अरू शरणार्थी जस्तै हामीले पनि तेस्रो मुलुक जान पाउनुपर्छ।”

0
SHARES
11
VIEWS

बर्माबाट लखेटिएर काठमाडौं पुगेका रोहिंग्या शरणार्थी काम गर्न नपाउँदा दु:खजिलो गरेर दैनिकी गुजारिरहेका छन् भने तेस्रो मुलुक जान पाउनुपर्ने माग गरिरहेका छन्।

नूर उज जहाँ काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ६५ वर्षीया आमा आजु मेहरालीको स्याहारमा तल्लीन छिन्। आजुको भर्खरै शल्यक्रिया गरिएको छ। अस्पतालकै शय्यामा आराम गरिरहेकी छन्।

आजुलाई नेपाली भाषा बोल्न आउँदैन। आमालाई के भएको हो भन्ने नूर पनि नेपालीमा राम्रोसँग बताउन सक्दिनन्। तैपनि अड्किंदै अड्किंदै आमालाई ढाडको समस्या भएको सुनाइन्। एक्स-रे देखाउँदै उनी भन्छिन्, “ढाडमा स्टीलका १८ वटा टाँका हालिएका छन्।”

आजुलाई हिंड्न-बस्न सजिलो होस् भनेर चिकित्सकले एउटा बेल्ट पनि लगाउनु भनेका छन्। तर बेल्ट किन्न साह्रै सकस भएको नूर दुखेसो गर्छिन्। चार हजार ८०० रुपैयाँ पर्ने बेल्ट जसोतसो किनेको बताउँदै उनी भन्छिन्, “यूएनएचसीआरले ठूल्ठूलो बिमारीको उपचारको पैसा तिरिदिन्छ। आमाको यो उपचारको पनि पैसा तिरिदिएको छ, तर औषधि र सामान किनेको पैसा दिंदैन।”

शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (यूएनएचसीआर)को कार्यालयले उनीहरूलाई उपचार सुविधा उपलब्ध गराउँदै आएको छ। यसका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताललाई केन्द्र तोकेको छ। अन्य अस्पतालमा उपचार गराउँदा यूएनएचसीआरले खर्च बेहोर्दैन।

नूरले गत महीना आमालाई उपचारका लागि नजीकैको निजी अस्पतालमा लगेकी थिइन्। त्यति वेला एक दिनकै २५ हजार रुपैयाँ लागेको उनी सुनाउँछिन्। त्यत्रो पैसा तिर्न नसक्ने भएपछि उनले चाबहिलबाट आमालाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइन्। गाडी भाडा जोगाउन दिनदिनै हिंडेर आउने गरेको बताउँदै उनी भन्छिन्, “चाबहिलबाट अस्पताल पुग्न एक घन्टा लाग्यो।”

बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेको बर्माबाट मुस्लिम धर्मालम्बी रोहिंग्यालाई एक दशकअघिबाट लखेट्न थालिएको थियो। त्यसको एउटै कारण थियो, फरक धर्मको हुनु। रोहिंग्यालाई संसारकै सबैभन्दा पीडित समुदाय पनि भन्ने गरिएको छ।

बर्माबाट विस्थापित भएपछि ठूलो संख्यामा रोहिंग्याले बाङ्लादेशमा शरण लिएका छन्। यूएनएचसीआर र बाङ्लादेश सरकारले संयुक्त रूपमा गरेको अभिलेखीकरण अनुसार बाङ्लादेशमा नौ लाख ७१ हजार ९०४ जना शरणार्थी छन्।

बाङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविर। तस्वीर स्रोत : फुड सेक्युरिटी क्लस्टर
२०६९ सालदेखि बाङ्लादेशबाटै रोहिंग्या नेपाल आउन थालेका हुन्। पटक पटक गरेर नेपाल आएर बसेका रोहिंग्याको संख्या ४५५ रहेको छ। उनीहरूलाई यूएनएचसीआरले शरणार्थी परिचयपत्र दिएको छ, तर काम गर्ने अनुमति दिएको छैन। यससँगै तेस्रो मुलुक पनि जान पाउँदैनन्।

जसले गर्दा उनीहरू कष्टपूर्ण जीवन बाँचिरहेका छन्। काठमाडौंका विभिन्न स्थानमा अत्यन्त जोखिमपूर्ण अवस्थामा बसिरहेका छन्। आफ्ना समस्याको कतैबाट पनि समाधान नभएको उनीहरूको गुनासो छ।

नूर पनि कपनको राम मन्दिरपछाडि एउटा टिनको छाप्रोमा बस्छिन्। उनको घरभित्र छिर्ने बित्तिकै ढोकाको छेउमा ड्रम र चार-पाँच वटा ठूल्ठूला भाडा राखिएका छन्, वर्षातको पानी थाप्न। टिनको छानोबाट चुहिएको पानी संकलन गर्छन् र त्यसैलाई फिल्टर गरेर पिउने गरेका छन्।

पानी फिल्टर गर्दा पनि सफा नहुने गरेको नूरका पति महमूद अय्यास सुनाउँछन्। “टिनबाट चुहिएको पानी रातो हुन्छ,” महमूद बाल्टिनमा थापेको पानी देखाउँदै भन्छन्, “जो मान्छे हाम्रो समस्या बुझ्न आउँछन्, उनीहरू यो पानी खान सक्दैनन्, तर हामी खाइरहेका छौं।”

