मेची बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सञ्चारमाध्यममार्फत सहकारी आन्दोलनमा योगदान गरेको जनाउँदै मेची सहकारीले संस्थाको २८ औँ वार्षिक उत्सवका अवसरमा पत्रकार गोपाल काफ्ले र सुदीप अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हाे ।
झापाको दमकस्थित कार्यालयमा सोमबार वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका कार्यकारी प्रमुख खाेमप्रसाद बगालेले पत्रकार काफ्ले र अधिकारीलाई पुरस्कृत गर्न लागिएको बताएका हुन् ।
प्रतिवेदन अनुसार साझा मञ्च अनलाइनका प्रधान सम्पादक समेत रहेका काफ्लेलाई गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।
संस्थाका पूर्व अध्यक्ष गणेशप्रसाद बस्नेतको सम्झनामा मेची सहकारी संस्थाले पुरस्कार स्थापना गरी हरेक वार्षिक साधारण सभाका अवसरमा पुरस्कृत गर्दै आएको छ ।
त्यसैगरी हिमशिखर टेलिभिजनका समाचार प्रमुख अधिकारीलाई मेची सहकारी पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको छ । युवा पुस्ताका मेहनती पत्रकार अधिकारी टेलिभिजन पत्रकारितामा निरन्तर सक्रिय छन् ।
भदौ १२ गते आयोजना गरिएको संस्थाको साधारण सभाकाे अवसरमा दुवै पत्रकारलाई पुरस्कृत गरिने कार्यकारी प्रमुख बगालेले जानकारी दिए ।
देशभरिका सहकारी अभियन्ता मध्येबाट यसपटक एसियाली ऋण महासङ्घका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई गणेशप्रसाद बस्नेत उत्कृष्ट सहकारी अभियन्ता पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।