स्वदेशी प्राविधिकलाई उपेक्षा गरेर भारतीय रोज्दै पूर्वका उद्योगी
नेपालीलाई रोजगारी दिँदा महँगो पर्ने र उद्योगले खोजेजस्तो प्राविधिक ज्ञान नभएको उद्योगीको तर्क, दक्षता हासिल गरेका सीपयुक्त युवा भने वैदेशिक रोजगारीमा जानेक्रम बढ्दो
औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति नेपालमै उपलब्ध भए पनि पूर्वका उद्योगीले ठुलो संख्यामा भारतीय प्राविधिकलाई रोजगारी दिएका छन् ।
तुलनात्मक रूपमा महँगो सेवा–सुविधा दिनुपर्ने र लामो समयसम्म काम नगर्ने प्रवृत्तिका कारण नेपाली प्राविधिकभन्दा भारतीयलाई नै रोज्ने गरेको उद्योगीको तर्क छ । नेपालीलाई उपेक्षा गरेकै कारण पूर्वको प्रमुख औद्योगिक करिडोर सुनसरी–मोरङका उद्योगहरूमा करिब शतप्रतिशत भारतीय प्राविधिक कार्यरत छन् ।
प्राविधिक जनशक्ति उत्पादन गरिरहेको मनमोहन प्राविधिक विश्वविद्यालय, सुनसरीका उपकुलपति डा. सुवासश्री पोखरेलले स्वदेशमा उत्पादन भएका प्राविधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारका लागि दक्ष भएको बताए । उनले विभिन्न बहाना नबनाई उद्योगीले भारतीयभन्दा नेपाली प्राविधिकलाई रोजगारमा प्राथमिकता दिनुपर्ने बताए । ‘स्वदेशमै रोजगार पाए अझै धेरै गुणस्तरीय जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई उत्प्रेरणा हुन्छ । र, नेपाली जनशक्ति पनि स्वदेशमै आत्मनिर्भर बन्न सक्ने अवस्था रहन्छ,’ उनले भने ।
कोशी प्रदेशले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकबाट उत्पादन भएका प्राविधिकलाई रोजगारी दिलाउन विभाग नै गठन गरेर उद्योगीसँग छलफल भइरहे पनि सकारात्मक नतिजा आउन नसकेको प्राचार्य सुदीप अधिकारीले गुनासो गरे । ‘यहाँका उद्योगमा नेपाली प्राविधिकलाई रोजगारीमा लगाउन कठिन भइरहेको छ,’ उनले भने, ‘स्वदेशका प्राविधिक भारतीयभन्दा कम दक्ष र महँगा हुन्छन् भन्ने पुरानो सोचले उद्योगहरूले विश्वास गर्न चाहिरहेका छैनन् ।’
उद्योगमा भारतीय प्राविधिक पहिलो रोजाइ बनिरहँदा स्वदेशमा उत्पादन भएका दक्ष प्राविधिक भने भरपर्दो अवसरको खोजीमा वैदेशिक रोजगारमा जान बाध्य भइरहेको उनले बताए । मनमोहन पोलिटेक्निकबाट बर्सेनि करिब तीन सय दक्ष प्राविधिक उत्पादन भए पनि श्रम बजारले लिन नसकेको प्राचार्य अधिकारीले जानकारी दिए ।
करिडोरका केही उद्योगमा मात्र न्यून संख्यामा नेपाली प्राविधिकले रोजगारी पाइरहेका छन् । जसकारण, ठुलो संख्याका युवा भने वैदेशिक रोजगारीमा जाने गरेको पोलिटेक्निकको तथ्यांक छ । ‘कलेजका तर्फबाट पहल गरेपछि केही उद्योगले रोजगार दिएका छन् । अझै धेरै उद्योगहरूचाहिँ स्वदेशी प्राविधिक राख्न अझै हितकिचाइरहेका छन्,’ अधिकारीले भने ।
उद्योग संगठन मोरडका अध्यक्ष राकेश सुरानाले आर्थिक मन्दीका कारण नेपाली जनशक्तिलाई आपेक्षाअनुसार पारिश्रमिक दिन उद्योगहरू असमर्थ रहेको बताए । उनले प्रदेश सरकारबाट नेपालीलाई रोजगारी दिने विषयमा उद्योगलाई विभिन्न सहयोग गर्नुपर्ने बताए । ‘नेपालमा उत्पादन भएका जनशक्तिहरू स्वदेशमा भन्दा विदेशको रोजगारतर्फ धेरै आकर्षित हुने गरेकाले पनि भारतबाट प्राविधिक जनशक्ति ल्याउन बाध्य भइरहेको स्थिति छ,’ सुरानाले भने ।
त्यस्तै, उद्योगको माग सुहाउँदो नेपाली जनशक्ति नहुँदा पनि रोजगारी दिन समस्या भइरहेको उनको तर्क छ । ‘स्वदेशी प्राविधिकलाई रोजगार दिने सबैको चाहना हो, तर जनशक्ति पनि उद्योग सुहाउँदो हुनुपर्छ,’ उनले भने ।
सुनसरी–मोरङ करिडोरस्थित अरिहन्त फाइबर उद्योगका व्यवस्थापक नारायणप्रसाद लामिछाने स्वदेशी शिक्षालयमा उत्पादन भएका जनशक्तिले निरन्तर लामो समयसम्म काम नगरिदिँदा उद्योगहरू रोजगारमा लगानी गर्न हिचकिचाउने गरेको बताए । ‘काम सिकाएर निपुण बनाएका जनशक्तिहरू बिचैमा रोजगारी छाडेर हिँडिदिन्छन्, जसकारण हाम्रो लगानी खेर जाने गर्छ । यसैले पनि नेपालीलाई काम दिन गाह्रो हुने गरेको छ,’ लामिछानेले भने ।
त्यस्तै, रिलायन्स इन्डस्ट्रिजका व्यवस्थापक आशिष काफ्लेले विश्वविद्यालयको उत्पादन दक्ष हुने र रोजगारीका लागि प्राथमिकतामै राखिए पनि लामो समय काम नगर्ने समस्या रहेको बताए । ‘उद्योगको चाहनाअनुसार लामो अवधि काम गर्न सके मात्र स्वदेशका जनशक्तिमा भर पर्न सकिन्छ । यस्तो कुरामा विश्वविद्यालय र सरकारले पनि चासो दिनुपर्छ,’ उनले भने ।nayapatrikabata savar
Discussion about this post