहेको डीएसपी घिमिरेले बताए।

शुक्रबार आएको बाढीले थामेका सात घर, पाँच होटल, एक विद्यालय र एक क्लिनिक बगाएको छ। सात घर जोखिममा छन्। पर्यटकीय क्षेत्र थामे खण्डहर बनेको छ।

बाढी दिउँसो आएकाले मानवीय क्षतिबाट जोगिएको छ। बाढीको कटानका कारण जोखिममा परेको माप्य दुधकोसी गाउँपालिका-६ बोदेबहर बलेखाका पाँच परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

त्यस्तै, बाढीले तटीय क्षेत्रमा कटान जारी राखेको छ। माप्यदुधकोसी गाउँपालिका-१ अँधेरीस्थित खुम्बुक्षेत्र जोड्ने दूधकोशी खोलाको पक्की पुलको एकतर्फको भाग भासिएको छ। सोताङ गाउँपालिका-१ दिप्लीघाटको बेलिब्रिजको स्टोर गरेर राखिएको सामान बगाएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका-३ जोरसल्लेमा कटानका कारण फाक्दिनदेखि नाम्चे जाने पैदल मार्गको दुई स्थानमा बगाएको डिएसपी घिमिरेले बताए।

बाढीको कारण यकीन हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागले हिमताल फुटेर वा हिमपहिरोका कारण बाढी आएको हुनसक्ने अनुमान गरेको छ।
himalkhabrbata

Leave a Reply

Your email address will not be published. Required fields are marked *