नूरको जस्तै वरिपरि टिनका थुप्रै छाप्रा छन्। यी छाप्रामा १८२ जना रोहिंग्या बस्छन्। उनीहरू बस्दै आएको यो जग्गा भाडामा लिएका हुन्। वर्षको १४ लाख रुपैयाँ भाडा तिर्ने गरेका छन्।

उनीहरूले पछिल्लो पटक तिरेको भाडाको म्याद सकिंदै छ। अब दुई महीना मात्रै बाँकी रहेको उनीहरू बताउँछन्। त्यसपछि भाडा तिर्ने पैसा पनि छैन। जग्गाधनीले पनि ‘अब निस्केर जाओ’ भनिरहेको उनीहरू सुनाउँछन्।

नूर र महमूदका ६ जना बालबच्चा छन्, ६ देखि २० वर्ष उमेरका। दुई जनाको बिहे भइसकेको छ भने चार बालबालिका नजीकैको सामुदायिक विद्यालयमा पढिरहेका छन्।

यूएनएचसीआरले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पढाइ शुल्क तिर्न एक हजार २०० रुपैयाँ दिन्छ। त्यो पैसा बालबच्चाको पढाइका लागि अपुग भएको उनीहरू दुखेसो गर्छन्। “त्यो पैसाले स्कूलको शुल्क तिर्न मात्र पुग्छ, बालबच्चाको लुगा, किताब र कापी समेत वर्षैभरि किन्न पुग्दैन,” महमूद भन्छन्।

त्यस्तै, कक्षा १० उत्तीर्ण किशोरकिशोरीलाई त झन् समस्या छ। थप पढ्न आर्थिक सहायता उपलब्ध हुँदैन र कमाउने बाटो पनि छैन। उनीहरूको पढाइ त रोकिएको छ नै, कामकाज गर्न नपाउँदा हातमुख जोड्न पनि कठिनाइ छ।

यो समस्या काठमाडौंमा बसिरहेका सबै रोहिंग्याको पनि हो, किनकि उनीहरूले काम गर्नै पाएका छैनन्। महमूद घर बनाउने ज्यामीको काम गर्थे। तर पछिल्लो एक वर्षदेखि कुनै काम नपाएको सुनाउँछन्। “ठेकेदारहरूले काममा लगाउँदा कुनै लिखित करार गर्न मान्दैनन्,” उनी भन्छन्, “हामी रोहिंग्या हौं भन्ने थाहा पाएपछि ज्याला पनि दिंदैनन्।”

महमूद जस्तै अन्य रोहिंग्याको पनि आम्दानीको कुनै स्रोत छैन। जसले गर्दा सबैलाई खानलाउन नै सकस भएको उनी बताउँछन्।

पैसा नहुँदा उनीहरूका बालबालिका स्कूल जान पाएका छैनन्। धेरैजसोले पढाइ छाडेका छन्। अबु आलमका छोराले पनि स्कूल छोडेका थिए। तर अबुले फेरि स्कूल पठाए। उनका १९ वर्षीय छोरा अहिले कक्षा ६ मा पढिरहेका छन्। “हामी २०६३ सालमा आयौं। त्यसपछि कोभिड-१९ महामारी, लकडाउन, अनेक कारणले गर्दा छोराले पढ्न पाएन,” अबु भन्छन्, “अहिले विद्यालय जान त थालेको छ, तर बीचमा स्कूल छुटेकाले उसको पढाइ राम्रो छैन।”

शिक्षकहरूले छोरालाई ट्यूशन पढाउनु भनेका छन्। तर पैसा नहुँदा पढाउन नसकेको उनी दुखेसो गर्छन्। “ट्यूशनको पैसा कहाँबाट ल्याउने?” उनी आफैंलाई सोध्छन्।

अर्कातिर, उमेर धेरै भएकाले विद्यालय जान पनि अप्ठ्यारो मान्ने गरेको उनी सुनाउँछन्। कक्षा ६ मा ससाना विद्यार्थी हुने गरेकाले १९ वर्षीय छोरालाई गाह्रो भइरहेको बताउँछन्। यसले गर्दा पनि पढाइमा झन् पछि परेको उनको भनाइ छ। यस्तै समस्या अरूको पनि छ।

रोहिंग्यालाई सबैभन्दा चिन्ता बालबच्चाको भविष्यको नै छ। नेपाल आउँदा साना  रहेका बच्चाहरू अहिले ठूला भइसकेका छन्। उनीहरू न नेपालमा पढ्न सक्छन् न त काम गर्न। विदेश जानै पनि पाउँदैनन्।

त्यस्तै, बर्मा फर्किने अवस्था पनि छैन। त्यसैले तेस्रो मुलुक जान चाहन्छन्। यसका लागि बारम्बार आन्दोलन पनि गरेका छन्, तर कतैबाट सुनुवाइ नभएको उनीहरूको गुनासो छ। “हाम्रो जिन्दगी यत्तिकै खेर गइरहेको छ। बालबच्चाको पनि भविष्य राम्रो होला भन्ने छैन,” महमूद भन्छन्, “अरू शरणार्थी जस्तै हामीले पनि तेस्रो मुलुक जान पाउनुपर्छ।”
himalkhabarbata savar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार